लघुकथा : एकता दिवस

172
Shares

स्रष्टाहरूले प्रज्ञा भवनमा तस्बिरमा माल्यारोपण गरेर पृथ्वी जयन्ती मनाउँने सल्लाह गरे। सबैजनाले निर्धारित समयमै उपस्थिति जनाए । कोहीले पुष्पगुच्छा त कोहीले माला साथमै लिएर आएका छन् । छुट्टै उमङ्ग छ, सबैका अनुहार उज्याला छन्।

उद्घोषकले कार्यक्रमको तहबह मिलाए अनि सुरु गरे । माहोल शान्त छ। अतिथिको आसन ग्रहण गराए, राष्ट्रिय गान पनि आज गर्वले गुञ्जिएको छ । शुभकामना मन्तव्यमा पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको बारेमा चर्चा भयो। उनको योगदान र संघर्षका बारे सबैले खुलेर बोले।

उपस्थित सबै मन्त्रमुग्ध बनेर सुनेका छन्। मन्तव्य सुन्दा अनुहारमा राष्ट्रप्रेम स्पष्ट झल्किएको देखिन्छ। इतिहास, वीर विराङ्गनाका वीरगाथाले सबैको ध्यान खिँचेको छ।

औपचारिक कार्यक्रम सकियो। एकले उत्सुकता भरिएको नजर जुधाउँदै सोध्यो, “सानो बलले आर्जेको मुलुक होइन रछ, हाम्रा पुर्खामा कति जोस है ! बरू मर्न तयार भए तर कहिल्यै पराधीन भएनन् । आत्मसम्मान कति प्यारो हगि !” उसले आफ्नो कुतुहलता मेटायो।

अर्कोले गर्वका साथ छाती चौडा गर्दै बोल्यो, “होत बाइसी, चौबिसी राज्य एकै ठाउँमा गाँभेर विशाल नेपालको परिकल्पना त्यसै साकार भएको होला त ? शत्रुका सामु नझुकी डटेर लडेका थिए रत स्वतन्त्र भयो अनि धर्म, कला संस्कृति र सभ्यतामा अगाडि, आहा !” उसले इतिहास कोट्यायो ।

एकले गम्भीर हुँदै भन्यो, ” व्यक्तिगत स्वार्थ भन्दा माथि राष्ट्रका बारेमा सोचेका थिए । आइमाई, केटाकेटीमा पनि देशप्रतिको माया अगाध भएर त लडेका थिए तर अहिलेका मान्छे हेर सानो लालचमा पनि आफ्नो इमान बेच्न पछि पर्दैनन् ।” उसले लामो सास तान्दै आश्चर्य एवम् उपेक्षा मिश्रित स्वरमा बोल्यो

अर्कोले विनयशील भएर उसको भावमुहार नियाल्दै बोल्यो, ” भाइ फुटे गवाँर लुटे भनेझै अहिले देशको रिमेट विदेशीमा छ, एकताको अर्थ बुझ्न इतिहासको पाना पल्टाउँनै पर्ने भो ?” ऊ खुइय गर्‍याे।

लघुकथा : आत्मविश्वास

फाल्गुन एक्काइसमा के होला ?

खोई केही भन्न सकिँदैन, मान्छेहरूको विचार बुझ्दा विकेन्द्रित छन्। कोही कता त कोही कता समर्थन बेग्लाबेग्लै छ। घरछिमेक मात्रै होर एउटै परिवारमा पनि मत फरक छ । इतिहास बदल्छ जस्तो छ, यसपालीको चुनावले। राम्रा मान्छे छानीछानी हाम्रोको नारामा गुञ्जयमान भएको छ। हेरौं, यो दौडमा कल्ले बाजी मार्ला। यसै भन्न सकिन्न।

आगोको छेउमा बसेर ताप लिँदै गहन भएर परिस्थिति नियाल्दै थिए । पहिलोले विरक्तिएको स्वरमा भन्यो, “जति मत गने पनि नतिजा अर्कैको पोल्टा पर्न बेर छैन । नारा एउटा लगाउँछन् भित्र समर्थन अरूकै रहन्छ ।” उसले खुइय गर्यो ।

दोस्रोले हास्यास्पद लवजमा बोल्यो, “कल्ले जितेर के गरेछ खै ? मान्छेका समस्या जिउँका तिउँ छन्। नजितिउन्जेल फुटानी लाउँछन तर जितेसी उहीँ पुरानै पारा दोहोरिन्छ। जनता आजित भएका छन्।” उसले व्यङ्ग्य कस्यो।

पहिलोले अनुहारमा बनावटी मुस्कान ल्याउँदै, “कस्ले के गर्न सक्छ ? सिष्टमअनुसार जाँदा सबैको साथ सहयोग भएमा बल्ल विकास हुने हो । एउटाले मात्र गर्छु भनेर कहाँ हुन्छ, किन बुझ्दैनन् कुन्नी ?” ऊ किच्च हाँस्यो।

फेरि फत्फताउँदै, ” खाली नेताले गरेनन् भनेर मात्रै हुदैन क्या । माथिबाट आएको बजेट सही ठाउँ सही तरिकाले सदुपयोग गरे पो हुने हो । सब ठिक छ मात्र भन्ने भित्री सतही समस्या अवगत नगराउँने, तहकिकात छैन अनि मौकामा कसुर नेताकै ठहरिन्छ ।” उसले समसामयिक परिवेश दर्सायो।

दोस्रोले, “बाह्र वर्ष रामायण पढायो सीता कस्की जोई भन्दा रावणकी भनेझै भएछ राजनीति ? जुन जोगी आए नि कानै चिरेको ।” उसले खिन्नता व्यक्त गर्यो

दुबैका कुरा सुनिरहेको तेस्रो कड्किएर बोल्यो, “जतिपनि देशमा युगान्तकारी परिवर्तन भएका छन् ती पुरानैबाट, त्यसै कहाँ हार्छ, हिङ नभएनि हिङ बाँधेको टालो हो, केटा हो ।” ऊ आत्मविश्वासले बोल्यो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.