ज्ञानभण्डार ज्ञानिका
हालै विमोचन भई बजारमा आएको ज्ञानिका पुस्तक स्रष्टा ददि सापकोटाको छैटौं कृति हो। लेखकले प्रकृति संस्कृति पर्यटनमा भिजेका खारिएका तिखारिएका २१ पात्रहरुको सपना, संघर्ष र संरक्षणका कर्मगाथालाई यो पुस्तकमा समेटेका छन्।
पात्र चयन गर्दा लेखकले विज्ञता, विशेषज्ञता, विविधता र समावेशीतालाई ध्यान दिएका छन्। हरेकका गौरवगाथा पृथक् ओज तेज रङ भाव रस र स्वादका छन्। पात्रहरुको भाषा जति सरल उति मौलिक मीठो र तिख्खर छ। प्रकृतिकेन्द्रीत यो कृतिको आन्तरिक बुनोट विविधतायुक्त, रंगीन, स्वादिलो र ज्योतिर्मय भए जस्तै बाह्य सजावट प्रकृति जस्तै सरल सुन्दर र विशाल छ।
अनुसन्धानमूलक सोध खोज कार्यबाट अभिप्रेरित संघर्षका अनुभव र ज्ञानपुञ्ज भावी पिँढीको लागि संरक्षण चेतनामय खुराक र मार्गनिर्देशन हुन सक्छन्। सबै पात्रहरु प्रकृति पुजारी भएकोले तिनले देखाएको प्रकृतिपथ जीवनपथ सहअस्तित्वपथ आदर्श लाग्छ।यो पुस्तक सिंगाे पाठशाला हो। २१ पृथक श्रोत व्यक्तिहरुको २१ विधाको पाठशाला।
सङ्ग्रहित रचनाहरु वातावरणवाद र पर्यावरण चेतनामा लेखिएका सुन्दर कलात्मक र पर्यावरणीय चेतनाको दृष्टिले चिन्तनप्रदान आत्मपरक अनुभूतिका आत्मकथाहरु हुन्। तिनले संरक्षण भोक तिर्खा र हुट्हुटी जगाइदिन्छन्। पाठकमा उत्साह उमंग उर्जा र ज्ञान भर्दै संरक्षण चेतनाको जलप लगाई दिन्छन्। पुस्तकमा सर्वत्र लगन, सह-अस्तित्व, आशा, प्रेरणा, कुतूहलता र औधी इच्छाशक्ति भेटिन्छ।
अझ महत्वपूर्ण पाठ अनपेक्षित अप्रत्याशित अकल्पनीय चुनौतीको दृश्य र स्वविवेकीय स्वनिर्णबाट ब्यावहारिक समाधान खोज्ने सामर्थ्यताले पाठकहरुको क्रिटिकल थिङकिङ् दायरा फराकिलो पारिदिन्छ। प्रकृति समस्या होइन, सम्भाव्यता, समृद्धि, समाधान र गौरव हो भनेर पाठकमा सकरात्मक सोच, उर्जा, उमंग, देशभक्ति र गौरवभावको छाल ल्याइदिन्छ।
मानवता र करुणा भरिदिन्छ। बाघजस्तो निडर स्वाभिमान र स्वतन्त्र बनाउँछ, अल्छी ठगी भगाउछ र हौसला जोस जाँगर ओतप्रोत सक्रियता नसा-नसामा भरिदिन्छ। सिर्जना, प्रतिभा, आत्मनिर्भरताको ताल्चा खोलिदिन्छ। जंगलमा मंगल भन्ने खुशी र आनन्दको वहार ल्याइदिन्छ। हरेक खतरा (थ्रेट) सँग जुध्न र जित्न सिकाउँछ।
नचिन्नेलाई डराउनेलाई जंगल समस्या हो, काल हो। जान्नेलाई जंगल ध्यानकेन्द्र ज्ञानकेन्द्र स्वास्थ्यलाभ केन्द्र हो। प्रकृति अपार छ। सर्वत्र छ। सवैको साथ-साथमा हात-हातमा श्वास-प्रश्वासमा छ। हरेक नागरिक प्रकृति रक्षक हुन्। वातावरण पहरेदार हुन्।
त्यसैले हरेक नागरिक स्वस्फूर्त आ-आफ्नो ठाउँबाट प्रकृति, स्वधर्ती, संस्कृति रक्षाको लागि जुट्नुपर्छ, होमिनुपर्छ। सगरमाथा, बाघ, गैंडा, डाँफे, अर्ना हेर्ने अधिकार लिनुपर्छ। ज्ञानिकाले पाठहरुलाई प्रकृतिमा हामफाल्न उत्प्रेरित गर्छ।

विज्ञहरु कोही माछाको विर्य र मछलीको डिम्बा निचोरिरहेका हुन्छन्। कोही पात्र गैंडासँग जुधेर लडेर विजयी हुन्छन, असीम आत्मविश्वास बटुल्छन् र आजपनि गैंडा वासस्थानमा उनको दिनचर्या छ। ७ महिनाकी गर्भवती महिला जंगलमा दौडिँदा म गर्भवती छु भन्ने सत्य बिर्सेर संरक्षणमा समर्पित हुन्छिन्।
डा. रमाले पुरुषहरुको अन्तर्मन हल्लाइदिन्छिन्। जंगलमा महिला वरदान र अब्बल भन्ने सावित गर्छिन्। हरितगृह ग्याँस कार्वनडाइअक्साईड्को ५० वर्ष लामो आयु र वायु प्रदूषणको जोखिममा नेपाल तथा हिमतालको जीवन ब्याख्यादेखि लिएर हात्ती तालिमलाई यातना बिनाको पोजेटिभ इन्फोर्समेन्ट मेथडले परम्परागत तरिकालाई विस्थापित गर्ने आशा र उज्वल भविष्यको ज्ञान ज्यादै मननीय छ।
बाँदर बढेको होइन, चितुवा धेरै मारेर प्राकृतिक सन्तुलित चक्र बिगारेको सत्यता देखि जडीबुटी र प्राकृतिक औषधिको खानी नेपालको समृद्ध भविष्यले देखाएको बाटो आशादायी प्रेरणादायी छ।
मान्छे जस्तै विरुवाको जिन्दगानी, प्राण र वंशरक्षामा वनस्पतिको संघर्ष, जडीबुटीमा जुम्ला अब्बल र सुन्दर स्त्रीको खेती भन्ने वनस्पतिविद्को आख्यान रोचक र चित्ताकर्षक छ। ४० हजार पाउण्ड (६५ लाख ने.रु.) को ग्रिन अस्कर अवार्ड विजेताको सालक अध्ययन अनुसन्धान र संरक्षण गौरवगाथाले पाठकलाई पगाल्ने छ। सालक संरक्षणकर्मी बनाउने छ।
विश्व प्रसिद्ध सामुदायिक वन सफलता र महाकाली पारिको चाँदनी-दोधारा रक्षाको वन विश्वको स्वाभिमानी र साहसिक गाथाले नैतिकताको पाठ सिकाउँछ।
गोकर्णमा बाघ, जिप र हात्ती सफारीको कथा सुनेर म चित् खाएँ र आजको कृष्णसारको ब्याड् गोकर्ण रहेछ। पाकिस्तानको बाख्रा सिकारलाई १ लाख ८० हजार डलर र सिकार पर्यटनलाई नेपाल पृथ्वीकै स्वर्ग हुने सम्भाब्यता भएको धनी मुलुकको मार्गचित्र समृद्धिको आधार हुन सक्छ।
साहसिक जोखिमपूर्ण खेल सिकार विधिको शासन भएको कानुनी राज्यमा कति अनुशासित, मर्यादित, संयमित र स्वनियन्त्रित? इमान्दार र नैतिकवान् मिहेनतीहरुको नैतिक खेल। हामी कति अल्छी ठग् अनैतिक र लोभी पापी सिकारी! सुनखानीमा मागि खाने कर्म।
अलस्कामा ६० हजार यु.एस. डलर सिकार शुल्क नतिरी फर्केमा राजा महेन्द्रले त्यो रकमले अरनिको राजमार्ग बनाएर नेपाललाई चीनसँग जोडेको रहस्योद्घाटन सनसनीपूर्ण छ।
वातावरण इन्जिनियर भन्छन्-वायु प्रदूषणले वर्षेनि नेपालमा ४५ हजार १ सयको मृत्यु हुन्छ। १० वर्षे सशस्त्र द्वन्द्वमा १७ हजारको अघि यो संख्या कति ठूलो! हामीले किनेको पेट्रोल डिजेलको डेढ रुपैयाँ प्रदूषण करले १ वर्षको ४ अर्ब उठ्छ। सरसफाइमा खर्च गरे भयो नि। सिक्किमको यम जी (महात्मा गान्धी) रोडमा सवारी निषेध छ।
पर्यटक र ब्यापार चकाचक छ। राजधानीको विश्व सम्पदा काठमाण्डौ भक्तपुर ललितपुर र दरबार स्क्वायरमा सवारी निषेध गर्नै पर्छ र विद्युतीय सवारीमा जानुपर्छ भन्ने सिफारिस अनुकरणीय छ।
ढाका टोपी नछाड्ने प्राङ्गारिक कृषि विज्ञको जैविक खेती मूलमन्त्र नेपाल सुहाउदो छ। १ हजार प्राङ्गारिकउन्मुख किसान बढेर आज १२-१३ हजार पुगेको, अर्गानिक शब्द सेलिब्रेटी भएको र रासायनिक पदार्थ प्रतिबन्ध गाउँको कथाले जैविक कृषिमा रुपान्तरण सम्भव छ भन्ने विज्ञको भविष्यवाणीमा दम छ।

अन्तर्राष्ट्रिय पुरस्कार विजेता बाँदर विज्ञको बाँदरसँग सम्वाद, उसैसँग प्रेम, यौनांगमा बिर्को, जनावरमा जोगी समूह, स्त्रीहरुबीच एकता, बाँदरमा बढी प्रजातन्त्र, बाँदरसँग आँखा नजुधाउनु, आफन्तको मृत्युमा भावपूर्ण सम्वेदना वृतान्त गज्जव छ।
३६ वर्ष संरक्षण क्षेत्रको जीवनमा अवकाशपछि पनि मन मुटु आँखामा तिनै दुर्लभ जीवको झलझली याद आइरहन्छ। चिन्ता छ, र, ती चिफ वार्डेनलाई आजपनि प्रकृतिकै काख-काखमा देख्न सकिन्छ।
अर्को चितवन राष्ट्रिय निकुञ्जको साँधसीमा गर्ने चिफ वार्डेन रामप्रीत यादवको संरक्षण अनुभव, आजीवन संरक्षण अभियान र गौरवगाथा ज्ञानिकाले बोकेको छ। उहाँको आत्ममन्थन जिउदाहरुलाई संरक्षण बुट्टि हो। दुर्भाग्य, पुस्तक विमोचन र विमर्शकालमा उहाँको निधन भयो।
प्रसिद्ध पर्यटनविद्को पर्यटन रोडम्याप सुन्दर र समृद्ध छ। पर्यटन तान्ने मूल धन र चाबी प्रकृति र प्राकृतिक सम्पदा हुन् भन्ने उहाँको दावीले पर्यावरण रक्षा अपरिहार्य छ। प्रकृति र संस्कृतिले हाम्रो पर्यटन भविष्य उज्वल देखाउँछ।
जीवजन्तुको सदुपयोग विहीन जैविक विविधता, निकुञ्ज भित्र अलवेदर रोड बनाउँ र ढड्डी हटाउँ सुझाव पठनीय र मननीय छन्। चरा भनेपछि राष्ट्रपति कार्टर हुरुक्कै, बुद्धले जोगाएको सारस र कृषि समृद्धिलाई विषादी होइन वन्यजन्तु भन्ने विचार दमदार छन्।
नेपाली लोकबाजा र संस्कृतिविद्को अनुभवले पाठकलाई सिरिङ पार्ने छ। प्रकृतिभित्र किन कसरी संस्कृति भन्ने पंक्तिकारको जिज्ञासा यो रोचक अध्याय पढेपछि मेटिएको छ। हरेक बाजा र संगीतको मुहान, श्रोत प्रकृति रहेछ। जस्तो मौरीको संगीत, समुन्द्र नदी झरनाको संगीत। चराको आवाजबाट १२८ ताल विकास भएको रहेछ।
भाषा अघि बाजा र भूगोल अनुसारको गीत संगीत नृत्य। शरीर शुद्ध गर्न बाजा। संगीतबाट टुसाउने प्रेम। शंख चढेर घाटतिर आत्मा। लडाउने सुर्याउने लडाइ जिताउने बाजा। बाजामा सञ्चार। चैतन्य र शक्तिशाली बाजा। बाजाका सुत्र। रुखरुखै चढाइदिने बाजा। सेनाले बिर्सेको बाजा। जात पिच्छेको बाजा। एक नेपाली एक बाजा र असंस्कृति मन्त्रालयको कथाले पुस्तकलाई झन रोचक, सुन्दर र समृद्ध बनाइदिएको छ।
दुर्लभ वन्यजन्तु प्राविधिकहरु विष्णु लामा र हर्कमान लामाका बाघसँग खेलेर हुर्केका बहादुरी कथाहरुले पुस्तकको ओज र तेज बढेको छ। २१ जना विज्ञको ३०-४० वर्षको सेवा, ज्ञान, अनुभव र चिन्तन पोखिएको छ यो पुस्तकमा। त्यसैले फाइनप्रिन्टद्वारा छापिएको २१ गौरवगाथाको ३८६ पृष्ठको यो संरक्षण ज्ञानवर्द्धक पुस्तक रोचक छ।पठनीय छ। संग्रहणीय छ। अझ प्रकृति संरक्षणमा आवद्ध जनशक्ति र संरक्षणकर्मीहरुलाई यो पुस्तक ज्ञान र उर्जाको श्रोत हुन सक्छ।
त्यसैले म ज्ञानिकालाई हरेक निकुञ्ज-आरक्ष र संरक्षण क्षेत्रमा पुर्याउन चाहन्छु उपहारको रुपमा। ता कि हरेक संरक्षणकर्मीले ज्ञानिका भित्रको पाठशाला अध्ययन मनन् आत्मसात् गरेर आफूलाई पनि ज्ञानी र अब्बल बनाउन्।
पुस्तक समीक्षाको अन्त्यमा यो पुस्तकका लेखकको बारेमा संक्षिप्त जानकारी दिनु म आफ्नो धर्म ठान्दछु। किनभने प्रकृतिप्रेमी संरक्षणप्रेमी पुस्तकप्रेमी लेखक स्वयं हार्डकोर संरक्षणकर्मी र प्रेरणाका श्रोत हुन्। अध्ययन अनुसन्धान र जीवजन्तु प्रेमले खारिएका दुर्लभ श्रोत व्यक्ति हुन्।
विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्जको आँगनमा जन्मे हुर्केका लेखकले आफ्नो घर समाजलाई संरक्षण चेतनाको खाँचो बुझेका छन् र समाजप्रतिको दायित्व पूरा गर्न मरिमेटेर लागेका छन्।यही दायित्ववोधले लेखिएका हुन् पन्छी जगत, वनको वैभव र जीवनगाथा पुस्तकहरु। जुन पढ्नै पर्ने रोचक कृतिहरु हुन्।
एकत्वबाट, निजत्वबाट सामूहिकतातर्फको छलाङ हो यो पुस्तक लेखकलाई। निजत्वबाट सामूहिकताको प्रयोगले निडर लेखकीय व्यक्तित्वलाई नयाँ उचाईमा पुर्याएको छ। मबाट हामी भावना प्रवाह गरेर लेखकले आफ्नो अग्रसरता, आत्मीयता, हार्दिकता, उदारता, गतिशीलता र महानताको नयाँ परिचय दिएका छन्।
२१ होनहार पात्रलाई एउटा मञ्चमा सामेल गरेर एउटा मालामा जोडेर त्यो ज्ञानमाला भावी संरक्षणकर्मीलाई पहिरिदिने अथवा अग्रज दिग्गजको ज्ञान अनुभव हस्तान्तरण पुस्तान्तरण गर्ने लेखकको असल मनसाय तारिफयोग्य छ।
धन्य छन्, महान छन् लेखक। उनका २१ गौरवगाथा समान छैनन्, तुलनायोग्य छैनन्। कति राम्रो पात्र चयन। यसरी स्रष्टा २१ पात्र, २१ गौरवगाथाका साझा धुन बनेका छन्। प्रकृति संस्कृति पर्यटन प्रेमको विराट क्यानभास सिंगारेका छन्। त्यही क्यानभास हो उनको ज्ञानिका। २१ नायकका महानायक हुन् लेखक।
आजीवन प्रकृतिमा बाघसँग जुध्ने लड्ने प्राविधिक, पिएचडी डाक्टरहरुले कहिले पुस्तक लेख्न पाउनु भ्याउनु। लेखकका प्रतापले यो पुस्तकमा भुइँ मान्छेहरु उदाएका छन्। अटाएका छन्। यस अर्थमा प्रकृतिमा समर्पित पात्रहरुलाई लेखकले ठूलो न्याय दिएका छन्। सम्मान गरेका छन्।
नेपाली माटोभरी छरिएका पात्रहरु खोज्नु भेट्नु फकाउनु पगार्नु चानचुने कुरा थिएन। क्यामराको केवलकार चढेर लेखक २१ पात्रका हृदयभित्र सयर गर्छन्। भित्र जरासम्म पुग्छन्, ज्ञान बुट्टि फेला पार्छन र त्यसलाई शिल्पी कलमले कुँदेर ज्ञानमाला बनाउँछन्। पात्रलाई पगालेर गोप्य र रहस्यमय कुरा उद्घाटन गर्न लगाउने लेखकको कला अद्वितीय छ। लेखक वातावरणीय विषयलाई गहिरो तथ्यपरक अध्ययन अनुसन्धान गरेर प्रकृतिप्रति सम्वेदनशील र जिम्मेवार भएर सत्यतथ्य बाहिर ल्याउन माहिर छन्।
सुनेको होइन, जुत्ता फटाएर देखेको सत्यलाई नैतिक धरातलमा उभिएर उनी पुस्तक बुन्छन्। उनको सोध खोजको गहराई रारा ताल जस्तो गहिरो छ। त्यसैले उनका रचना र कृति मूल्यवान् हुन्छन्।
प्रकृति र जीवजन्तुको आख्यानीकरण हुन सकेको छैन भनेर उनले अध्ययन र लेखनको विषय प्रकृतिलाई बनाएको बुझ्न सकिन्छ। प्रकृतिका पत्र-पत्र भित्र पुगेर मोति जस्ता पात्र खोज्नु र तिनको ज्ञान अनुभवलाई अभिलेखीकरण गरेर पुनः दूर-दराजको प्रकृति भित्रै पुर्याउने ध्येय राख्नु लेखकको महानता हो। प्रकृतिलाई गुन र ऋण हो।
प्रकृतिप्रेम लेखकको बलियो केन्द्रीय पुँजी हो। उनलाई विश्वप्रसिद्ध इफिल टावरभन्दा राप्ती किनारको काठको मचान धेरै गुना प्यारो र राम्रो लाग्छ। हाल पश्चिमी सभ्यतामा बसोबास गर्ने लेखक जन्मभूमिको प्रकृति र पर्यावरणलाई स्वच्छन्द र स्वर्णीम गन्तव्य मान्छन्।
उपभोक्ताबादी पहिचान र सभ्यताबाट बिदा लिएर लेखक पूर्वीय समृद्ध संस्कृतिमा आउँछन् र प्रकृति पूजा, पुस्तक लेखन प्रकाशनको काममा दत्तचित्त रहन्छन्। यस अर्थमा लेखक तपस्वी हुन र यो कृति उनको तपस्याको बहुमूल्य उपहार हो।
लेखक नेपालका प्राकृतिक र सांस्कृतिक सहचारी हुन्। फ्रान्समा बसेर नेपालको प्रकृति संस्कृति पर्यटनलाई सुक्ष्म अध्ययन विश्लेषण गरी पुस्तक लेखन गर्ने डायस्पोरिक चिन्तकले नेपालको प्राकृतिक र सांस्कृतिक समृद्धिको विश्वभर प्रचारप्रसार गरेका छन्। नेपाल भ्रमणको हुट्हुटी जगाएका छन्। उनी नेपाल हेर्ने युरोपको आँखीझ्याल हुन्।
सफा मनले सफा प्रकृतिलाई चढाएको यो सफा कृतिको लागि लेखकलाई धन्यवाद। लेखकको क्यामरा र कलमको अर्जुनदृष्टि प्रकृतिमाथि रहिरहोस्। अविरल अरु कृतिहरु आइरहून्। यो अनुपम कृतिका सर्जक तथा गुणग्राही लेखकलाई मेरो उच्च सम्मान र सलाम छ।
लेखक संरक्षणकर्मी हुन्
















Facebook Comment