संसद्‌मा नीति तथा कार्यक्रममाथि छलफल जारी : ३५ वटा संशोधन प्रस्ताव दर्ता

डिसी नेपाल
३१ वैशाख २०८३ १२:२५

काठमाडौं। हिजोको गतिरोध र तनावपूर्ण वातावरणका बीच आजदेखि प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल औपचारिक रूपमा प्रारम्भ भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज सांसदहरूले आ-आफ्नो धारणा राख्न सुरु गरेका हुन्।

बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रममाथि कुल ३५ वटा संशोधनका सूचना प्राप्त भएको जानकारी दिए। छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरूले सरकारको आगामी कार्यदिशामाथि प्रश्न र सुझावहरू राखिरहेका छन्।

सोही क्रममा सभामुख अर्यालले सांसदहरूलाई नियमावलीको पूर्ण पालना गर्न र बोल्ने क्रममा असंसदीय शब्दहरूको प्रयोग नगर्न विशेष आग्रह गरे।

सभामुखले नियमावलीको नियम २१ को खण्ड (घ) उद्धृत गर्दै अशिष्ट, अश्लील, अपमानजनक र सार्वजनिक शिष्टाचार प्रतिकूल हुने गरी नबोल्न सचेत गराए। “कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा असर पर्ने गरी बोल्न पाइने छैन, यसमा सबै माननीय सदस्यहरू संवेदनशील भइदिनुहोला,” उनले भने।

बैठकमा सभामुख अर्यालले यसअघिको बैठकमा प्रयोग भएका केही अमर्यादित शब्दहरू संसद्को रेकर्ड (अभिलेख) बाट हटाउन सचिवालयलाई निर्देशन दिए।

यही वैशाख २९ गतेको बैठकमा सांसद गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गरेको ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो गरी’ भन्ने वाक्यांशहरू हटाउन निर्देशन दिइएको हो। विपक्षी दलहरूले ती शब्दप्रति कडा आपत्ति जनाउँदै हटाउन माग गरेपछि सभामुखले यस्तो निर्णय लिएका हुन्।

हिजो संसद्‌मा देखिएको अवरोध र चर्काचर्कीपछि आजको बैठकलाई मर्यादित बनाउन सभामुखले अनुशासन र संसदीय मर्यादामा विशेष जोड दिएका छन्। अहिले नीति तथा कार्यक्रममाथिको छलफल जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *