लघुकथा : पैसा
महत्त्व कति है ?
जति बुझ्यो झन त्यति गाह्रो भन्दै गफ्फिँदै थिए। उत्सुकताले भरिएका आँखाले एकआपसमा हेर्दै थिए।
एउटीले भनिन्, ” कसले चलाए होला, यो पैसा भन्ने चिज।” भन्दै आफ्नै अन्तर्मनमा हराइन्। घोत्लिएर सोचिन अनि मुसुक्क हाँसिन्। जवाफ शून्य थियो।
अर्कीले पाँच सयको नोट दुई हातका औंलाले नचाउँदै नियालेर हेर्न थालिन् र भनिन्, ” कति ठाउँमा चहारेर आयो होला ? कसैको घर चलायो होला त कसैको व्यवसाय धान्यो होला त कसैलाई मनोरञ्जन दिलायो होला, कतिका आवश्यकता पूर्ति गरेको छ ?” फेरि उहीँ नोट हेर्दै केलाइन्।
एउटीले, ” होतनि एउटै तर नाचेको नाचेई छ। कहिले कस्को खल्तीमा त कहिले कसकाे खल्तीमा तर स्थिर ?” उनी विस्मित देखिइन्।
अर्कीले, ” मान्छेलाई घुमाएको छ, कहिले कहाँ त कहिले कहाँ ? देश विदेश सबै डुलाएको छ, फुटाउँन र मिलाउन सबै जानेको, धन्य तेरो रुप !” उनले संकेत गरिन्।
एउटीले भनिन्, “पसलमा सामान किन्न गएकी थिएँ, पसलेले उत्तिनैखेर त्यहीँ बचत गर्यो । सबैका आवश्यकता उत्तिनै छन् ।” म सोचमग्न थिएँ।
“चाहेँ शुभकार्य होस् त चाहेँ मर्दापर्दा कसैले जौँ तिलले चोख्याएको पनि देखिएको छैन ।” उनले फेरि थपिन
अर्कीले गहन हुँदै, ” गाई कहिल्यै ननुहाए नि सेतै, भनेझै पैसालाई त्यसै लक्ष्मी भनिएको होइन रछ ।” उनी खँदिलो स्वरमा बोलिन्।
अवसर
जाने त विदेशै होला नि ?
घुँडा धसेर पढेर जति राम्रो मार्क ल्याएनि, आखिरा विकल्प विदेशै हो, क्यार ! नेपाला नत राम्रो जागिर पाइन्छ, नत पारिश्रमिक नै । मरिमरि काम गर्यो, जहान पाल्न धौधौ ! उमा विरक्तिएको स्वरमा बोली।
बडो ! फुटानी लागाउँथी सीताले । मेरो छोरो लेक्चर हो, एकछिन फुर्सद छैन,टन्न पैसा कमाउँछ, भन्थी तर त्यो पनि कुदेछ रे विदेशतिर । उसले जिब्रो लोप्य्राउँदै फेरि थपी।
देशको परिस्थिति देखेर युवा बस्नै नमान्ने भए । भएका कलकारखाना सबै बन्द छन् । लगानी गर्यो सफल हुदैन की भन्ने त्रास ! विदेशको झिलिमिलीले सबैको ध्यान खिँचेको छ, के गर्ने ? मैले निराशा व्यक्त गरेँ
त्यतिकैमा पधेँरामा सीता टुप्लुक्क आई र भन्न थाली, ” के को कानेखुसी हो, कस्का कुरा हुदैछन् ?” उसले व्यङ्ग्य कसी।
आयु त लामै छ क्या मोरीको, मर्दिनस् चाडै भन्दै उमा केही नरम स्वरमा, ” अतनि हेरन, अहिलेका केटाकेटीहरू त देशाआ बस्नै छाडे । जसलाई नि विदेशको भुत चडेछ, किन हो कुन्नी ?” उसले यथार्थता दर्शाई ।
सीता लामो सुस्केरा हाँल्दै, ” अचानोको पिर खुकुरीले जान्दैन, टाठाबाठा रहेछन् बस्ने त ! जो नेताको पछि लाग्छ, मान्छे चिनेको छ,त्यस्तालाई चाहिँ ठिकै छ तर सर्वहाराको रहेनछ देशनि ।” उसले दिग्दारी व्यक्त गरी।
दुबैका कुरा सुनिरहेकी मैले खल्लो मान्दै बोले, “बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल कुहिने, परम्पराको अन्त्य भई विकासको मूल फुटेर अवसर पाए भने विदेश पलायन रोकिएला नत्र……।”
दुर्दशा
के हुँदैछ,यो देशमा ?
तादीको त्यो आन्दोलन बिर्सन सकेको छैन, फेरि एकाबिहानै के समाचार सुन्नुपरेको हो । असन्तुष्टि पनि के साह्रो हो, एकपछि अर्को ? शान्तिले बाँच्न नपाइने भो, कहिले के भनेछ, कहिले के भनेछ ? बुढाले बुढीसित गुनासो पोखे ।
होतनि, “कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझै पो भएछ, हिजोआज ! एउटाले एकथोक भनेछ, अर्कोले फेरि अर्को भनेछ । यो बेमेलको अन्त्य कहिले हुन्छ ?” उनी चर्किएर बोलिन् ।
फेरि उनी फत्फताउन थालिन, ” आज ठुले शहरबाट आउँने कुरा गर्दै थियो । कतिखेर आउँछ ? गाडी चल्छन्, चल्दैन बुझ्दै गर्नोस् है ।”
बुढा, रेडियोको आवाज मन्द बनाउँदै फोन लगाए तर फोन अफ थियो । चार्ज सकिएछ क्यारे भन्दै बुढीलाई सान्त्वना दिए ।
उनको मन अतालियो, भनिन्, “साथीहरूलाई सोध्नुहोस् ! के छ आउँने कुरा ?”
आइहाल्छ नि, पिर नगर भन्दै सम्झाउँदै, “आज तोरी उखेल्ने भनेको म बारीतिर जान्छु । सम्पर्क भए म खबर गरूला, भन्दै निस्कन के लागेका थिए ?”
त्यतिकैमा माथ्लाघरे सुभाष शिथिल हुँदै आयो र मलिन स्वरमा भन्यो, ” आन्दोलनमा, टाउकामा गोली लागेर ठुले अब रहेन काका !”
















Facebook Comment