लघुकथा : यो पो धर्म
‘यो संसारमा केही रहेनछ । श्रीमती, छोराछोरी, बाबुआमा लगायत सारा समाज स्वार्थी । आफन्त स्वार्थी । सबका सब स्वार्थी । यो संसार नै स्वार्थी’ पण्डित लुरुकान्तलाई वैराग्य चल्न थालेको छ ।
उनी भन्न थालेका छन् : ‘यो जिन्दगी क्षण भङ्गुर छ, यो वायु भित्रबाहिर गर्छ र हामी छौँ । जुनदिन बाहिर निस्केको वायु भित्र पस्तैन त्यतिबेला हामी लासमा परिणत भइसकेका हुन्छौँ । भौतिक सम्पत्तिसँगै जाँदैन’
उनका यी कुराहरूलाई धर्मभीरुहरू पूmलमालाले स्वागत गर्छन्, प्रसाद चढाउँछन् । पण्डित दक्षिणा खल्तीतिर हाल्छन् । मानौँ उनले भौतिक वस्तु सँगै लाने बाटो देखाइदिन्छन् । यो वैराग्य उनको पेसा थियो ।
छोराले क्यानाडा बोलायो । केही दिन त छोरा बुहारीले खातिरदारी गरे । त्यसपछि उनी मान्छेको भिडमा हराए । घरनजिकै रहेको छोराको पाकिस्तानी साथी हैदरको स्टोरमा जान थाले । काम गर्दागर्दै पनि उनीसँग गफिनु पर्ने भयो । सुरुसुरुमा साथीको बुबा भएकाले ‘हो, हस्’ भन्ने ग¥यो । पण्डितजीले नेपालकै उही कुरा दोहो¥याउन थाले । भाषा पनि सहज भयो ।
‘हैदर बाबु, ….क्षण भङ्गुर, …….सँगै जाँदैन,……..व्यर्थको यो संसार……., भगवान्को नाम लेऊ, किन व्यर्थको यो चटारो, जिन्दगीमा कति दौडिन्छौ ?’
हैदर आजित भयो । उसले हाँसीहाँसी भन्यो :
‘हो बुबा, जीवन नाशवान् छ । सबै धर्मले पनि यही भन्छन् । जिन्दगी क्षणभङ्गुर छ । बाहिर गएको वायु फर्केर नआएपछि हाम्रो लीला खतम हुन्छ । यसलाई यसरी बुझौँ न बुबा’
‘कसरी ?’
‘मानव जीवन पाइएको छ । हामीसँग समय थोरै छ । गर्नुपर्ने काम धेरै छन् । छिटोछिटो काम गर्नु छ । राम्रो काम गर्नु छ । त्यसैले हतार छ । म एकछिन बस्दिनँ । मलाई आनन्द लाग्छ कि कम्तीमा पचास जनाले मेरो स्टोरमा काम गर्दै छन् । बिस जना नेपाली छन् । गुजारा चलेको छ । म काम गर्छु त्यसैले अल्लाहले मलाई माया गर्नुहुन्छ । काम सेवा हो । सेवा धर्म हो ।’
पण्डित लुरुकान्त ‘कनफ्युज्ड’ भए ः ‘यो पो धर्म हो कि क्या हो ?’
















Facebook Comment