गीतकार किरण खरेललाई ‘परशु-कल्पना स्रष्टा सम्मान’

डिसी नेपाल
८ चैत २०८२ १०:२०
52
Shares

काठमाडौं। प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु-कल्पना स्रष्टा सम्मान-२०८२’ वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गरिएको छ।

नेपाल स्रष्टा समाजद्वारा शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि तथा वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठले गीतकार किरण खरेललाई सम्मानपत्र समर्पण गरे। सम्मानकासाथ नगद राशि एक लाख १११ रुपैयाँ समेत प्रदान गरियो।

प्रमुख अतिथि प्रा.डा. श्रेष्ठले गीतकार खरेललाई बधाई दिँदै आख्यानकार प्रधानको कथाकारिताको चर्चा गरे। उनले प्रधानका कथाहरूको पुनः मूल्याङ्कन हुनुपर्नेमा जोड दिए। उनले भने, “के समीक्षकहरूले परशु प्रधानका कथाहरूको सही समीक्षा गरेका छन् त ? मेरो विचारमा छैनन्। तशर्थ अब नयाँ दृष्टिकोणकासाथ उनका कथाहरूको समीक्षा र मूल्याङ्कन हुनुपर्छ।”

प्रमुख अतिथि डा. श्रेष्ठले आफूले पनि प्रधानको एउटा कथाकृतिको ३५ पृष्ठ लामो भूमिका लेखेको उल्लेख गर्दै भने, “त्यो भूमिका मैले केही दिनअघि पढेँ। पढेपछि लाग्यो मैले परशु प्रधानको कथाहरूको मूल्याङ्कन गर्न सकेको रहेनछु।”

भूमिका लेख्दा आफू ४० वर्षको रहेको र आज ८० को उमेर पार गरिसक्दा उमेरका कारण हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको बताए। उनले प्रधानका दुई कथाको चर्चा गरे। उनले भने, “म परशु प्रधानका कथा र त्यसको सौन्दर्यशास्त्र’ विषयमा केही लेख्ने प्रयास गर्नेछु।”

अग्रज गीतकार खरेलकाबारेमा बोल्दै गीतकार रमण घिमिरेले गीत सिर्जना किरण खरेलको एक मात्र ‘लत’ भएको बताउँदै उच्च शिक्षा हासिल गरेर पनि अन्य पेशामा नगएर उनी गीत सिर्जनामा नै निरन्तर लागिरहेको उल्लेख गरे।

घिमिरेले एक कुशल उद्घोषक समेत रहेका खरेल नेपाली गीत सिर्जनाका महाविद्यालय नै भएको उल्लेख गरे। घिमिरेले भने, “गीत रचना भनेको फलामको चिउरा चपाउनु सरह हो। उहाँले गीतमा प्रेम, शृङ्गार मात्र होइन, नयाँ प्रयोग पनि गर्नुभएको छ। उहाँका गीतमा विद्रोह पनि भेटिन्छ।”

रेडियो नेपालको गीत प्रतियोगितामा चारपटक उत्कृष्ट गीतकारको पुरस्कार प्राप्त गरिसकेका खरेलको आधुनिक गीत, चलचित्रका गीतहरूको चर्चा गर्दै घिमिरेले किरण खरेल गीतका अपरिहार्य साधक भएको उल्लेख गरे।

कार्यक्रममा साहित्यरकार शैलेन्द्र साकारले दाजु परशु प्रधानसँगका केही स्मृतिहरू साझा गरे। उनले किरण खरेल र परशु प्रधानको सम्बन्धको चर्चा गर्दै भने, “किरण दाइले नै दाजुका कथाहरूलाई गीति कथाका रूपमा रेडियो नेपालमा प्रसारण गर्न सहयोग गर्नुभएको थियो।”

प्रधानको कथाकारिताको उन्नयनमा केदारमान व्यथित, दौलतविक्रम विष्ट र पोषण पाण्डेको प्रेरणा रहेको साकारले बताए।

गीतकार दिनेश अधिकारीले अग्रज गीतकार खरेलको चर्चा गर्दै आज नेपाली गीतलाई यो उचाइमा पु¥याउने श्रेय खरेलकै रहेको बताए। अधिकारीले आफ्नो र आख्यानकार प्रधानसँगको सम्बन्धबारे पनि बोले।

बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले आफ्ना पिताजीको स्मृतिमा आफूहरू चारजना दिदीभाइ मिलेर यो सम्मानको स्थापना गरेको बताए। प्रधानले भने, “हामीलाई यो अवस्थामा ल्याइपुर्‍याउनुमा पिताजीको साहित्य सिर्जनाको नै योगदान छ। पिताजीको जीवन साहित्य सिर्जनाले नै अगाडि बढेको हो र त्योसँगै हाम्रो जीवन पनि। साहित्यकार भनेको समाजका रत्न हुन् भन्ने हामीले पिताजीबाटै बुझेका हौँ।”

उनले साहित्यकार अशेष मल्लको संयोजनमा गठित सम्मान सिफारिस समितिले अग्रज गीतकार किरण खरेल जस्ता उपयुक्त पात्र चयन गरेको र गीतकार खरेलले पनि सम्मान स्वीकार गरेकोमा विशेष आभार व्यक्त गरे।

कार्यक्रममा साहित्यकार पवन आलोकले नेपाल स्रष्टा समाजको स्थापनामा आख्यानकार परशु प्रधानको योगदानको चर्चा गर्दै उनी आफ्ना गुरु पनि भएको उल्लेख गरे। स्रष्टा समाजका संरक्षक पनि रहेका आलोकले अग्रज गीतकार खरेललाई सम्मान गर्न पाउनु समाजका लागि गौरवको विषय भएको बताए।

समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले धेरै किताब प्रकाशन गरेरभन्दा पनि पाठकलाई छुने उत्कृष्ट साहित्य लेखेर स्रष्टा लामो समय बाँच्ने चर्चा गरे। उनले भने, “राम्रो लेख्नेहरू पनि बाँचेका छन् त ? त्यो पनि होइन। जस्ले आफ्नो उत्तराधिकारी बनाउन सक्यो, त्यस्ता स्रष्टा सशरीर नभए पनि युगौँयुग बाँचेका छन्। परशु दाइले धेरै काम गर्नु भएको छ। उहाँ अनुज पुस्तालाई प्रोत्साहित गर्नुहुन्थ्यो। यो समाज पनि परशु दाइकै परिकल्पनामा स्थापना भएको हो।”

साहित्यकार रोदनले सात सयभन्दा बढी कालजयी आधुनिक गीत नेपाली स्रोतालाई सुम्पिएका गीतकार खरेल नेपाली गीतसंगीतका उज्जवल नक्षत्र भएको बताए।
समाजकि सदस्य डा. शान्तिमाया गिरीले आख्यानकार प्रधानको परिवारले सम्मान स्थापना गरेर व्यवस्थापनको जिम्मा समाजलाई सुम्पिएको उल्लेख गर्दै आभार व्यक्त गरिन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *