आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न

डिसी नेपाल
२९ कार्तिक २०८२ १९:१९
44
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज ७७ वटै जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको छ।

पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज जिल्लास्तरमा जनसभा गरेको बताए। जिल्लामा हुने सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गरेका छन्।

उनका अनुसार आजको जनसभामा महासचिव शंकर पोखरेलले बाँकेको नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गरेका छन्। यसैगरी रूपन्देहीको कार्यक्रममा सचिव छविलाल विश्वकर्मा, झापाको बिर्तामोडमा सचिव पद्मा अर्याल र कैलालीको धनगढीमा सचिव लेखराज भट्टले सम्बोधन गरे।

एमालेले भदौ २३ र २४ मा ‘जेन-जी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही तथा प्रतिनिधिसभा पुनःस्थापनालगायत माग गर्दै जनप्रदर्शन र सभा गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए। मुलुकमा विकसित राजनीतिक घटनाक्रम र एमालेको आगामी बाटोका विषयमा कार्यकर्तालाई जानकारी गराउन सभा गरिएको उनले बताए।

यसअघि एमालेले यही कात्तिक २२ गते देशका सबै वडामा वडा भेला र कात्तिक २५ गते ७५३ वटै पालिकास्तरमा भेला सम्पन्न गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *