शिक्षण सुधारका लागि काठमाडौं महानगरको सक्रियता: एकै वर्षमा १४ सयभन्दा बढी शिक्षकलाई विशेष तालिम
काठमाडौं। काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा १ हजार ४६६ जना शिक्षकहरूलाई विभिन्न विधामा व्यावसायिक तालिम प्रदान गरेको छ।
शिक्षा अधिकारी नमराज ढकालका अनुसार सबै शिक्षकहरूलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने नीति अनुरूप व्यवस्थित तालिका र सान्दर्भिक विषयहरू छनोट गरेर यो कार्यक्रम सञ्चालन गरिएको हो। महानगरले शिक्षकहरूको सीप र ज्ञानलाई आधुनिक शिक्षण पद्धतिसँग जोड्न यस वर्ष विभिन्न चरणमा तालिमहरू आयोजना गरेको थियो।
महानगरपालिकाको तथ्यांक अनुसार, बाल विकास सहजकर्ता (इसीडी) तालिममा १२४ जना, मनोवैज्ञानिक तथा मनोसामाजिक परामर्श सम्बन्धी तालिममा १३४ जना र नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ जना तथा संस्थागत विद्यालयतर्फ ११६ जना शिक्षकहरू सहभागी भएका छन्।
यी विधाहरूमा महानगरले क्रमशः १२८, १४०, १७२ र १२० जना शिक्षकलाई तालिम दिने लक्ष्य राखेको थियो। यसैगरी, प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिँदै सूचना तथा प्रविधि सम्बन्धी तालिममा ३८५ जना शिक्षकहरूलाई प्रशिक्षित गरिएको छ।
यसका साथै, एकीकृत पाठ्यक्रम कार्यान्वयन, मूल्यांकन र विषयगत प्रश्नपत्र निर्माण सम्बन्धी तालिममा ४६० जना शिक्षकहरूको सहभागिता रहेको थियो।
प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्मका विद्यार्थीहरूको अपाङ्गता पहिचान गर्ने विशेष सीपका लागि ८३ जना शिक्षक सहभागी भएका थिए, जुन महानगरको शतप्रतिशत लक्ष्य हासिल भएको विधा हो।
शिक्षकहरूको क्षमता विकास गरी उनीहरूले सिकेको ज्ञान, सीप र आचरणलाई कक्षाकोठासम्म प्रभावकारी रूपमा प्रदर्शन गराउन प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम अगाडि बढाइएको हो। शिक्षा अधिकारी ढकालले यस किसिमको क्षमता विकासले अन्ततः सामुदायिक शिक्षाको जगलाई बलियो बनाउने र विद्यार्थीहरूको सिकाइ उपलब्धिमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।







डिसी नेपाल







Facebook Comment