मौनताको शक्ति र सौन्दर्य: आत्मिक शान्ति र प्रभावकारी नेतृत्वको आधार

बंशीकुमार शर्मा
३१ वैशाख २०८३ १३:२९

नेपाली जनमानसमा एउटा निकै सान्दर्भिक र प्रचलित उखान छ- “धेरै बोल्नेको सुद्धि हुँदैन र धेरै खानेको बुद्धि हुँदैन।” यो उखानले मानव जीवनको एउटा कटु सत्यलाई उजागर गर्छ।

धेरै बोल्ने मानिसले कहिलेकाहीँ आफूले बोलेको कुराको गहिराइ र अर्थ आफैँले बुझ्न सकिरहेको हुँदैन, जसका कारण उसका शब्दहरू अर्थहीन बन्न पुग्छन्।

पूर्वीय दर्शनमा मौनतालाई केवल नबोल्नुको अवस्था मात्र मानिएको छैन; बरु यसलाई आत्मज्ञान, गहिरो साधना र आध्यात्मिक उन्नतिका लागि एक शक्तिशाली मार्गका रूपमा लिइएको छ।

मौनताभित्र एउटा यस्तो अद्भुत आध्यात्मिक ऊर्जा लुकेको हुन्छ, जसले मानिसको बाह्य र आन्तरिक जगतलाई जोड्ने काम गर्छ। जब मानिस मौन रहन्छ, तब उसको शरीर र मनमा एक विशेष प्रकारको चेतना जागृत हुन्छ।

यो चेतनाले मनभित्र रहेका नकारात्मक विचार, विकार र कोलाहललाई हटाउन मद्दत गर्छ। यही कारणले गर्दा प्राचीन कालदेखि नै ऋषि–महर्षिहरूले ध्यान, जप र गहन साधनाका लागि मौनतालाई पहिलो सर्तका रूपमा अपनाउँदै आएका थिए।

पूर्वीय चिन्तनमा मौनता आत्म-साक्षात्कारको सबैभन्दा सशक्त माध्यम हो। यो स्वयंलाई बुझ्ने र चिन्ने मार्ग पनि हो। धेरै बोल्ने व्यक्तिको तुलनामा कम बोल्ने वा मौन बस्ने व्यक्तिको वाणीमा सत्यता, ओज र प्रभाव बढी हुन्छ भन्ने अटुट विश्वास छ।

मौनताको आफ्नै प्रकारको महानता छ। कसैको रिस वा गल्तीमा प्रतिशोध लिनुको साटो मौन रहन सक्नु एउटा ठूलो सामर्थ्य र महानता हो। यसले मनलाई शान्त बनाउँछ र मानवीय चेतनालाई गहिरो स्तरमा पुर्‍याउँछ। यद्यपि, मौनताको अर्थ सधैँ चुप लाग्नु मात्र भने होइन।

अन्याय, अत्याचार वा गलत कार्य देख्दा मौन रहनुलाई कायरता मानिन्छ। धर्मशास्त्रहरूले पनि आवश्यक परेको समयमा सत्यको पक्षमा नबोली मौन रहनुलाई पापका रूपमा व्याख्या गरेका छन्।

त्यसैले, मौनताको वास्तविक अर्थ सही समयमा सही शब्द बोल्न जान्नु र अनावश्यक समयमा शब्दको अपव्यय नगर्नु हो। राजनीतिको क्षेत्रमा प्रायः ओजस्वी भाषण र प्रखर वक्तृत्वलाई नै शक्तिको मापन मानिँदै आइएको छ।

तर राजनीतिक इतिहासलाई फर्केर हेर्ने हो भने शब्दभन्दा बढी मौनतालाई महत्त्व दिएर सफल भएका शासकहरू पनि प्रशस्त भेटिन्छन्। उनीहरूले आफ्नो शान्त स्वभाव, गहिरो चिन्तन र कम बोलाइमार्फत राज्य सञ्चालनमा अमिट छाप छोडेका छन्।

उनीहरूको मौनता कमजोरीको प्रतीक नभई उच्च आत्मविश्वास र आत्मसंयमको परिचायक थियो। यस्ता शासकहरू पर्दा पछाडि बसेर गम्भीर योजनाहरू बनाउन र त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्न रुचाउँथे।

मौन शासकको आगामी कदम अनुमान गर्न कठिन हुने भएकाले यसले विपक्षीहरूमा एक प्रकारको भय र कौतुहलता पैदा गर्दथ्यो। उनीहरू भाषणभन्दा बढी परिणामलाई प्राथमिकता दिन्थे र उनीहरूको वास्तविक शक्ति आवाजको तीव्रतामा नभई विचारको स्पष्टता र कार्यको दृढतामा झल्किन्थ्यो।

यस सन्दर्भमा चीनको आधुनिक आर्थिक रूपान्तरणका संवाहक देङ सियाओपिङको उदाहरण सान्दर्भिक हुन्छ। उनले भनेका थिए- “बिरालो कालो होस् वा सेतो, त्यसले मुसा समात्नुपर्छ।”

यसको मर्म भनेको विचारधाराको चर्को बहसभन्दा ठोस परिणाम र काम बढी महत्त्वपूर्ण हुन्छ भन्ने हो। नेपाली राजनीति पनि लामो समयदेखि विभिन्न विचारधारा र ‘वाद’ हरूको बहसमा अल्झिएको देखिन्छ। राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र हुँदै हामी गणतन्त्रसम्म आइपुगेका छौँ।

तर कुनै पनि व्यवस्था केवल साधन मात्र हुन्, साध्य होइनन्। जनताको वास्तविक चाहना त सुशासन, आर्थिक विकास र जीवनस्तरमा आउने सकारात्मक परिवर्तन मात्र हो। नागरिकका लागि भाषणको मिठासभन्दा सेवा प्रवाहको प्रभावकारिता र कामको ठोस नतिजा महत्त्वपूर्ण हुन्छ।

जबसम्म राज्यका संयन्त्रहरू परिणाममुखी हुँदैनन्, तबसम्म समृद्धिको मार्ग कठिन नै रहन्छ। धेरै बोल्ने र ठूला आश्वासन दिने शासकहरू सबै सफल भएका छैनन्। बरु, शासकको मौनताले कहिलेकाहीँ कार्यप्रतिको दृढता र आत्मविश्वास झल्काउँछ।

मानिसहरू अब कुराभन्दा पनि कामको खोजीमा छन्। मौनता केवल उदासीको भाषा होइन। मानिस अत्यन्तै ठूलो खुसीको क्षणमा पनि मौन रहन सक्छ। संसारमा धेरै मानिस बोल्न रुचाउँछन्, तर केही यस्ता व्यक्तिहरू पनि हुन्छन् जो चुपचाप काम गर्न मन पराउँछन्।

मनमा रिस, डाह वा ईर्ष्या नराखी मौन रूपमा आफ्नो कर्ममा तल्लीन हुने मानिसहरू नै सफलताको शिखरमा पुग्ने गर्छन्। विभिन्न विद्वानहरूले मौनताका बारेमा आफ्ना गहन धारणाहरू प्रस्तुत गरेका छन्।

महात्मा गान्धी भन्थे- “मौनता सर्वोत्तम भाषण हो। यदि बोल्नै परे कमभन्दा कम बोल। एक शब्दले काम चल्छ भने दुई शब्द नबोल।” पञ्चतन्त्रमा लेखिएको छ- “वाचालता विनाशक छ, मौनतामा बढी गुण छ।” त्यसैगरी, विश्वविख्यात साहित्यकार विलियम शेक्सपियरले भनेका छन्- “जहाँ नदी गहिरो हुन्छ, त्यहाँ जलप्रवाह शान्त र गम्भीर हुन्छ।”

मौनताको भाषा बोलीको भाषाभन्दा धेरै बलवान हुन्छ। आवाज सीमित हुन्छ, तर मौनता अनन्त र असीमित छ। शब्दहरू कहिलेकाहीँ थाक्न सक्छन्, तर मौनता एउटा अथक यात्रा जस्तै निरन्तर चलिरहन्छ।

यो केवल आध्यात्मिक वा दार्शनिक विषय मात्र नभई साहित्य, कला, प्रेम र प्रकृतिको गहिरो सौन्दर्य पनि हो। केही दिनसम्म नबोली बस्दा मानिसले आफ्नै मनभित्र उठ्ने तरंग, पीडा, शान्ति र चेतनालाई स्पष्टसँग अनुभव गर्न सक्छ।

साँचो चिन्तनको जन्म मौनताबाटै हुन्छ। प्रेमको भाषा पनि मौनता नै हो; कहिलेकाहीँ दुई प्रेमीबीच शब्दको आवश्यकता पर्दैन, आँखाले नै सबै संवाद गरिरहेका हुन्छन्। यद्यपि, कहिलेकाहीँ मौनता पीडादायी पनि बन्न सक्छ।

अन्याय सहेर बस्नुपर्दा, मनको व्यथा व्यक्त गर्न नसक्दा वा कसैले आफ्नो भावना नबुझिदिँदा मौनता असह्य हुन सक्छ। त्यसैले मौनताको सही अर्थ र सही प्रयोग बुझ्नु निकै महत्त्वपूर्ण हुन्छ। वास्तवमा मौनता एउटा गहिरो चेतना हो।

यो केवल नबोल्नु मात्र होइन, बरु आफूलाई सुन्ने र बुझ्ने क्षमता हो। जब मानिस साँच्चै मौन हुन्छ, तब उसले आफ्नै आत्मासँग संवाद गर्न थाल्छ। त्यही मौनताभित्र अनुभूतिको उज्यालो लुकेको हुन्छ। अन्तमा, जसरी गहिरो नदी शान्त र गम्भीर भएर बग्छ, त्यसरी नै मौनता पनि प्रकाशमय र अनुभूतिले भरिएको हुन्छ।

जीवनको कोलाहल, तनाव र अस्थिरताका बीच कहिलेकाहीँ मौनताको शरण लिनु अपरिहार्य हुन्छ। त्यही मौनताभित्रै हामीले वास्तविक आत्म-प्रकाश, आन्तरिक शान्ति र सत्य अनुभूतिको उज्यालो फेला पार्न सक्छौँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *