कास्कीमा थपिए १७ हजार ७८६ मतदाता

डिसी नेपाल
९ मंसिर २०८२ १३:१६
16
Shares

गण्डकी। कास्कीमा १७ हजार ७८६ मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार कार्यालयमै आएर ‘बायोमेट्रिक’ विधिबाट मतदाता नामावलीमा नाम दर्ता गराउने नौ हजार १२१ र राष्ट्रिय परिचयपत्रका आधारमा ‘अनलाइन’मार्फत नाम दर्ता गराउने आठ हजार ६५५ जना रहेका छन्। नयाँ थपिएका मतदातामा अधिकांश युवा छन्।

यसअघि कास्कीमा कुल दुई लाख ९४ हजार मतदाता कायम रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए। “मतदाता नामावली रुजु र अद्यावधिक भएपछि निर्वाचन आयोगबाट अन्तिम नामावली आउँदासम्म मतदाताको सङ्ख्या केही घटबढ हुनसक्छ”, उनले भने, “कतिपय मतदाताले एक जिल्लाबाट अर्को जिल्लामा मतदाता नामावली स्थानान्तरण गरिरहनुभएको छ।”

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि यही मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको थियो। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यालयले मतदाता नामावली सङ्कलन तथा दर्ता, त्रुटि सच्याउन, स्थान परिवर्तनलगायतका काम गर्दै आएको छ।

राष्ट्रिय परिचयपत्रबाट अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्ने व्यवस्था भएपछि नयाँ मतदातालाई सहज भएको सूचना अधिकारी न्यौपानेले बताए। नेपाली नागरिकता प्राप्त गरेर १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *