सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । सोमबारदेखि कार्यालयबाट सेवा सञ्चालन गरिएको छ ।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले एक समारोहकाबिच इलाका प्रशासन कार्यालय तथा नागरिक सेवाको उद्घाटन गरेका हुन् । लामो समयको प्रतीक्षापछि रास्कोटवासीले घर नजिकै प्रशासनिक सेवा पाउने भएका छन् ।

इलाका प्रशासन कार्यालय सञ्चालनसँगै कालिकोटका चार स्थानीय तहका नागरिकले एक दिनको यात्रामा सदरमुकाम आएर नेपाली नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने सास्ती अन्त्य भएको छ । इलाका प्रशासनबाट रास्कोट नगरपालिका, सान्नि त्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका नागरिकलाई सेवा लिन सहज हुनेछ ।

इलाका प्रशासन कार्यालयबाट सेवा शुभारम्भ गर्दै कर्णालीका पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले संघीयताको मर्म अनुसार रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको बताए । आफूले चुनावको बेला गरेको प्रतिबद्धता अनुरूप इलाका प्रशासन कार्यालय स्थापनाका लागि लागेको उनको भनाई छ ।

‘२०७९ सालको चुनावी घोषणापत्रमा हामीले रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रतिबद्धता गरेका थियौ’ उनले भने, ‘त्यही प्रतिबद्धता पूरा गर्न हामी अहोरात्र खट्यौ । अरू दलहरू र स्थानीय सरकारले सहयोग गरे पछि इलाका प्रशासन स्थापना गर्न सफल भयौँ ।’

जनतालाई सहज सेवामा पहुँच पुर्याउनु संघीयताको मर्म भएको भन्दै उनले संघीय व्यवस्थामा मात्र जनताले घरदैलोमा सहज सेवा पाउने बताए । पछिल्ला दिनमा संघीयता जोगाउनु चुनौती भएको भन्दै यो व्यवस्था जोगाउन सबै दलहरू एकजुट हुनु पर्ने आवश्यकता उनले औँल्याए ।

‘संघीयता जोगाउन सके मात्र जनतालाई सहज सेवा, पूर्वाधार विकास र सामाजिक न्यायका काम गर्न सकिन्छ’ उनले भने, ‘त्यसैले संघीय व्यवस्था कायम राख्दै बाँकी उपलब्धि हासिल गर्नु पर्छ ।’

कालिकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले संघीयता र समावेशिताको अवधारणा अनुरूप रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गरी नागरिकलाई सहज सेवा प्रवाहको सुरुवात भएको बताए ।

‘नागरिकको घरदैलोमा सेवा पु¥याउन सरकार लागिरहेको छ’ उनले भने, ‘राहदानी घरदैलोमै पुगाउने कामको थालनी भएको छ, अब राष्ट्रिय परिचय पत्र कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा छलफल भईरहेको छ ।’

रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सबै राजनीतिक दल र चार वटै स्थानीय तहको भूमिका रहेको भन्दै उनले त्यसको प्रशंसा गरे । हाल इलाका प्रशासन कार्यालयमा ६ जना जनशक्तिबाट सेवा प्रवाह गरिने उनले जानकारी दिए ।
शाखा अधिकृत कार्यालय प्रमुख रहने र नायब सुब्बा २ जना, कार्यालय सहयोग २ जना र एक जना सहायक कम्युटर अपरेटरको दरबन्दी रहेको उनले जानकारी दिए । रास्कोटमा इलाका प्रशासन संचालन भएपछि चार पालिकाका ५० हजार बासिन्दालाई सहज हुने छ ।

स्थानीयवासी खुसी

कालिकोटको पचालझरना गाउँपालिका–४ कि सलिना सेजुवालले पहिलो पटक रास्कोट इलाका प्रशासन कार्यालयबाट नागरिकताको प्रमाण पत्र लिइन् । नागरिकता लिएपछि घर नजिकै नागरिकता लिन पाउँदा खुसी लागेको बताइन् । एक घण्टाको यात्रापछि रास्कोट पुगेर नागरिकता प्रमाणपत्र प्राप्त गरेकी सलिनाले इलाका प्रशासन कार्यालयको स्थापनाले आफूजस्तै धेरैलाई सहज हुने बताइन् ।

‘मान्म जानु परेको भए धेरै दिन लाग्थ्यो । होटेलमा बस्नु पथ्र्यो’ उनले भनिन्, ‘घर नजिकै नागरिकता लिन पाउँदा खुसी लागेको छ । यसले समय र खर्च जोगिएको छ ।’

रास्कोट नगरपालिका–५ का ८२ वर्षीय सर्जन रोकायाले सोमबार नागरिकताको प्रतिलिपि रास्कोटबाटै लिए पछि खुसी व्यक्त गरे । एक वर्ष अगाडि हराएको आफ्नो नागरिकताको प्रतिलिपि लिन टाढा भएकोले सदरमुकाम नगएको उनले बताए । ‘एक वर्ष अघि नागरिकता हरायो’ उनले भने, ‘मान्म गएर प्रतिलिपि लिन समय र खर्च दुवै लाग्ने भए पछि बुढेसकालमा झन्झट मानेको थिएँ । घर नजिकै भए पछि पहिलो दिनमै लिएँ ।’

रास्कोटमा इकाका प्रशासन कार्यालय स्थापना भई सेवा शुभारम्भ भए पछि सलिना र सर्जन जस्तै रास्कोट नगरपालिका, शान्नित्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका नागरिकलाई सहज सेवा लिन सजिलो भएको छ । चार स्थानीय तहका नागरिकले तत्काल नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको सेवा इलाका प्रशासन कार्यालयबाट लिन पाउने भएका छन् ।