लघुकथा : भाडा
केही समयको प्रतिक्षापछि बस रोकियो।
म बसमा चढेँ। यात्रीहरूको खचाखच भिड थियो। सहचालक सिट मिलाउँनमा व्यस्त देखिन्थे। सबैलाई भन्दै थिए मिलेर बस्नोस्, एकछिनमा सिट खाली हुन्छ।
फेरि अर्को चोकमा गाडी रोकियो। हात हल्लाउँदै सोध्दै थिए, “कहाँ जाने ?” यात्री थपिए, भन्न थाले, “अलि पछाडि जानोस्, मिलेर बस्नोस्।” पुन: तिनै वाक्यांश दोहोर्याए।
यात्री उभिएका छन्, बस्ने ठाउँ छैन। सहचालक फेरि कराए, ” पछाडि सर्नोस्, मिलेर बस्नोस्, हतार सबलाई छ, जानुछ।” उनी मिलाउँन थाले
उनी भिडलाई छिचोल्दै उठाउँन थाले, कोट्याउँदै भन्दै थिए, ” भाडा दिनोस् त ?”
महिला सिट नपाएर एक घण्टादेखि उभिएको थिइन्। उनी रन्किइन, “के को भाडा ? पहिला सिट मिलाउँनोस्,सिट छ भनेको होइन।” दुबैमा भनाभन चल्यो।
सहचालकले देखाउँदै “ऊ त्यो सिट एकछिनमा खाली हुन्छ अनि बस्नुहोला।”
उनले रोष देखाउँदै दिइन्, बढी लिएछन् क्यार ! उनी चर्किइन्, “किन एकरूपता छैन, दुरी एउटै हो तर कोहीले कति त कोहीले कति, किन यस्तो ?” उनको आवाज ठुलो सुनियो
सहचालकले झिझिदै, ” तपाइँ झर्नोस् नत्र चुप लाग्नोस्, यत्तिनै हो।” उनी ठाडै बोले र उनको आवाज दबाए।
सबै मुखदर्शक थिए। पर्याकपुर्लुक मुखमा हेरे तर कसैको समर्थन गरेनन्।
दुबैलाई प्रत्यक्ष नियाल्दै थिएँ, मेरो मन चिसो भयो र बोले, ” राज्यले उचित मापदण्ड अनुसारको भाडा र यात्री तोकिदिए त यो विवाद हुँने नै थिएन।”
परिधि
मित्रता प्रगाढ थियो।
म खाली टाउको हल्लाउँने र सही थाप्ने गर्थे। ऊ जे भन्थ्यो म खुरूखुरू गर्थे। ऊ आफ्नो स्वार्थ अनुसार नचाउँथे, नाच्थे। हरबखत उपस्थित रहने र उसको वरिपरि घुम्थे। मलाई लाग्थ्यो, ऊ मभन्दा ठुलो हो। समय बित्दै गयो, उसको दाहिने हात भएछु। उसले स्वार्थको माया देखाउँथ्यो। म वास्तविक ठान्थे जुन भ्रम रहेछ। म सोचमग्न थिएँ।
मलाई लाग्यो, अरूका लागि कति बाँच्नु ? म उसँग बिस्तारै टाढिन थालेँ। थाहा थिएन तर आफ्नो पहिचान खोज्ने भएछु। म आफ्नै काममा रम्न थालेँ, आफ्नै अन्तर्मनलाई साथी बनाई कुरा गर्न थालेछु। जति बाहिरी परिवेशसँग टाढिए त्यत्ति नवीन विचार पस्कन थालेछु।
अब उसले मलाई खोज्ने भएछु। किन, के, कसरी अनि कस्तो प्रश्न गुन्जन थाल्यो ? जुन म सुन्थेँ तर मौन थिएँ। हल्का मुस्कानले टार्थे, मेरो लक्ष्य जवाफमा थिएन।
नयाँ अनुहारहरूसँग परिचित हुँन थालेँ। जसबाट केही नवीन शैली भित्र्याएँ। फरकपनको आभास, सिक्ने, सिकाउँने माहोलमा व्यस्तता देखाएँ।
उसँग एक्कासी ! बाटोमा भेट भयो। उसले छेड हान्यो, ” ओहो ! के साह्रो भाउ बढेको हो, कुन्नि ? भेटघाट, बोलीचाली केही छैन….यस्तै- यस्तै ?” उसले विगत कोट्यायो।
मसँग जवाफ थिएन न रिस, न डाह, शान्त थिएँ। त्यो व्यवहार उसलाई सहिनसक्नु भएछ। फेरि, “विगत र आज दाँज्न पुग्यो, ऊ ममा खोज्दै थियो,पहिलाकै यस म्याम।”
















Facebook Comment