कविता : शहीद ध्वनि

कवीन्द्र सिटौला ‘जिज्ञासु’
२५ कार्तिक २०८२ २०:५८
100
Shares

हे वीर नेपाली जाति!

हे ज्ञान, करुणा र विवेकका आलोक बोकेका नेपाली भाषीहरू!
हे स्वाभिमान र सत्यका सन्तानहरू, शान्तिका ध्वनिहरू!
हे उज्यालो भविष्यका धनी आत्माहरू, श्रद्धा र चेतनाले प्रकाशमान नेपालीहरू!

म तिम्रो गौरवशाली नेपाल राष्ट्रको दिव्य चेतना हुँ
म तिम्रो स्वाधीनता हुँ, तिम्रो स्वतन्त्रताको श्वास हुँ,
म तिम्रो वीरता वीर हुँ, तिम्रो स्वाभिमानको गर्जन हुँ,
म तिम्रो पहिचान हुँ, तिम्रो आत्मा र सम्मानको स्पन्दन हुँ
म तिम्रो सुख, शान्ति र समृद्धिको आधार हुँ।
म ध्यान हुँ, ज्ञान हुँ,
म नै परमानन्द हुँ ।

म तिमीसँगै छु-
हिमाल, पहाड र तराईका हरेक कण–कणमा,
सगरमाथाको शिखरमा प्रभात बनेर,
तराईका फाँटमा उर्वरता बनेर,
पहाडका उकाली-ओरालीमा सुस्केराहरूको साहस बनेर,
ज्ञान र चेतनाको सूर्यकिरण बनेर,
संसारभर शान्तिको पवित्र पवन बनेर बगिरहेको छु म।

तिमीलाई बिउँझाउन आएको छु म
त्यसैले ध्यान दिएर सुन-
मनबाट सुन, आत्माबाट सुन,
सूक्ष्म चेतनाबाट सुन!

आज पनि संसारमा एउटै झण्डा अद्वितीय छ-
चन्द्र-सूर्य अंकित रातो वीरता र स्वाभिमानको प्रतीक
त्यही झण्डाले तिमीलाई विश्वमा अमर बनाइरहेको छ।
त्यही झण्डासँगै तिमी,
इतिहासका गौरव बोकेर, पुर्खाका साहसका छायामा,
फरफराइरहेछौ – वीरता र समर्पणको अमर गाथा गाइरहे छौ
नेपाल आमाको रक्षामा तिमी कहिले सीमा भएर उभिएको छौ,
कहिले जङ्गे पिलर भएर ठडिएको छौ,
कहिले नदी भएर बगिरहेको छौ,
कहिले प्रहरी, सैनिक, राष्ट्रभक्त पहरेदार आत्मा भएर जागिरहेको छौ,
कहिले साहसी खेलाडीको गति भएर विजयको सम्मान बटुलिरहेको छौ।

तिमी बलिदानको आवाज हौ,
त्याग र साहसको घण्टी हौ,
रगत र समर्पणले लेखिएको अमर शपथ हौ।

मसँग छन् नेपालका अरु लाखौं शहीदहरू,
उनीहरूको रगत, उनीहरूको जीवन
तिम्रो स्वतन्त्रताको लागि बगेको हो,
शान्त, सुखी र समृद्ध नेपालको लागि बगेको हो,
प्रेम, सद्भाव र एकताको पुनर्जागरणको लागि बगेको हो
उनको बलिदान,
हिमालयको पवित्र माटोको सुगन्ध हो,
तिम्रो मुटुको साहसको धड्कन हो,
र योग, ध्यान, अध्यात्म र ज्ञानको पवित्र भूमि-
देवभूमि नेपाल – पुनः उज्यालो बनाउने चिरप्रेरणा हो।

हे वीर नेपाली जाति! सुन-
हामी मरेर अमर भएका छौँ,
अब तिमी –
बाँचेर नमर!
देश बाँचेर नमार!
स्वाभिमान बाँचेर नमार!

सावधान भएर सुन-
यदि तिमी पनि देश र राष्ट्रियताको नाममा
स्वार्थको बाटो हिँड्यौ भने,
सुन्दर नेपाल बाँचेर पनि मर्न सक्छ
तिम्रा वीर पुर्खाले छोडेको स्वाभिमान
जिउँदै नष्ट हुन सक्छ !

त्यसैले, हे स्वाभिमानी सन्तान !
हृदयले सुन, आत्माले बुझ –
तिमी नै जागरण हौ,
तिमी नै समर्पण हौ,
तिमी नै हो क्रान्ति
तर यो क्रान्ति हो संस्कार र सभ्यताको,
नैतिकता र इमान्दारिताको,
ज्ञान र विज्ञानको,
सृजना र आविष्कारको,
सद्भाव र शान्तिको,
स्वाभिमान र स्वाधीनताको,
एकता र अखण्डताको,
दया, प्रेम र करुणाको क्रान्ति
विवेक र दूरदर्शिताको क्रान्ति
तिमी नै हामीले खोजेको परिवर्तन बन,
तिमी नै सहिदहरूले चाहेको भविष्य बन,
तिमी नै सहिदले सपना देखेको नेपाल बन ।

उठ! बिउँझ! यो सहिद को ध्वनि हो
तिम्रो आत्मामा नेपाल बोलिरहेको छ,
तिमीलाई धरतीले गर्भमा खोजिरहेको छ
तिमीलाई खोजिरहेको छ… ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.