पत्रकारिता पेसालाई सुरक्षित बनाउन ‘ज्येष्ठ पत्रकार पेन्सन कोष’ स्थापना

डिसी नेपाल
२ जेठ २०८३ २०:१४

खोटाङ। नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङले ‘ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’ स्थापना गरेको छ। पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउने उद्देश्यसहित पत्रकार महासङ्घ खोटाङले ज्येष्ठ पत्रकार पेन्सन कोष स्थापना गरेको हो।

ज्येष्ठ पत्रकारहरूको हित संरक्षण, आत्मसम्मान अभिवृद्धि, सामाजिक सुरक्षा सुनिश्चितता तथा उनीहरूको अनुभव, योगदान र समपर्णको उच्च कदर गर्न जिल्लामा ‘ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’ स्थापना गरिएको नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका अध्यक्ष हरिबोल आचार्यले जानकारी दिए।

“पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउन ज्येष्ठ पत्रकार पेन्सन कोष स्थापना गरिएको छ। यसका लागि सुरुमा नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बैङ्कमा रु १० लाख जम्मा गर्ने योजना बनाएका छौँ”, उनले भने, “कोषबाट ६५ वर्ष पूरा गरेका पत्रकारलाई हरेक महिना मासिक रु तीन हजारका दरले पेन्सन प्रदान गर्छौं। जुन व्यक्ति २५ वर्षदेखि निरन्तर जिल्लामै रहेर पत्रकारिता पेसामा आबद्ध भएको हुनुपर्नेछ।”

ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको मातहतमा रहनेगरी छुट्टै कोष स्थापना गरिएको छ। पत्रकारहरूको आर्थिक तथा सामाजिक सुरक्षामा सहयोग पुर्‍याउन ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष स्थापना गर्ने निर्णय गरिएको सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिए।

पेन्सन कोषबाट प्रधान सम्पादक, सम्पादक, संवाददाता, समाचार वाचक, फोटो पत्रकार, व्यङ्ग्ये चित्रकार लगायतले सुविधा लिनसक्ने कार्यविधिमा उल्लेख गरिएको छ। पेन्सन कोषको सुविधा लिने ज्येष्ठ पत्रकार कुनै राजनीतिक दल वा अन्य पेसागत संस्थाको कार्यकारी पदमा नरहेको हुनुपर्ने पत्रकार महासङ्घले जनाएको छ।

सूचना तथा प्रशारण विभाग वा प्रेस काउन्सिल नेपालको कालोसूचीमा नपरेको तथा नैतिक पतन देखिने फौजदारी अपराधमा अदालतबाट दोषी ठहर भएको व्यक्तिलाई समेत सुविधा उपलब्ध नगराइने पत्रकार महासङ्घले बनाएको कार्यविधिमा उल्लेख छ।

पत्रकार महासङ्घले स्थापना गरेको पेन्सन कोषले पत्रकारिता पेसामा लामो समयदेखि योगदान दिएका पत्रकारहरूको सम्मान तथा संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको निवर्तमान अध्यक्ष दिलीप खत्रीले बताएका छन्।

पेन्सन कोषलाई थप व्यवस्थित गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै विभिन्न दातृ निकाय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाको सहयोग लिइने पत्रकार महासङ्घले जनाएको छ। विसं २०६१ सालमा स्थापना भएको नेपाल पत्रकार महासङ्घ खोटाङ शाखामा हाल ३१ जना साधारण सदस्य रहेका छन्।

पत्रकार महासङ्घ खोटाङ शाखाको आफ्नै कार्यालय भवन निर्माणको कामसमेत गत चैतबाट सुरु गरिएको छ। कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको रु तीन करोड बजेटमा साढे दुईतले पक्की कार्यालय भवन निर्माणको काम सुरु गरिएको हो।

मोहन एन्ड बेँसीगाउँ–रूपाकोट–सरस्वती जेभी खोटाङले ठेक्का प्रणालीमार्फत निर्माण सुरु गरेको पत्रकार महासङ्घ खोटाङको भवन २०८४ साल पुस २३ गतेभित्र भवन निर्माणको काम सम्पन्न गर्नुपर्नेछ।

पत्रकार महासङ्घ खोटाङ शाखाको आफ्नै कार्यालय भवन नहुँदा अहिले दिक्तेल बजारस्थित भवनगैरामा व्यक्तिको घर भाडामा लिएर साँघुरो कोठाबाट कार्यसञ्चालन गर्दै आएको छ।

पत्रकार महासङ्घ खोटाङका लागि कृषिविज्ञ मदन राईले दिक्तेलस्थित किरातचोक नजिकै आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ। साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईले विसं २०६३ निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा यसअघि निर्माण गरिएको ढुङ्गा/माटोको कच्ची भवन उपयोगविहीन भएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *