६८ करोड ९४ लाख बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ।
बुधबार पर्वतको साविक कटुवाचौपारी–४ स्थायी ठेगाना भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–९ बस्ने ४३ वर्षीय विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा दायर गरिएको हो।
विभागका अनुसार अनुसन्धानका क्रममा उनीहरूले ठूलो परिमाणमा विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको देखिएको विभागले जनाएको छ। सोही आधारमा काठमाडौं जिल्ला अदालतमा दायर गरिएको मुद्दामा प्रारम्भिक रूपमा ६२ करोड ६५ लाखभन्दा बढी रुपैयाँ बिगो कायम गरिएको थियो।
तर विस्तृत अनुसन्धानपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन, २०६४ बमोजिम थप मूल्यांकन गर्दै विकल पौडेलतर्फ ६१ करोड १३ लाखभन्दा बढी र एलिना बस्नेततर्फ ७ करोड ८१ लाखभन्दा बढी बिगो कायम गरिएको छ। कुल बिगो ६८ करोड ९४ लाख रुपैयाँभन्दा बढी पुगेको विभागले जनाएको छ।
विभागले उनीहरूमाथि बिगोको दोब्बर जरिवाना, कैद सजाय तथा अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्न मागदाबी समेत गरेको छ।
अभियोग पत्र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत २०८३ वैशाख १६ गते काठमाडौं जिल्ला अदालतमा दायर गरिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment