प्रजातान्त्रिक योद्धा राईको शालिक अनावरण
टक्सार (भोजपुर) । प्रजातान्त्रिक योद्धा दिवानसिंह राईको शालिक अनावरण गरिएको छ । नेपाली कांग्रेस भोजपुरको बिपी स्मृति भवन परिसरमा स्थापना गरिएको उक्त शालिकको आज दिवानसिंहकी छोरी एवं पूर्वसभासद कुमारी लक्ष्मी राईले अनावरण गरेका हुन्।
भोजपुरको तत्कालिन छिनामखु गाविसमा १९८१ सालमा जन्मिएका दिवानसिंह २०१५ सालमा बिपी कोइरालाको प्रधानमन्त्रीत्वमा बनेको सरकारमा गृहराज्यमन्त्री समेत भएका थिए।
मुलुकमा पञ्चायती व्यवस्था सुरु भएसँगै उहाँ २०१७ पुस १ गतेपछि निरन्तर आठ वर्ष बिपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र तथा योगेन्द्रमान शेरचनहरूसँगै सुन्दरीजल जेलमा बसेका थिए।
जेलपश्चात् उनी शिक्षा र सामाजिक अभियानसँगै राजनीतिक आन्दोलनमा सक्रिय हुनुभएको छोरी कुमारी लक्ष्मीले बताइन्। राई साहित्यकार समेत हुन्। उनका ‘निर्दोष हत्या’ र ‘रिकुटे’लगायत कृति प्रकाशित छन्। प्रजातान्त्रिक आन्दोलनका योद्धा राईको २०२९ भदौ २ गते कुमकुम झोडामा हत्या गरिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment