इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक
काठमाडौं। इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक युट्यूब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो।
इसेवाको मूल ब्रान्ड नारा “सबै, सधैं, सँगै” मा आधारित यस गीतले आपसी साथ, भरोसा र एकताको भावनालाई उजागर गरेको छ। साथै, यस गीतले परिवर्तन र चुनौतीका बीच पनि एकअर्काको साथमा उभिने सन्देश बोकेको छ।
गीतमा एकअर्कालाई साथ दिँदाको मौन शक्ति र सामूहिक एकतालाई उत्सवका रूपमा प्रस्तुत गरिएको छ । आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने मूल उद्देश्यसहित भुक्तानीसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको इसेवाले ‘सबैलाई समेट्ने, सधैं साथ दिने र सँगै अघि बढ्ने’ मूल मान्यता बनाएको छ। इसेवाको ब्रान्ड गीतमा पनि सोही भावना व्यक्त गरिएको छ।
विप्लव प्रतीकको शब्दमा रहेको यस गीतमा मनोज कुमार केसीले संगीत भरेका छन् । त्यस्तै, गीतमा नेपालका ९ जना चर्चित गायक गायिकाहरू सुबानी मोक्तान, शीतल मोक्तान, प्रजिना, रोहित जोन क्षेत्री, प्रिजोल नेपाली, रिना गिरी, सुशान्त घिमिरे र प्रवेश कुमार श्रेष्ठले स्वर दिएका छन्। यसै गरी, गीतमा प्रिन्स नेपालीको सारङ्गी वादन रहेको छ।
यो गीत कठिन समयदेखि परिवर्तनको यात्रासम्म एकअर्कालाई साथ दिँदै अघि बढ्ने विश्वासको प्रतिनिधित्व हो। यो गीत, साथ र सहकार्यको शक्तिमा विश्वास गर्ने सबैका लागि समर्पित गरिएको इसेवाले जनाएको छ। यो गीत सहज समयमा मात्र नभई अनिश्चित र चुनौतीपूर्ण क्षणहरूमा पनि एकअर्कालाई सधैँ साथ दिने भावनाको कथा हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment