दर्शन

असीमित ज्ञान र अपुरो मानिस

शंकरप्रसाद रिजाल
१९ पुष २०८२ ७:५३
28
Shares

हरेक मानिसको जीवन अपुरो छ। ऊ जन्मिन्छ, हुर्किन्छ, जवान, बयस्क र बुढो हुन्छ र करीब नब्बे बर्षको उमेरको हाराहारीमा उसले आफ्नो इहलिला समाप्त गर्दछ। तर ज्ञान असीमित छ, बुद्धि असीमित छ र प्रज्ञापनि त्यस्तै असीमित छ। त्यसै कारणले ज्ञान, बुद्धि र प्राज्ञको तुलनामा मानिसले आफ्नो जीवन भरि जति नै जान्ने कोशिश गरेपनि त्यो अपुरो नै ठहर्दछ।

अपुरो जीवनको कुनैपनि ज्ञान र त्यो अनुसार हुने छलफल, कुराकानी, बहस, रहनसहन, देखाई, हेराइ र गराई बाहिरी जगतमा हुने सबै क्रियाकलाप र काम कारवाही सबै अपुरो र पराधीन हुन्छन्।

यो अपुरो र पराधीनतालाई पूर्ण बनाउन हामी कसै न कसैको मद्दत र सहारा लिने गर्दछौं। जेनतेन निष्कर्षमा पुग्न त्यही अपुरो छलफल, बहस, रहनसहन, हेराइ, देखाइ र गराइका सब कुराहरुको निष्कर्ष अपुरो अबस्थामै निकाल्दछौँ। अनि त्यसैलाई नै यही पूर्ण हो भनी पढ्छौं र पढाउँछौं।

मानिसलाई थाह छैन आफूभित्र कति ज्ञान छ भन्ने कुरा। आफ्नो अनभिज्ञतामा ऊ अरुको साथ र सहयोगको अपेक्षा राख्दछ र सकेसम्म अरुको सहाराद्वारा नै समस्याको समाधान गर्ने कोशिश गर्दछ।

ऊ आफ्नो दुनिया भरको कुराले खचखच भरिएको दिमाग र मनलाई खाली गराइ त्यसमा नव बिचारको खजाना भर्न चाहँदैन। त्यसको सट्टामा ऊ भरिएकै दिमागमा अर्को बिचारको बहस अझ खाँद्न थाल्छ। आफूसँग रहेको पुराना बिचारलाई यथाबत राखी नयाँ कुराहरुको

आर्जन जब मानिसले गर्न थाल्छ तब उसका विचारका शृंखलाहरु अटेस मटेस भई मन र मस्तिष्कमा अपच भइ खलस्त हुन सक्दैन र मानिस सधैं सीमित घेरामा रही अपूर्ण बन्न जान्छ। जस्तै अपच भएको खाना माथि अर्को खाना निरन्तर जबसम्म हामी पेटमा कोच्दै जान्छौं तबसम्म हामी सफा मन र मश्तिष्कले हिँड्न डुल्न र सोच्न सक्दैनौं र अपूर्णताको आभास सधैं मनमा खट्किरहेको हामी पाउँछौं अनि हामी पूर्णताको लागि अरुको सहारा लिइ अर्काको भर परेरेक कुराको निर्णय लिन्छौं। तथा यही कुराहरुलाई पूर्णता हो भनी हामी यसैको आधारमा निर्णय गर्ने,परिभाषा बनाउने, बिभिन्न दर्शन बनाउने, स्थापित गर्ने र त्यसै अनुसारको भाष्य निर्माण गरी हिंड्ने गदैछौं।

तर मूल कुरा के छ भने कुनैपनि कुराको आफ्नो ज्ञानको क्षितिज भन्दामाथि कोहीपनि जान सक्दैन। ज्ञान एउटा त्यस्तो चिज हो जो आफैं अपुरोपनि छ। यसैबाट बुद्धिको क्षितिजमा पुग्ने हो भने यो भन्दा माथि फेरि प्रज्ञाको क्षितिजमा पुग्ने हो। तर यस्तो सिँढीको सोपान पार गर्दै माथि उचाइमा पुग्ने संसारमा कोहीपनि छैनन्। किनकि स्वयम्सँग कति ज्ञान, बुद्धि र प्राज्ञता छ भन्ने कुरा मानिसले जान्नै सकेको छैन।

यस्तो पूर्णताको ज्ञान,बुद्धि र प्राज्ञता प्राप्त नभएसम्म गर्ने कुनैपनि काम र कर्म अपूर्ण नै हुन्छ। यस्तो अपूर्ण ज्ञानको वृत्त भित्र भएका सबै काम अपूर्ण नै ठहरिन्छ। त्यसैले गर्दा संसारमा हजारौं बर्षदेखि एकपछि अर्को सिद्धान्त, एकपछि अर्को प्रविधिको बिकास, एकपछि अर्को बिचार धारा परिबर्तित भई आएका छन्।

बिकसित मानिसको ज्ञानको सफरमा र सफरमा देखे, भोगेका कुराकोमात्र आधार मानी बिभिन्न कुरा र काम कारवाही भइ आएका छन्। मानिसले जे देख्छ त्यही भन्ने हो, जे हेर्छ त्यही गर्ने हो, जे इच्छा छ त्यही गर्ने हो र जहाँसम्म पुग्न सकिन्छ त्यहीं मात्र पुग्ने हो, त्योपनि आफ्नो ज्ञान, बुद्धि र प्राज्ञताको आधारमा।

पूर्णताको कुनैपनि बिचार आफ्नो मनमा र मस्तिष्कमा ल्याउने हो भने सबैभन्दा पहिले आफूले आफैंलाई जान्नु र बुझ्नु पर्दछ। मानिसले “को हुँ म” भन्ने कुरा, मसँग कति शक्ति छ, म कति पूर्णतामा पुग्न सक्छु भन्ने कुराको हिसाब गर्न पर्दछ र आफ्नो सोच बिचार, आकांक्षा र अपेक्षालाई निरन्तर अभ्यास गरीरहनु पर्दछ अनि अन्त्यमा आफूलाई पूर्ण खाली बनाउनु पर्दछ। खालि मन र मष्तिष्कमा नयाँ नयाँ, गहिरा गहिरा र उचाइ उचाइका कुराहरु आमन्त्रित हुँदै जान्छन् र यसले नै मानिसलाई पूर्णतामा पुर्‍याउने काम गर्दछ।

मन र मस्तिष्कलाई सबैभन्दा पहिले शान्त र खाली बनाउन प्रथमत ध्यानको निरन्तर अभ्यास हुनुपर्दछ। ध्यानको निरन्तर अभ्यासले मानिसलाई इच्छा र आकांक्षादेखि टाढा गराउँछ, मायादेखि टाढा गराउँछ, बाहिरी जगतदेखि टाढा गराउँछ जसले मनमा र मस्तिष्कमा भएका सबै नशालु पदार्थलाई बिस्तारै क्षिण गराउँदै लैजान्छ।

मन र शरीर भित्र जबसम्म संघर्षका बिजहरु रही रहन्छन्, तबसम्म मानिस निर्वाणमा पुग्न सक्तैनन् र निर्वाणमा नपुगी मानिस मानव र मानवबाट महामानव बन्न सक्तैन। महामानव नै पूर्णताको शिखर हो, जसलाई हामी ईश्वर वा भगवानको दर्जापनि दिन सक्छौं।

ध्यानलेमानिसलाई कुनैपनि कुराको नाप तौलबाट, तुलनाबाट अलग गराउँछ र मानिसलाई संसारबाट पूर्णरुपले स्वतन्त्र गराउँछ। ध्यान कुनै मन्त्र, जप, पूजा पाठ होइन यो एउटा जीवनको खेल हो कुनै अरु खेल होइन। ध्यानबाट नै समुद्रको गहिराइमा पुग्ने हो भने ध्यानबाट नै आकासको क्षितिजमा पुग्ने हो। अर्को ध्यानले मानिसलाई डर र त्रासदेखि टाढा गराउँछ जसले मानिसको जीवनमा सधैं हरेक काम गर्न बाधा बनिरहेको हुन्छ।

संसारमा जति मानिसहरु महामानव बने ती सबैले ध्यानकै मार्ग लिइ ठूला बने। उदाहरणको लागि माहात्मा गौतम बुद्ध, जैन मुनि,गुरु नानक, सन्त कबिर, लाओत्से, सत्य सिरडी साइ, हिमालयन बाबा आदि। यी महान पुरुषहरुले आफूलाई पूर्णतामा पुर्‍याउन विचारलाई आफ्नो मनमा पटक्क आउँ दिएनन्।

किनकि बिचारले मानिसलाई डर पैदा गर्दछ जसले मानिसलाई अरु बिचारको आमन्त्रण गर्न सक्तैन र, मानिस अपूर्णतामै रही रहन्छ उसका सबै काम अपूर्ण नै साबित हुन्छन। अतः पूर्णतामा रही सबै काम र कर्म गर्नु छ भने पहिले आफूलाई जान र पूर्णतामा लिएर जाने काम गर र हर काम र कर्ममा गहन अध्ययन, विचार र गृहकार्य र अभ्यास र अनुगमन गर।

तब मात्र शून्यता अर्थात पूर्णतामा प्रवेश गर्न सकिन्छ। सबै कुराको मूल जरो भनेको ध्यान नै हो। लगन हो र मौन हो र कर्मप्रतिको प्रतिज्ञा हो। तसर्थ सकेसम्म ज्ञान, बुद्धि र बिबेक कमाउँ र आफूलाई पूर्ण बनाउँ। यही नै मानिसको उद्देश्य हो र बन्नु पर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.