स्वास्थ्य बीमाको दुरुपयोग नगर्न सबै सेवाग्राही तथा सेवा प्रदायकलाई बोर्डको आग्रह

डिसी नेपाल
१३ माघ २०८२ १८:४०
56
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको दुरुपयोग नगरी जिम्मेवार उपयोग गर्न सबै सेवाग्राही तथा सेवा प्रदायकलाई आग्रह गरेको छ।

मंगलबार बोर्डले विज्ञप्ती जारी गर्दै बीमा सेवाको दुरुपयोग नगर्न र अनावश्यक परीक्षणहरुका लागि चिकित्सक÷स्वास्थ्यकर्मीहरुलाई दबाब नदिन आग्रह गरेको हो।

विज्ञप्तीमा लेखिएको छ, ‘सामाजिक ऐक्यबद्धता सिद्धान्त अनुरुप सञ्चालन गरिएको यस स्वास्थ्य बीमामार्फत वित्तीय व्यवस्थापन गरी आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ बोर्डले अधिकतम प्रयास गरिरहेको अवस्थामा ‘स्वास्थ्य बीमाको सही सदुपयोग गरौं’ भन्ने सन्देश सहित समस्त सेवाग्राहीहरूले स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्नुहुन, बीमा सेवाको दुरुपयोग नगर्नुहुन र अनावश्यक परीक्षणहरुका लागि चिकित्सक/स्वास्थ्यकर्मीहरुलाई दबाब नदिनुहुनु अनुरोध गर्दछौं। साथै सेवा प्रदायकहरुले पनि औचित्यका आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण तथा उपचार प्रचलित कानुन तथा बोर्डले निर्माण गरेका निर्देशिका, कार्यविधि तथा परिपत्रको कार्यान्वयन गरी स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन अनुरोध गर्दछौं।’

सीमित स्रोतसाधन र केही संरचनागत चुनौतीका बाबजुद पनि हाल दैनिक करिब ५० हजार नागरिकले स्वास्थ्य बीमा मार्फत सेवा लिइरहेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार हाल स्वास्थ्य बीमा सेवा लिनु पर्दा असहजता देखिएका वा अस्थायी रूपमा सेवा अवरुद्ध भएका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पुनः सञ्चालनमा ल्याउन बोर्डले निरन्तर पहल तथा छलफल भइरहेको छ।

स्वास्थ्य बीमाका कारण दैनिक औसत करिब ८ करोड रुपैयाँ बराबरको स्वास्थ्य खर्च नागरिकको निजी खर्चबाट जोगिन सफल भएको बोर्डले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *