घतानको वडा कार्यालय जोड्ने सडक कालोपत्र
म्याग्दी। बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक कालोपत्र भएको छ ।
पक्की सडक निर्माण भएपछि यात्राअवधि छोटिनुका साथै जीर्ण सडकमा जोखिम मोलेर सकसपूर्ण यात्रा गर्नुपर्ने समस्या हटेको छ । पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–पाखापानी सडक योजनामार्फत बेनी नगरपालिका–९ भुतादैलादेखि नेप्टेचौर खण्डमा कालोपत्र भएको हो ।
दुई किलोमिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गर्ने काम सम्पन्न भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले बताए। कालोपत्र भएको सडकमा रङ लगाएर डिलतर्फ बार राख्ने र ट्राफिक सङ्केत चिह्नहरू राख्ने काम भइरहेको उनले बताए। गत मङ्सिर दोस्रो सातादेखि कालोपत्र गर्न थालिएको थियो ।
बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार २०५६ सालमा तत्कालीन जिल्ला विकास समितिले मार्ग खोलेको यो सडक २७ वर्षपछि कालोपत्र भएको हो । नेप्टेचौरका बासिन्दा फौदबहादुर चोखालले धुलो र हिलोबाट मुक्ति मिल्नुका साथै यात्रा अवधि छोटिएको, दुर्घटनाको जोखिम घटेको, झञ्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए।
यसअघि नेप्टेचौरदेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा अहिले १५ मिनेटमा यात्राअवधि छोटिएको उनले बताए। सडक कालोपत्र भएपछि सार्वजनिक यातायात र ढुवानीको भाडा समायोजनका लागि नगरपालिकासँग उनले आग्रह गरे। बेनीदेखि भुतादैलासम्म करिब पाँच किलोमिटर सडक बेनी नगरपालिका र प्रदेश सरकारले यसअघि नै कालोपत्र र ढलान गरेका थिए ।
बेनी–पाखापानी सडक निर्माणका लागि २०८१ साल जेठमा पूर्वाधार विकास कार्यालय र मङ्गलादेवी–सुवास कन्ट्रक्सनबीच रु १० करोड १६ लाख एक हजार ३६४ मा ठेक्का सम्झौता भएको थियो । चालु आवसम्म ठेक्काको म्याद रहेको यस योजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।
तीन दशमलव पाँच मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ । यसै आयोजनाअन्तर्गत नेप्टेचौर–तोरीपानी खण्डमा सडक फराकिलो पार्ने काम सकेर पर्खाल, नाली निर्माण, ढलान भइरहेको र ग्राभेलको तयारी गरेको निर्माण कम्पनीका सञ्चालक सुभाषचन्द्र कार्कीले बताए।
निर्धारित समयभित्रनै योजना सम्पन्न गर्ने बताउँदै उनले बजेट अभावका कारण समस्या भएको गुनासो गरे । उक्त योजनाका लागि प्रदेश सरकारले आव २०८०÷८१ मा रु चार करोड बजेट विनियोजन र रु २० करोडको स्रोत सुनिश्चितता गरेको थियो ।
बेनी नगरपालिका–९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नं वडालाई बेनीबजारसँग जोड्ने बेनी–पाखापानी सडकलाई म्याग्दीको प्राथमिकताप्राप्त आयोजना घोषणा गरिएको म्याग्दी १ ९१० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए । निर्माणाधीन योजनाका लागि रकमान्तर गराएर थप बजेट ब्यवस्था मिलाउनुका साथै तोरीपानीदेखि पात्लेखेत र झिँ हुँदै पाखापानीतर्फ पनि स्तरोन्नतिका लागि थप बजेटको व्यवस्थाका लागि प्रदेश सरकारमा पहल गरिएको उनले बताए।
म्याग्दीको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखापानी सडक जिल्लाको रणनीतिक योजना मानिएको छ ।
पाखापानी–ठाडाखानी हुँदै धवलागिरिको भेडिखाल्डा, मल्कवाङ, मराङ, बिम, दरवाङ जोडिन्छ । म्याग्दी–राहुघाट चक्रपथको अवधारणाअनुसार बिम–मराङ–मल्कवाङ खण्डमा प्रदेश सरकारले चालु आवदेखि नयाँ योजना सुुरु गर्ने तयारी गरेको छ ।







डिसी नेपाल








Facebook Comment