भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

डिसी नेपाल
२५ वैशाख २०८३ १४:४८

सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेका ज्यादती बन्द गर्न सरकारलाई आग्रह गरेका छन्।

वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले जनतालाई कानुन कार्यान्वयनको नाममा नागरिकलाई आतंकित बनाउने गतिविधि बन्द हुनुपर्ने बताएका हुन्।

उनले लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित र आश्वस्त महसुस गर्न पाउनुपर्ने भए पनि पछिल्लो समय सुकुम्बासी व्यवस्थापनको नाममा नागरिक उकुसमुकुसको अवस्थामा पुगेको टिप्पणी गरे।

उनले वास्तविक अवस्था अध्ययन नगरी सुकुम्बासी बस्ती खाली गराउने कार्यले सर्वसाधारण त्रसित बनेको बताए। ’लोकतन्त्रमा जनताको आवाज दबाउने प्रयास हुनु हुँदैन,’ उनले भने, ’जनताले सुरक्षित महसुस गर्नुपर्ने हो, तर अहिले उनीहरू भय र अन्योलमा छन्।’

मुख्यमन्त्री कँडेलले भूमिहीन तथा सुकुम्बासीको समस्या क्रमशः समाधान हुने प्रकृतिको भएको उल्लेख गर्दै दीर्घकालीन र व्यवहारिक समाधान खोज्नुपर्ने धारणा राखे।

उनले झण्डै दुई तिहाई बहुमत सरकारले सरकारी जग्गा संरक्षण अभियान अघि बढाइरहेका बेला मानवीय पक्षलाई प्राथमिकतामा राख्नु पर्ने बताए । रास्वपाले आफ्नो वाचापत्र कर्णालीबाट सार्वजनिक गरेको स्मरण गराउँदै मुख्यमन्त्री कडेलले आगामी बजेटमा यसअघि प्रदेश सरकारले संघीय सरकारसमक्ष राख्दै आएका योजना र प्राथमिकतालाई समेट्न आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *