विवश बाबुको लेखाइ मलाई मनपर्छ
बाबु ज्ञानेन्द्र विवशसँग मेरो चिनापर्ची भएको २५-३० वर्षभन्दा बढी भयो होला। बेलाबखत हुने विभिन्न कलाप्रदर्शनीहरूमा कलाकारहरूसँगै उहाँसँगको भेटघाटबाहेक अरू समयमा भेट कमै हुन्थ्यो। थोरै भेटमा पनि उहाँसँगको आत्मीयपन निकै सम्झनायोग्य रहन्थ्यो।
उहाँ स्वयं कलाकार र कलासमीक्षकको नाताले पनि अरूसँग भन्दा पनि मेरो उहाँसँगको राम्रै सम्बन्ध भइरहेको छ र अहिले पनि त्यो सम्बन्ध छँदै छ। उहाँ मेरो घर चाबहिल, मैंजुबहालमा पनि पटक-पटक आउनुभएको छ। केही वर्षअघि म अचानक अस्वस्थ भएर अस्पतालमा भर्ना नै हुनु परेको थियो। तर डाक्टर र औषधि साथै परिवारको रेखदेखले मलाई राम्रो भयो।
यसैबीच केही स्वस्थ भएर घरमा आराम गरिरहँदा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य र प्राज्ञहरूसहित विवश बाबु पनि मेरो घरसम्म आएर मेरो स्वास्थ्य लाभको कामना गर्नुभयो।
यसले मेरो आत्मबल बढ्यो। यसभन्दा अघि र पछि पनि उहाँ मेरो बारेमा र मेरो नयाँ तथा पुराना कलासिर्जनाका बारेमा बुझ्नलाई आइरहनुहुन्छ। मेरो बारेमा उहाँले प्रशस्त लेख्नुभएको छ।
यतिबेला म उहाँसँगको भेटको सन्दर्भ सम्झन्छु वरिष्ठ कलाकार लैनसिंह बाङ्देलको निधन भएको समाचारले मलाई नमीठो लागेको थियो। अन्तिम समयमा भेट्न उहाँको निवास सानेपामा म पनि पुगेको थिए। २०५९ सालमा मलाई लाग्छ त्यहीबेला मैले ज्ञानेन्द्र बाबुलाई प्रथम भेटेको हो।
आज म ८८ वर्ष पुगेर ८९ वर्ष लागेँ तर पनि मैले आफ्नो देशका हराएर गइरहेका इतिहास संस्कृति तथा जनजीवनको स्वरूप अरूको लागि पनि एउटै कलाकारले यस्तो कलाकृति र तयार पार्नु सम्भव थिएन र छैन पनि !
त्यसमा बाबु ज्ञानेन्द्र विवशले मेरो धेरैजसो प्रदर्शनीमा आएर मेरा ती सिर्जनाहरूको बारेमा मेरा चित्र सिर्जनाको बारेमा मेरा चित्रहरू सहितको विश्लेषणात्मक लेखहरू लेखेर मलाई जनता सामु परिचय गराउनुभएको छ।
यौटा कलाकारका लागि यो निकै खुसीको कुरा हो। साथै यसले आफूलाई पनि प्रोत्साहित पार्दोरहेछ। यस्तो कुरा चिनेकाहरूले पनि थाहा पाएर भन्दा र, नचिनेकाहरूले समेत भनिदिँदा झन् आनन्द लाग्दोरहेछ। यो मानिसको स्वभाव नै हो।
उहाँले धेरै पुस्तकहरू लेखेर कलाकारहरूको परिचय गराउनुभएको छ। यो हामी सबै कलाकारका लागि ठूलो गुन उहाँले लगाउनुभएको छ। नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित कला र अग्रज कलाकारहरूको फोटो र कलाकारहरूको जीवन सङ्घर्षको कथाहरू मार्मिक ढंगले आफ्नो लेखन मार्फत उहाँले प्रकाशित गर्नुभएको छ।
ज्ञानेन्द्र बाबुले लेखेका किताबहरूमा ‘साँखुको सम्पदा र वास्तुकला’, ‘आकृतिको आवाज’, ‘प्रसिद्ध अग्रज कलाकार’, ‘प्रतिनिधि नेपाली कलाकार’ कला र कलाबारे लेखिएका यी किताब तथा ‘सुन्दरीचोक’ र ‘अर्धकदको अवसान’ निबन्ध संग्रह मैले पढेको छु।
यी पुस्तकहरूमा मैले इतिहास र संस्कृतिका कुराहरू खोज्छु। त्यसमध्ये ‘साँखुको सम्पदा र वास्तुकला’ तथा ‘सुन्दरीचोक’ पढेर मैले चित्र बनाउने विषयको पनि त्यसमा उहाँको लेखन शैलीको अलग्गै विशेषता झल्किन्छ। उहाँ कलाकार मात्र नभएर संवेदनशील हृदयको लेखक हुनुहुन्छ।
त्यति मात्र होइन उहाँलाई मैले भन्नुपर्दा एउटा संवेदनशील लेखक र कलाकार ठान्छु। उहाँ धेरै नै प्रकृतिप्रेमी पनि हुनुहुन्छ। नेपालका हिमालमा पनि पर्यटक जस्तै भएर ‘एभरेस्ट बेस क्याम्प’ र त्यस्तै अरू धेरै ठाउँहरूको पदयात्रा गर्नुभएको छ। आफूले पुगेर फर्किएपछि उहाँ चुपचाप बस्नु हुन्न। पुगेका ठाउँहरूको वर्णन गरी लेखहरू लेख्नुहुन्छ। ती लेखहरू पढ्दा दृश्यहरू आँखामै आउँछन्।
उहाँको हिमालयको सुन्दरताको साथै खोलानालाको बारेमा अति भावुक हुनुको साथै मार्मिक ढंगले लेख लेखेको हुन्छ। ती लेखहरू पढेपछि म आफू नै त्यहाँ पुगेको जस्तैभव हुन्छ। त्यसपछि म उहाँलाई फोन गरिरहन्छु- ‘लौ बाबु आज मैले तपाईंको लेख पढेँ। कति राम्रो लेख्नुभएको ती दृश्यहरू मेरा आँखामै झलझली आए आफैँ पुगेजस्तै मलाई भयो।’ भन्छु।
यहाँ म डा. हर्क गुरुङले भनेको एउटा मेरो मन छोएको कुरा राख्न चाहन्छु- ‘कलाकारहरू हिमाल चढ्दैनन् हिमाल चढ्नेहरू चित्र बनाउँदैनन्।’ यस्तोमा ज्ञानेन्द्र बाबु भने कलाकार र लेखक भएको हुँदा हिमाल, पहाड पनि चढ्ने साथै लेख्ने पनि गर्नुहुन्छ। त्यसले गर्दा ‘सुनमा सुगन्ध’ भएजस्तै मलाई लाग्छ।
यसरी बहुमुखी प्रतिभाका धनी बाबु ज्ञानेन्द्र विवशप्रति मैले जानेको, बुझेको, मैले उहाँलाई चिनेको आधारमा यो मेरो हृदयदेखिको शब्द हो। म उहाँको अझै अरू पुस्तक लेखन र स्वर्गभूमि नेपालको बारेमा उहाँले वर्णन गरेका कृतिहरू लेखरचनाहरू आइरहुन् भन्ने कामना गर्छु। र, ती अमर हुन् भन्ने शुभकामनाका साथ विश्राम लिन्छु।
मैजुबहाल, चाबहिल















Facebook Comment