खाइराइड हास्यव्यङ्ग्य पुरस्कार समर्पण

डिसी नेपाल
१५ पुष २०८२ ७:१३
28
Shares

काठमाडाैं। खाइराइड हास्यव्यङ्ग्य पुरस्कार २०८२ साल पुस १२ गते काठमाडौंमा आयोजित एक समारोहका बीच अर्पण गरियो। नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नयन र विकासका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीले यो स्थापना पुरस्कार गरेका हुन्।

विद्यालय तहका छात्रछात्रामा हास्यव्यङ्ग्य साहित्य लेखनमा प्रेरणा जगाउने पुरस्कारको मुख्य उद्देश्य हो। यो पुरस्कार विद्यालय तहका विद्यार्थी बीच प्रतियोगिता गरी हरेक वर्ष प्रदान गरिन्छ।

मङ्सिर १, २०८२ को समय अवधि तोकी विद्यालय तहको ‘हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता-२०८२ का लागि बाङ्गा अक्षरले निबन्ध आह्वान गरेको थियो। देश भरिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीबाट निबन्ध आह्वान गरी प्राप्त निबन्धको मूल्यांकनको आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा भएको हो।

मूल्यांकन हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, कवि तथा साहित्यकार डा. ऋषि बस्ताकोटी र हास्यव्यङ्ग्यकार गायत्री लम्साल रहेको मूल्यांकन समितिले गरेको हो।

काभ्रे इङ्लिश माध्यामिक विद्यालय, पनौती काभ्रे की छात्रा कुसुम घिमिरेलाई वीस हजार नगद र सम्मानपत्र सहित प्रथम पुरस्कार अर्पण गरियो। डियरवाक सिफल स्कुल, सिफल काठमाडौंका छात्र साइमन घिमिरे लाई दश हजार नगद र सम्मानपत्र सहित द्वितीय पुरस्कार अर्पण गरियो।

त्यसैगरी डियरवाक सिफल स्कुल, सिफल काठमाडौंकी अनुश्री आचार्य र सिद्देश्वर माध्यामिक विद्यालय दाँवा, भोजपुर की विनिता प्रधान लाई जनही नगद पाँच हजार नगद र सम्मानपत्रसहित अर्पण गरियो।

बाङ्गा अक्षर नेपाल शाखाका सह संयोजक डिल्लीप्रसाद मूलतिहूनको सभापतित्वमा सम्पन्न समारोहको प्रमुख अतिथि थिए फित्कौली डटकमका प्रधान सम्पादक एवम् हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल।

अन्य अतिथिहरूमा प्राज्ञ श्याम तमोट, हास्य कलाकार मनोज गजुरेल र सुवोध गौतम, डा. टिका लम्साल, चण्डी कार्की लगायत थिए। डा. टिका लम्सालले बाङ्गा अक्षरको उपस्थिति र खाइराइड पुरस्कार स्थापनाको उद्धेश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए।

पुरस्कार अर्पण अगाडि हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष एवम् रचना मूल्यांकन समितिका संयोजक लक्ष्मण गाम्नाङ्गेले तयार गरेको समीक्षात्मक टिप्पणी अनिल पौडेलले वाचन गरेका थिए।

कार्यक्रममा पुरस्कृत छात्रछात्राहरूले आआफ्नो निबन्ध बाचन गरेका थिए। प्रमुख अतिथि नरनाथ लुइँटेलले हास्यव्यङ्ग्यकार खाइराइड हास्यव्यङ्ग्य पुरस्कार नेपाली हास्यव्यङ्ग्यकै पुनर्जागरणमा एउटा महत्वपूर्ण कडी हुनेछ भन्ने विश्वास व्यक्त गरे।

यसले हाम्रो युवा पुस्तामा हास्यव्यङ्ग्य लेखनप्रति अभिरूचि जगाउँन र अभिप्रेरित गर्न सफल होस् भनी बाङ्गा अक्षर परिवार र खासगरी पुरस्कार संस्थापक राजेन्द्र कार्कीलाई विशेष शुभकामना व्यक्त गरेका थिए।

अतिथि श्याम तमोटले तत्कालीन समयको चर्चा गर्दै अहिलेको परिवेश फरक रहेको, आफूलाई कार्यक्रममा आमन्त्रण गरेकामा हर्ष विभोर भएको, हास्यव्यङ्ग्यकार कार्कीलाई विशेष धन्यवाद। पुरस्कार संस्थापक हास्यव्यंग्यकार राजेन्द्र कार्की आफ्ना विद्यार्थी भएको र उनले आफुलाई आमन्त्रण गरेकोमा हर्ष विभोर हुंदै पहिलेको भन्दा अहिले परिवेश धेरै फरक भएको बताए।

अतिथि चण्डी कार्कीले पुरस्कार संस्थापकलाई अभिभावकत्व गर्दाका पुरानो दिनको संस्मरण गरे। आफ्नो भाइले यस्तो प्रेरणादायी काम गरेकोमा गर्व महसुस भएको बताए।

कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल र सुवोध गौतमले प्रस्तुत गरेका हास्यव्यङ्ग्यमूलक प्रस्तुतिले सभाकक्ष हाँसोमय बनेको थियो। चक्र दवाडी, अनिता कोइराला र अनिल पौडेलले व्यङ्ग्यात्मक कविता प्रस्तुत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.