कथा : लाटो झाँक्री

गोकुल खड्का
६ मंसिर २०८२ ७:४३
16
Shares

छत्तिस खोलाको बडेमानको ढुंगामुनि बनेको ठूलो ओडारमा लाटे झाँक्री बस्छ भन्थे। त्यस गाउँको तल्लो भागमा पर्ने त्यो लाटे झाँक्री बस्छ भन्ने ओडार वरपर बाक्लो झाडी थियो। ठूला रुख तहैन तर साना साना रुख भएपनि अति बाक्लो झाडी भएकाले दिउँसै अँध्यारो जस्तो लाग्थ्यो।

मान्छेको आवत जावत त्यस भागमा हुँदै हुँदैन थियो भनेपनि हुन्छ। गाई बाख्रा चराउने गोठाला समेतपनि त्यो ओडार वरिपरी जना डराउँथे। ओडारलाई पुरै छानो बने ढाकेको कालो ढुंगै ढुंगाको माथिल्लो भागमा बाँसको ठूलो झ्याङ,अनि ओडारको मुखतिर बनमाराको घारी टाढाबाट हेर्दापनि आङ जिरिङ हुने त्यो ओडारको वरिपरी जान कोही पनि चाहँदैन थिए।

घाँस, दाउरा, वनपात र गोठाला हिँडेका पाका मान्छेहरुले साना साना बालबालिका र नाति नातिनाहरुलाई रोचक शैलीमा लाटो झाँक्रीको कथा सुनाई रहेका हुन्थे।

भन्थे- लाटे झाँक्री उ त्यो अनकन्टारको ओडारमा बस्छ। दिनमा कहिल्यै बाहिर निस्किँदैन, मध्यरात तिर सानो सानो स्वरमा ढ्यांग्रो बजाउँदै ओडार बाहिर निस्किन्छ। कहिले काहीं बस्तीको वरिपरी पनि आइपुग्छ। तर मान्छेलाई कहिले हानि पुर्‍याउँदैन,मान्छेलाइ मात्रै नभएर,पशु पक्षीलाई पनि कुनै हानि नोक्सानी गर्दैन।

केटाकेटीहरु एक मग्न भएर हजुरबुवाका कुरा सुनी रहन्थे। हजुरबा भन्थे- लाटो झाँक्री भनेको हाम्रो इश्वर देवता बराबरको हो। हाम्रो गाउँमा कुनै रोग ब्याध आउन लाग्यो भने, मध्यरातमा लाटे झाँक्री ढ्यांग्रो बजाएर संकेत दिन आउँछ।  हाम्रो गाउँ टोलमा कसैको मृत्यु हुनेवाला छ भने लाटे झाँक्री ढ्यांग्रो ठटाएर आउँछ।

अर्थात् कुनै पनि आपतबिपद् आउन लागेको छ भने लाटे झाँक्रीले संकेत दिन आउँछ। तर सबै खाले आपत बिपतमा एउटै किसिमको ढ्यांग्रो बजाउँदैन। आपत बिपतको प्रकृति अनुसारको ढ्यांग्रोको बजाइ हुन्छ।

हजुरबुवा अझ भन्दै गर्थे-तर के गर्नु हामी टोलबासीले उसको लागि केही पनि गरेका छैनौ। कुनै पूजाआज पनि गर्दैनौं। एउटा धुपसमेत पनि लाटे झाँक्रीको नाममा बालिँदैन। अहिलेसम्म हामीले केही गर्न सकेनौं, बाबु हो अब तिमीहरुको पालामा लाटे झाँक्रीलाई सम्झनु है। सके पूजा आजापनि गर्नु नसके धुपबत्ती बालि दिनू। चाड पर्वहरुमा लाटे झाँक्रीको नाममा दुई चार टुक्रा खाने कुरा चढाउने गर्नु। तिमीहरुको कुनै पनि नोक्सानी हुनबाट जोगाउने छन् हाम्रो लाटे झाँक्रीले।

हजुरबुवा अझ अगाडि भन्दै थिए- म कहिलेकाहीँ साँझपख, रात बिहान  हिँड्डुल गर्नु पर्‍याे भने घरबाट निस्किन साथ हे लाटे झाँक्री मेरो जीवनको रक्षा गरिदेउ है, मलाई कुनै नरभक्षीले नमारोस्, भूत प्रेतले केहीपनि नगरोस् भनेर सम्झने गर्छु।

मन मनै लाटेझाँक्रीसँग प्रार्थना गर्छु। त्यसैले त अहिलेसम्म मलाई न भूत लागेको छ। न कुनै बाग भालुले आक्रमण गरेको छ। त्यो सबै लाटे झाँक्रीको कृपा हो। म बाँचिरहें भने लाटे झाँक्रीको थान बनाउँछु । अहिलेसम्म पनि लाटे झाँक्रीको महिमा त्यो गाउँमा छँदै छ। लाटे झाँक्रीले हामी सबैको कल्याण गरुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.