ओलीसँग पोखरेलको प्रतिश्पर्धा निश्चित

डिसी नेपाल
५ मंसिर २०८२ ७:१७
400
Shares

काठमाडौं। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

बिहीबार सचिवालय बैठकमा उनले आगामी महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने औपचारिक रूपमा जानकारी दिएका हुन्। बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी आन्दोलन संकटापन्न अवस्थामा पुगेको, नेतृत्वको अभिव्यक्ति, कार्यशैलीका कारण संकट गहिरिँदै गएकाले यसको निकास दिने गरी आफूले प्रतिस्पर्धा गर्न चाहेको सन्देश दिनुभएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

‘यो जटिल परिस्थिती, यो गम्भीर परिस्थिती, यो संकटमा नयाँ ढंगले पार्टीलाई पुनर्गठन गरेर जानुपर्छ भनेर राख्दै आएका हौँ हामीले’ ती पदाधिकारीले भने, ‘खाली नेतृत्वको सवालमा त्यति छलफल भएको थिएन। आज अध्यक्ष (ओली)ले पनि म छोड्दिन, म उठ्छु भन्नुभयो। ईश्वर कमरेडले पनि म पनि उठ्ने तयारीमा छु भन्नुभयो।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीभित्र स्थापित विधि, परम्परा, मूल्यको जगेर्ना गर्दै प्रतिस्पर्धा गर्ने र परिणाम जे आए पनि आफू स्वीकार्न तयार रहेको सन्देश पनि दिएका थिए। ‘म प्रतिस्पर्धा गर्छु। हारजित जे भए पनि त्यो प्रतिस्पर्धाको सौन्दर्य हो। म त्यसलाई सहर्ष स्वीकार गर्छु,’ पोखरेलले बैठकमा भनेका थिए, ‘प्रतिस्पर्धाका लागि म योग्य पनि छु।’

जबाफमा अध्यक्ष ओलीले पार्टी आन्दोलन संकटमा परेका बेला, नेतृत्वमाथि चौतर्फी घेराबन्दी भइरहेका बेला आफूले अध्यक्ष नछाड्ने बताएका थिए। ‘प्रतिस्पर्धा गर्नुहुन्छ भने गर्नुहोस्। म नगर्नुहोस् भन्दिनँ। तर मैले अहिले नेतृत्व छाड्ने अवस्था छैन। तर प्रतिस्पर्धाले पार्टी, आन्दोलन र स्वयम् व्यक्तिलाई पनि फाइदा पुग्दैन,’ ओलीले भनेका थिए।

योसँगै एमालेको ११ औं महाधिवेशनमा अध्यक्षमा ओली र पोखरेलबीच प्रतिश्पर्धा हुने निश्चित भएको छ। ओली कुनै पनि हालतमा अध्यक्ष छोड्न तयार छैनन् भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समूहबाट वरिष्ठ उपाध्यक्ष पोखरेलबीच प्रतिश्पर्धा हुने निश्चित भएको हो।

त्यसो त एमालेको ११ औं महाधिवेशनमा ओलीसँग भण्डारी आफैं प्रतिश्पर्धा गर्न चाहन्थिइन्। तर ओलीको जोडबलमा भण्डारीको सदस्यता नवीकरण नभएपछि उनले पोखरेललाई अगाडि सारेकी हुन्।

पोखरेललाई उपाध्यक्षहरु सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सविच योगेश भट्टराई, गोकर्ण विष्टलगायत पदाधिकारीको साथ रहने देखिएको छ। पछिल्लो समय ओलीसँग रुष्ट बनेका नेताहरुले समेत पोखरेललाई साथ दिने भएपछि पोखरेल उत्साहितसमेत भएका छन्।

स्रोतका अनुसार पार्टी नेतृत्वका लागि एकजुट भएको विद्या भण्डारी पक्षका नेताहरुको समूहलाई पार्टीभित्र ठूलो संख्यामा समर्थन समेत छ। ‘पूर्वराष्ट्रपति नै अध्यक्षको उम्मेदवार भएको अवस्थामा उहाँले जित्ने बलियो सम्भावना देखेरै अध्यक्षले उहाँलाई पार्टी सदस्यता नवीकरण गर्नबाटै रोक्नुभएको स्पष्टै छ’ स्रोतले भन्यो ‘त्यही समूह संगठित भएकोले पार्टीको नेतृत्वमै आउने सम्भावना उच्च छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *