गजलकार शेखर बस्नेतका तीन गजल

शेखर बस्नेत
२२ कार्तिक २०८२ ८:०७
28
Shares

१-धनीका बस्तीमा गरिब सरकार पठाइ देउ
र सम्पत्ति विवरणको अखबार पठाइ देउ

जनताका सन्तानलाई मुग्लान खुल्ला गरेर
जागिरे बनाएर हाकिमका नातेदार पठाइ देउ

गाउँमा झारफुक गर्दै अकालमा मान्छे मार्छन्
बजेट भए शिविर पठाइ देउ उपचार पठाइ देउ

अचेल विद्यालयमा विद्यार्थीले सूत्र मात्र पढे
किताबमा छपाएर थोरै व्यबहार पठाइ देउ

मलाई भबिस्यमा नेपालको प्रधानमन्त्री बन्नु छ
सक्छौ जंगल सक्दैनौ कारागार पठाइ देउ।

२- लगानीकर्ता आउलान् भन्ठानी बसेको छ
प्रिया, मेरो प्राणमा तिम्रो लगानी बसेको छ

म विरुद्ध तिम्रो मुटुमा आगो बसेपनि
तिमी विरुद्ध मेरा आँखामा पानी बसेको छ

उसलाई आफन्त पनि लागे सरकार पनि लाग्यो
छिट्टै ऋण पनि लाग्छ जमानी बसेको छ

गुलामको जोडी बोकेर के धम्की लाउनु
एक्का र बादशाहसँग रानी बसेको छ

यो मन रुँदा सँगै रुने कोही नपाएपछि
देखाउनकै लागि मुस्कुराउने बानी बसेको छ।
आफ्नो अर्काको घर भत्काउने काम गर्छ
बाँदरले कहाँ स्याबासी पाउने काम गर्छ

मानवले मानवीय धर्म पचाएको देखेर
लाजले पनि लाज पचाउने काम गर्छ

देशमै परिश्रम गर्न देश फर्किएको साथी
देशबाट मान्छे बिदेश पठाउने काम गर्छ

प्रिया, तिम्रो तस्बिर राखेको छातीले पनि
कहिलेकाहीँ आँखा भिजाउने काम गर्छ ।

३- कति दोष राख्नु हुन्छ सरकार अगाडि
कहिलेकाहीँ ऎना राख्नुहोस अनुहार अगाडि

तपाईं बागमतीमा पुगेपछि नाक थुन्नुहुन्छ
अनि फोहोर फाल्नुहुन्छ किनार अगाडि

अलिकति देशको माटो राखिदिनु होला
सायद आशा पलाउँछ बालुवाटार अगाडि

यसकारण दुधको आम्दानी घटेको हुनुपर्छ
रक्सीमा जवानी राखिन्छ व्यापार अगाडि

नेपाल सरकार आफ्नो अनुगमन यसरी गर्छ
भ्रष्टाचार पछाडि पछाडि अख्तियार अगाडि ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.