लघुकथा : एैंचोपैंचो
लघुकथा छापिएछ। पाँच दिन पहिले पठाएको थिएँ, आज छापिएर आएछ। खुशी लाग्यो।
लघुकथामा एउटा कमेन्ट देख्न सकिन्छ, त्यो मेरो हो। त्यसमा सम्पादक/अड्मिनलाई सम्वोधन गरेर लेखिएको छ-‘धन्यवाद।’
नौवटा लाइकका चिह्न छन् : यो राम्रो हो। यति अगाडि आएका थिएनन्।
पोर्टलमा लाइकसाइक गर्न रचना पढिरहनु पर्दैन भन्ने थाहा नभएर हो कि, नत्र मित्रहरूले किन यति विध्न लोभ गरेका!
आफू त साथीहरूको पेजमा जति देखिन्छ, सबैलाई लाइक ठोकिन्छ। लाइक ठोकजति सबै पढिन्छ, पढिदैन: त्यो बेग्लै कुरा!
लाइक बटम थिच्नु नै थियो। थिचेपछि थाहा भयो-सबै साथीहरूकै रहेछ।
तीनजनाले ‘लाइक’, दुईजनाले ‘लभ’, एकजनाले ‘केयर’ र तीनजनाले ‘वाहु’ थिचेका : पढेरै थिचेको अनुमान गर्न मिल्ने रहेछ।
जसले जे थिचेको छ, त्यसलाई त्यही। कसले के थिच्यो, यो भने ख्याल राख्नु पर्छ।
साथीहरू हरहिसाब/एैचोंपैंचोमा पक्का छन्, एैँचोपैंचो सही किसिमले चलेन भने घोचपेच चल्छ, चित्त पनि दुखाउँछन्।
त्यसैले कसले कुन चिह्न थिचेको छ भन्ने कुरा डायरीमा टिपेर राख्नु पर्छ।
नत्र त पछि गोलमाल भै हाल्छ नि!
















Facebook Comment