कविता : अँध्यारोमा बालिएको दियो

डा. शरद परासर मरहट्टा
११ माघ २०८२ १४:१६

सनसनीपूर्ण मौसमी समाचारका लहरहरूले

मनलाई तर्साउँदै गर्दा,

पर-परबाट हुन्हुनिँदै आइरहने सिरेटोहरूले

पटक-पटक झस्काउँदै गर्दा,

अपराह्नपछिको गोधूलीले

भर्खर हात हल्लाएको बेला,

बढ्दै गएको अँध्यारोले

मस्तिष्कलाई अत्याएको बेला,

कर्तव्यको निरन्तरता ठान्दै

प्रतिरोधको आरम्भ मान्दै

आजको यो अँध्यारोमा

गर्नै पर्ने एउटा लडाइँ

मैले थालेको छु।

 

प्रिय खुशी,

तिम्रै प्रतीक्षामा

मैले साँझको दियो

भर्खर बालेको छु।

 

मौसम बिग्रिएको यो क्षणमा

अनायासको हिउँदे वर्षाले,

सडकहरू चिप्लिँदै गएको यो बेलामा,

छेउछाउमा थुप्रिएका बरफका टुक्राहरू

बाक्लिँदै गएको यो समयमा

तिमी

आफूले आफैँलाई

सम्हाल्दै-सम्हालिँदै,

धिपधिपे मधुरो प्रकाशलाई

पछ्याउँदै-पछ्याउँदै,

मिरमिरेलाई कुर्दै गरेको

गन्तव्यसम्म आऊ।

 

कृष्णपक्षको यो रातमा

बत्ती नबालिएको सडक हुँदै

गतिमा यति मिसाउदैं

कविताका हरफहरू जस्तै

बग्दै-बग्दै आऊ,

साना-ठूला अप्ठेराहरू

झेल्दै-झेल्दै आऊ।

 

मध्यरात नपुग्दै,

सँगसँगै मिलेर

पानसको दियोमा तेल थपौँला,

भोलिको उज्यालोका लागि

बत्ती कातौंला।

 

केही सुन्दै, केही सुनाउँदै

दोश्रो विश्वयुद्धका यहुदीहरूले

मध्य युरोपमा भोगेको जस्तो

औँसीको यो रात

हामीसँगै काटौँला।

 

पूर्वी आकासतिर

हेर्दै-हेर्दै,

उज्यालोको आभालाई

कुर्दै-कुर्दै

रातलाई साथ बाँडौँला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.