दर्शन

संघर्ष र मुक्तिको मार्ग

शंकरप्रसाद रिजाल
२६ पुष २०८२ ७:३०
48
Shares

हरेक मानिस भित्रको गुप्त संघर्षदेखि लडिरहेका हुन्छन्। कोही आर्थिक कठिनाइमा संघर्ष गरिरहेका हुन्छन् भने कोही नातागोता टुट्न गई संघर्ष गरिरहेका हुन्छन्। त्यस्तै कोही आफ्नो असफलताको पीरले संघर्ष गरिरहेका हुन्छन् भने कोही आफ्नो जीवनको क्यारियरलाई सन्तुलनमा राख्न नसकी गुप्त संघर्ष गरिरहेका हुन्छन्।

संसारमा ठूला ठूला महापुरुष, सन्त ज्ञानीहरु माहान चिन्तक र विचारक,ठूल्ठूला बैज्ञानिक, अन्वेषणबेत्तादेखि धनी,गरीब, उद्योगपति, किसान र अन्य पेशा कर्ममा लागेका जो कोहीपनि यो गुप्त संघर्षबाट अछुतो छैनन्। पेशा र कर्म अनुसार आफूलाई सक्षम बनाउन सधैं संघर्षमा नै रहेका हुन्छन्।

यो आफूसँग भएको संघर्ष अरुलाई व्यक्त गरेमा दया प्राप्ति मात्र हुन्छ। यस्तो दयाले मानिसलाई फेरि कमजोर बनाउँछ र क्षीण गराउँछ। तसर्थ गुप्त कुरा र आफ्नो संघर्ष आफैंसित राखी भित्रभित्रै त्यसलाई ब्यबस्थापन गर्ने कोसिश गर्नु पर्दछ।

संघर्षलाई सफलताको शिखरमा लैजान सबैभन्दा पहिले आफूलाई शून्यतामा लैजाने कोशिश गर्नु पर्दछ। जस्तै जब बहिरहेको हावा टक्क रोकिन्छ, जब बगिरहेको नदीको बहाब टक्क अडिन्छ, जब बितिरहेको समय टक्क अडिन्छ तब मनमा एक शक्ति पैदा हुन्छ।

मौन र शून्यताले मानिसलाई बाहिर शून्य गरेतापनि भित्र जागरण पैदा गराउँछ जुन जागरणले मानिसलाई सहन सक्ने शक्ति र धैर्य रहन सक्ने शक्ति प्रदान गर्दछ। बोली रहने मानिसमा भन्दा मौन रहने मानिसमा सहन शक्ति धेरै हुन्छ, जसले मानिसलाई भित्रभित्रै बलियो बनाउँछ। गुप्त संघर्षबाट छुटकारा पाउन अरुलाई बुझ।

अरुलाई बुझ्न सक्नु नै बुद्धिमान हो भने आफूले आफैंलाई बुझ्न सक्नु प्रबुद्ध बन्नु हो। हामी सोचमा धेरै उचाईमा छौं। तर त्यो उचाईमा पुग्न हरदम आफूले आफैंलाई नै कोशिस गर्नु पर्दछ। नचाहिने कुरामा इच्छा गरी आफूलाई निरन्तर गुप्त संघर्षमा लाग्नु नै अर्थहीन साबित हुन जान्छ।

मनलाई हरेक तरहबाट खाली गर्ने कोसिश गर्नु पर्दछ। भरिएको भाँडो भन्दा खाली भाँडोको अधिक महत्व हुन्छ। विद्वान बन्नलाई हरेक कुरामा आफूलाई जोड्ने हो भने प्रबुद्ध बन्नको लागि हरेक दिन एक एक कुरा छोड्दै जाउ। बिचारमा सकारात्मकता लिएर जाउ, जीवन आफैं उज्यालो बन्दै जान्छ। गुप्त संघर्ष आफैंमा एक रोग हो।

यसबाट पार पाउन आफूसँग भएको संघर्षलाई एकाग्रतामा बदली मौन र धैर्यतामा आफूलाई बदल्ने कोसिश गर्नु पर्दछ। आफ्नो जीवन प्रकृतिको सरलतामा बगाउ, पानी बगे जस्तो गरी बग, एकदिन महासागरमा अवश्य पुगिन्छ। स्वास्थ्य सबैभन्दा प्रमुख सम्पत्ति हो, सन्तोष सबैभन्दा ठूलो खजाना हो, आत्मविश्वास सबैभन्दा ठूलो मित्र हो भने अहंकार हिनता सबैभन्दा ठूलो खुसी हो। अरुलाई बुझ्ने चालाखी हो भने आफूलाई बुझ्ने बुद्धिमान हो।

हरेक इच्छाबाट मुक्त हुने कोसिश गर जसबाट आफू सधैं स्वतन्त्र भएको महशुश गर्न सक्छौ। आफ्नो मनलाई शान्त रुपले सम्हाल्ने कोशिश गर न कि चलाखी र बलले। कुनै चिजलाईपनि महत्व नदेउ र फेरि भएका सबै चिजलाई तिरस्कारपनि नगर। संसारलाई त्यसरी प्रेम गर जसरी आफूले आफूलाई गर्दछौ।

यो अभ्यासलाई निरन्तरता दिँदै जाने हो भने हाम्रा भित्र रहेका संघर्षका फोकाहरु बिस्तारै समन हुँदै जानेछ। संघर्ष बाहिरको अनमेल हो भने आफैं भित्रको एक त्रास हो जसबाट मन सधैं बेचैन भैरहन्छ। यसबाट छुटकारा पाउन आफैंले कोसिश गर्नुपर्दछ।

आफ्नो बल नै आफूलाई कुनैपनि काम गर्न सक्षम रहन्छ। तर यसमा निरन्तरता र लगनसिलताको अत्यन्त आवश्यकता पर्दछ। संसार संघर्ष संघर्षको पुलिन्दा हो। जीवन बाचुन्जेल अनेक दुःख र संघर्षको सामना गर्नु पर्दछ। आफूले अरुलाई सुखी र संघर्षहीन देखिनेमात्र हो।

उदाहरणको लागि एक पटक एउटा कागले ऐनमा आफ्नो अनुहार हेरे छ। साह्रै कालो देखेपछि दिक्क भएर एक तलाउमा गएर पानीमा आरामसँग खेलीरहेको सेतो हाँससँग दुःख पोख्दै हाँसको सेतोपना र अरामसँग पानीमा सललल बगिरहेकोदेखि हाँसको आनन्दको खुसी साट्दा हाँस भन्छः सफेद छु तर सबैको म तारो छु र अर्को पानीको भित्र कति गहिराई छ त्यो देखेर डर मानी डराई डराई बगिरहेछु भन्दै सबैभन्दा आनन्दसँगै रहेको जंगलमा बस्ने मुजुरलाई कुनै दुःख र संघर्ष छैन होला भनी ती दुवै काग र हाँस मुजुरकहाँ सोध्न गएछन्।

तर मुजुरलेपनि “म के सुखी छु र यही पखेटाले गर्दा मेरो सौन्दर्य पनि छ तर यसैमा मेरो कालपनि रहेको छ। जुन बेला मेरो यो पखेटा फिँजिन्छ, त्यतिबेला सिकारी आएर मलाइ मारिदिन्छ’ भनी आफ्नो जीवनको संघर्षको पाटो सुनाउँदा ती दुवै काग र हाँसले संसारमा संघर्षबिना बाँचेका कोही छौनन् भन्ने निष्कर्ष र निर्णय निकाली धैर्य र मौन रहन्छन्’ भने संसार एक दुःख र संघर्षको भारी हो।

दुःखको संघर्षपनि आउँछ भने यो निरन्तर चलिनै रहन्छ र बाचुन्जेल सफरमा त्यत्तिकै आउँदै रहन्छन। यो प्राकृतिक नियम नै हो। यसबाट पार पाउन अत्यन्त धैर्यवान, शिलवान, नैतिकवान हुनु पर्दछ। संघर्षको घोडा आफूले चढ्ने हो न कि संघर्षले आफूलाई चढ्ने। तसर्थ आफ्नो गुप्त संघर्ष कसैलाई नभन। आफैं सल्टाउने कोशिश गर्नु नै मानिसको प्रबुद्ध हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.