दोलखा भीमेश्वर : दर्शनार्थीको घुइँचो, अव्यवस्थाको चाङ

डिसी नेपाल
८ वैशाख २०८३ ८:२७

रामेछाप । ऐतिहासिक धार्मिक तीर्थस्थल दोलखाको भीमेश्वर मन्दिरमा दर्शनार्थीहरुको चाप बढेको भए पनि व्यवस्थापकीय पक्ष कमजोर हुँदा अव्यवस्थाको चाङ थुप्रिएको छ ।

दोलखाको सदरमुकाम चरिकोट नजिकै ऐतिहासिक दोलखाका बजारमा रहेको भीमेश्वर मन्दिरलाई दोलखा भीमसेन भनेर पनि पुकार्ने गरिन्छ । देश भरका मात्र नभएर छिमेकी मुलुकभरबाट समेत दर्शनार्थी आउने यो ऐतिहासिक मन्दिर क्षेत्रमा दैनिक सयौँ दर्शनार्थीहरु आउने गर्दछन् । दर्शनार्थीले मन्दिरमा भेटी पनि राम्रै चढाउँछन् । तर मन्दिर व्यवस्थापनले भेटी सङ्कलन बाहेक अरू काम गरेको देखिँदैन ।
मन्दिर परिसरमा न त दर्शनार्थीका जुत्ता चप्पल राख्ने कुनै ठाउँको व्यवस्था छ, न खानेपानी, प्राथमिक स्वास्थ्य उपचार लगायतको प्रबन्ध नै छ । मन्दिर परिसरमा पर्याप्त शौचालयको समेत व्यवस्था छैन । मन्दिरको पछाडिपट्टि एउटा सार्वजनिक शौचालय छ, जो अधिकांश दर्शनार्थीहरुले देख्दा पनि देख्दैनन् ।

मन्दिर क्षेत्रमा पर्याप्त विश्रामस्थल समेत छैन । जसले गर्दा दर्शन गर्न जाने दर्शनार्थीहरु घण्टौँ उभिएर बस्नु पर्ने अवस्था छ । मन्दिरमा दर्शन गर्न मन्दिर व्यवस्थापनको तर्फबाट लाइनको समेत राम्रो प्रबन्ध भएको देखिँदैन जसले गर्दा मन्दिरमा दर्शन गर्नेको भिड र ठेलाठेलले दुर्घटनाको जोखिम समेत बढेको छ ।

दोलखा भीमसेनलाई पूर्वाभास दिने देवताको रूपमा चिनिन्छ । देशमा सङ्कट पर्न लाग्दा दोलखा भीमसेनको सिलामा पसिना आउँछ भन्ने भनाइ छ । यसरी पसिना आउँदा राज्यकै तर्फबाट क्षमा पूजा गर्ने प्रचलन रहँदै आएको छ ।

त्रिभुज आकारको अमूर्त कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पुजिन्छ । यो एक शिला तीन अवतार मानिएको छ । यहाँ महादेव, नारायण र भैरवको फरक फरक समयमा फरक फरक पूजा हुने गर्दछ ।
यो भीमेश्वर मन्दिरमा भीमसेनको मूर्ति कहिले कसले स्थापना गरेको हो यकिन गर्ने आधार प्रमाण भने भेटिएको छैन । वडा दसैँमा पूजा सङ्कल्प गर्दा किरातकालीन देखिएका राजा महाराजाहरूको नाम लिने चलन छ । महाभारतको युद्ध पछि नै भीमसेनको मूर्ति स्थापना गरिएको अनुमान गरिन्छ ।

पाँच पाण्डवहरू गुप्तवास जाने बेलामा यही भीमसेन मन्दिरको केही पूर्व तर्फको चामपूजा भन्ने डाँडामा बसी गौरीशंकरको प्रार्थना गरेका थिए भन्ने भनाई छ । कालान्तरमा भरियाहरूले भात पकाउनको लागि चम्का खोजी ल्याई यही त्रिभुजमा जोडी चुलो बनाएकामा भात पकाउँदा पटक पटक घोप्टिएकोले चम्कोलाई पन्युँले हिर्काउँदा दाहिने तर्फ चोइटा गई दूध र रगत मिश्रित तरल पदार्थ बगेको देखि १२ जना भरियाहरू डराई साक्षात् भगवान् रहेछन् भनी माफी मागी पूजा गरी गरेका र त्यस पछि पूजा गर्ने परम्परा बसेको कहावत छ ।

भीमसेनलाई व्यापारीहरूले इष्टदेवको रूपमा पूजा गर्दछन् । त्यसैले यो मन्दिरमा सर्वसाधारणको साथै व्यापारीहरू बढी पुग्ने गर्दछन् ।
आर्थिक रूपले सम्पन्न, भक्तजनहरूको घुइँचो र सर्वसाधारणको आस्थाको केन्द्र भए पनि मन्दिर क्षेत्रको व्यवस्थापनको काम भने निक्कै कमजोर देखिएको छ । यसमा मन्दिर व्यवस्थापन समिति र राज्यको ध्यान जान आवश्यक देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *