पार्टी दर्तापछि खगेन्द्र सुनारको दाबी : कांग्रेस-एमालेसँग सहकार्य हुन सक्दैन
काठमाडौं। दलितका लागि दलित अभियान चलाइरहेका खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको ‘हाम्रो पार्टी नेपाल’ले आधिकारिक प्रमाण पत्र पाएको छ।
सोमबार दिउँसो निर्वाचन आयोगको कार्यालय पुगेर सुनारले पार्टी दर्ताको आधिकारिक प्रमाण पत्र लिएका हुन्।
उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए। हाम्रो पार्टी नेपालले चुनाव चिह्न ‘लाइक’ को थम्मेल रहेको छ।
दल दर्ता प्रमाण पत्र लिएपछि अध्यक्ष सुनारले देश अप्ठ्यारोमा परेको बेलामा देशलाई सघाउन, परिस्थितीलाई सहज बनाउन चुनावमा भाग लिन पार्टी दर्ता गरेको बताए।
उनले भने, ‘दल दर्ताको प्रमाण पत्र पाइसकेका छौं। देश अप्ठ्यारोमा परेको बेलामा देशलाई सघाउन, परिस्थितीलाई सहज बनाउन निर्वाचन आयोगबाट हाम्रो पार्टी नेपाल नामको बुढी आंैला उठाएको चुनाव चिन्ह रहनेगरी पार्टी दर्ता गरेका छौं।’
अध्यक्ष सुनारले फागुन २१ को निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरी नयाँ राजनीतिक यात्रामा प्रवेश गर्ने बताए।
‘पार्टी मार्फत उत्पीडनमा परेका सबै समुदायहरुलाई एकताबद्ध गरेर फागुन २१ को निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर त्यसपछि नेपालको नयाँ राजनीतिक यात्रामा प्रवेश गर्नेछौं,’ उनले भने।
उनले चुनावमा कांग्रेस, एमालेसँग सहकार्य नहुने तर कुलमान घिसिङ, बालेन शाह, रवि लामिछाने र हर्क साङपाङहरुसँग सहकार्य हुनसक्ने बताए।
उनले निर्वाचनमा कांग्रेस र एमालेले भाग नलिएको राम्रो भन्दै केपी ओली र रमेश लेखकले चुनाव लड्न नपाउने दाबी गरे।
‘इज्जत छ भने यो चुनावमा काग्रेसको रुख र केपी ओलीको मुख नदेखाएकै राम्रो हुन्छ। आउँदै गरेको निर्वाचनमा कांग्रेस र एमालेले भाग नलिएको राम्रो हुन्छ। सुध्रिन्छु भन्नेहरुलाई सुध्रिने मौका दिनुपर्छ। केपी ओली र रमेश लेखकले चुनाव लड्न पाउदैन्। जसलाई मुद्दा लागेको छ मुद्दा लड्ने हो, चुनाव लड्ने होइन्’ उनले भने।
उनले प्रधानमन्त्री बन्ने गरी चुनावबाट आउने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment