झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

डिसी नेपाल
५ साउन २०८३ २१:३९

भद्रपुर (झापा)। नेपालको प्रमुख धान उत्पादन जिल्लामध्ये एक झापामा हालसम्म ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार साउन ४ गतेसम्म जिल्लामा कूल ७७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको हो।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार गत वर्षको यही अवधिको तुलनामा यसवर्ष करिब ११ प्रतिशत बढी क्षेत्रमा धान रोपाइँ भएको छ। सुरुमा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि असारको दोस्रो सातादेखि निरन्तर वर्षा भएपछि किसान धमाधम रोपाइँमा जुटेका छन्।

“सुरुमा वर्षा नहुँदा रोपाइँ केही ढिलो भएको थियो। असारको दोस्रो सातादेखि निरन्तर वर्षा भएपछि अहिले जिल्लाभरि तीव्र रूपमा रोपाइँ भइरहेको छ। गतवर्षको तुलनामा यसवर्ष करिब ११ प्रतिशत बढी क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ”, प्रमुख विष्टले बताए।

उनका अनुसार हाल जिल्लाको गौरीगञ्ज क्षेत्रमा रोपाइँ तीव्र गतिमा भइरहेको छ। साउनको अन्त्यसम्म जिल्लाका अधिकांश खेतमा धान रोपाइँ सम्पन्न हुनेछ। झापामा प्रत्येक वर्ष करिब ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *