म्युजिकल पार्टीमा लागूऔषध कारोबार, छ विदेशीसहित नौ जना पक्राउ
काठमाडौं। काठमाडौं उपत्यकाको गोदावरीमा एक म्युजिकल पार्टीमा लागुऔषध बारोबार तथा प्रयोग भइरहेको फेलापरेको छ।
विशेष सूचनाका आधारमा जाँच गर्दा लागूऔषध फेला परेपछि छ विदेशीसहित नौ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जनकबहादुर शाहीले दक्षिण एसियाको विभिन्न देशहरूमा आयोजना हुने अन्डरग्राउन्ड म्युजिकल पार्टीमा दक्षिण भारतको इभेन्ट आयोजक र नेपाली नागरिकसमेतको सहभागितामा ललितपुरको गोदावरीस्थित एक रिसोर्टमा ‘महामयमन्त्र इभेन्ट’ नाम राखी ७२ घण्टा निरन्तर सञ्चालन हुने पार्टीमा लागूऔषध कारोबार भइरहेको पाइएको बताए। उक्त पार्टी यही पुस १६ गतेदेखि चलेकामा लागुऔषधसहित नौ जनालाई पक्राउ गरिएको उनले बताए।
पक्राउ पर्ने विदेशी नागरिकमा भारतका २१ वर्षीय केभिन जोसेफ, २६ वर्षका अभिराज कुथाडी, सादिक, अस्विन अन्तु, वैष्णव सजु, ग्रीसका डिमिट्रेयर किटोस रहेका छन्। यस्तै, चितवनको राप्तीका ३० वर्षीय पुष्पराज परियार, मोरङका २५ वर्षीय मनसुन न्यौपाने र काठमाडौँका ४० वर्षीय आदित्य अर्याल पनि पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोली र स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरी उनीहरूको साथबाट लागुऔषध एसएसडी छ थान, गाँजा २२.२४० ग्राम, चरेस ६१ ग्राम, एमडिएमए एक थान र म्याजिक मसरुम चार ग्राम बरामद गरिएको प्रहरीले आज एक सूचना जारी गरी जानकारी दिएको छ।
उनीहरुविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंमा पेस गरिएकामा अदालतले आजै अनुसन्धानका लागि म्याद थप गरेको र अनुसन्धान थालिएको पनि उनले बताए।







डिसी नेपाल








Facebook Comment