बागमती प्रदेशसभा बजेट अधिवेशन अन्त्य

डिसी नेपाल
४ मंसिर २०८२ २२:१०
12
Shares

हेटौँडा। बागमती प्रदेशसभाको बजेट अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएको छ। बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्खे अधिवेशन अन्त्य गरेका हुन्।

प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले आज सूचना जारी गर्दै प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा २ बमोजिम यही मङ्सिर ३ गते राति ११ः५९ बजेदेखि वर्षे अधिवेशन अन्त्य गरेको जानकारी दिए। वर्षे अधिवेशन अन्त्य भएसँगै प्रदेश सरकारले अब छिट्टै विधेयक केन्द्रित हिउँदे अधिवेशन आह्वान गर्ने तयारी भइरहेको सरकार प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए।

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएको प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यलाई जानकारी गराएको छ। प्रदेशसभा सचिवालयका सचिव पौडेलले आज सूचना जारी गर्दै सभामुख पाठकले गत असोज १ गते उपसभामुख अप्सारा चापागाईंलाई सम्बोधन गरी राजीनामा बुझाएको जानकारी दिए।

प्रदेशसभा नियमावली २०७४ को नियम १८४ को उपनियम २ बमोजिम प्रदेशसभा सदस्यहरुको जानकारीका लागि सूचना प्रकाशन गरिएको सचिव पौडेलद्वारा जारी सूचनामा उल्लेख छ। जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका सभामुख पाठकले असोज १ गते उपसभामुख चापागाईंलाई लिखित राजीनामा बुझाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *