काठमाडौंमा फोटो भ्वाइस प्रदर्शनी
काठमाडौं । ‘नेपालमा महिला र युवासँग सहभागितामूलक कार्य अनुसन्धान : लैंगिक उत्पीडनका बहुआयामलाई सम्बोधन’ भन्ने भावका साथ काठमाडौंमा फोटो भ्वाइस प्रदर्शनी गरिएको छ।
कला परिषद्मा आयोजित प्रदर्शनीमा काठमाडौं र सिन्धुपाल्चोकका ६१ जना महिला तथा युवाले खिचेका तस्बिर राखिएका छन्। यस अनुसन्धानको मुख्य अन्वेषकका रुपमा क्यानडाको ब्रिटिस कोलम्बिया प्रदेशमा रहेको फ्रेजर भ्याली विश्वविद्यालयकी सह-प्राध्यापक तथा निर्देशक डा. गीताञ्जली गिल रहेकी छन्। यस परियोजनामा नेपालका तर्फबाट अनुसन्धान कर्ताका रुपमा द्वारिका थेपे र शिखा सुनुवार रहेका छन्।
सामाजिक सेवा र मानव अधिकारमा महिला युवा (उइसर) र आदिवासी महिला उत्थानसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। प्रदर्शनीमा राखिएका तस्बिरमा सीमान्तकृत गरिएका र शोषणको जोखिममा परेका महिला तथा युवाहरूको दृष्टिकोण र अनुभूति समेटिएको छ। दृश्यमा घरेलु यौनकर्मी, वैदेशिक रोजगार गरी फर्केका र मानव बेचविखन पीडितका अनुभूतिलाई पनि प्रस्तुत गर्न खोजिएको छ।
शुक्रबार फोटो प्रदर्शनी स्थलमै फोटो भ्वाइस के हो र यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा एउटा सेसन पनि सञ्चालन गरिएको थियो। उइसरका कार्यक्रम निर्देशक विजय लामाले सहजीकरण गरेको कार्यक्रममा बक्ताका रुपमा रेड एन्ड मुभमेन्टबाट कृष्मा पन्त, एडल्ट डिटरमेन्ट सेक्टरमा कार्यरत शान्ति गुरुङ र एजिवीटीआइ कम्युनिटीलाई प्रतिनिधित्व गर्ने मौनी महर्जन रहेका थिए।
उनीहरूले आफ्ना जीवनका अनुभूति साट्नुका साथै काम गर्दा युवा-युवती र आफूहरूले भोगेका समस्याबारे प्रकाश पारेका थिए। मौनीले आफूहरूले समाजबाट फरक व्यवहार पाइरहेको र त्यसले मानसिक समस्या बढेको बताउँदै समतामूलक व्यवहार गर्न आग्रह गरेकी थिइन्।
‘हामीलाई समाजमा खुला हुन गाह्रो छ। खुलिसकेपछि पनि ठूलो मानसिक समस्या खेप्नुपर्छ। हामी पनि समाजमा केही गर्न चाहन्छौं। हामी यही समाजका अंग हौं। हामीलाई सरकारले रोजगारी देवस्। हामी पनि अरु सरह काम गर्न चाहन्छौं,’ उनले भनिन्।
यस्तै शान्ति गुरुङले दोहोरीमा काम गर्ने युवती र एकल महिलाको पीडा सुनाएकी थिइन्। उनले आफूहरूले काम गर्ने स्थानमा दुर्व्यवहार खेप्ने गरेको, साहुँ र ग्राहकबाट ठूलो दुर्व्यवहार तथा हिंसा हुने गरेको बताएकी थिइन्। उनले पनि काम गरेर बाच्ने आधार सिर्जना गरिदिन आग्रह गरेकी थिइन्।
यस्तै कृष्मा पन्तले सामाजिक समस्यालाई सामान्य रुपमा नलिन आग्रह गरेकी थिइन्। उनले युवा/युवतीमा बढ्दो भेप प्रयोगबारे कार्यक्रममा चर्चा गरेकी थिइन्।
यस्तै बरिष्ठ स्वयंसेवक माधव लोहनीले आर्ट काउन्सिल ग्यालरीमा प्रस्तुत चित्रहरूबारे संक्षिप्तमा प्रकाश पारेका थिए। उनले ती तस्बिहरू सामाजिक समस्याको विम्बका रुपमा रहेको बताएका थिए। कार्यक्रममा संस्थाकी कोषाध्यक्ष जुनु न्यौपानेले शब्दमा भन्न नसकिने विचार एक तस्बिरका माध्यमले सशक्त रुपमा भन्न सकिने बताएकी थिइन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment