कविता : एक रातकी महारानी

खेमराज सुवेदी
९ मंसिर २०८२ १४:१०
428
Shares

मध्यरातको मौनतामा
संसार चीर निद्रामा हुँदा
चन्द्रमालाई साक्षी राखेर
एक्लै जागेकी हुन्छौ तिमी

चन्द्रप्रभाको मोहनीले
एकोहोरिएको चकोर झैँ
लठ्ठ पार्छौ पवनलाइ
तिम्रो सुगन्धले

सेता सुन्दर पत्रमा
सुनौला रंगले भरिएको
स्वर्गको संदेश मानौँ
तिमी, अहंकार हीन देशकी
“एक रातकी महारानी”

बस्दिनौ प्रशंसाको पर्खाइमा
फुल्छौ चुपचाप, झर्छौ निःशब्द
सूर्यले यात्रा सुरु नगर्दै
सकिन्छ तिम्रो एउटा यात्रा
सुगन्ध र सौन्दर्यले पुष्ट हुँदै
सम्पूर्ण बन्धन चुँडाएर
धराको धुलोमा खसे पछि,
पूर्ण हुन्छ तिम्रो जीवन साधना

तिम्रो वृष्टिले आह्लादित बन्छ माटो
अनन्त पर्खाइको अन्त्य सँगै
प्राप्त प्रेमिल मिलनको तरंगले
धन्य बन्छ बसुन्धरा
सुरु हुन्छ अर्को नयाँ यात्रा तिम्रो

पहिले शान्त अन्धकारमा
जन्मिन्छौ अनि खस्छौ
धर्तीको प्रेमिल स्पर्श पश्चात
अन्त्यमा अन्भिनु अघी
देवालयमा पुन: जन्मिन्छौ

टिप्दैनन् कोही नझरे सम्म बोटमा कहिले
धर्तीमा झर्दा शिरमा पुग्छौ देवको जहिले

हे रातकी रानी
नम्रताकी प्रतिक, पारिजात
रहस्यले भरिएकी छौ तिमी
तिम्रो एकरातको जीवन
अनि
एक युगको तिम्रो पवित्रता।

(दोहा कतार) 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.