लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु

डिसी नेपाल
२ जेठ २०८३ २१:४७

सिरहा। यहाँको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये अझै चार हजार २०१ विपन्न दलित तथा मुसहर परिवारको आफ्नै शौचालय छैन। यिनै परिवारलाई समेटेर लहान नगरपालिकालाई खुला दिशामुक्त र पूर्ण सरसफाइयुक्त बनाउन नगरपालिकाले विशेष रणनीतिसहित अभियान सुरु गरेको छ।

आज यहाँ आयोजित एक कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले नगरपालिकाले गैरसरकारी संस्था दलित जनकल्याण युवा क्लबसँग सहकार्य गर्दै मुसहर बस्तीहरूमा आधुनिक सामुदायिक शौचालय निर्माण कार्यलाई तीव्रता दिएको बताए। उनले हालसम्म नगरका विभिन्न सुकुमवासी बस्तीमा छ वटा सुविधा सम्पन्न सामुदायिक शौचालयहरू निर्माण भई सञ्चालनमा आइसकेको जानकारी दिँदै अन्य क्षेत्रमा क्रमशः विस्तार गरिँदै लगिने बताए।

लहानलाई शतप्रतिशत शौचालययुक्त नगर बनाउने प्रतिबद्धता व्यक्त गर्दै नगरप्रमुख चौधरीले भने, “जग्गा नभएर शौचालय बनाउन नसकेका विपन्न मुसहर परिवारका लागि हामीले छ वटा आधुनिक सामुदायिक शौचालय बनाइसकेका छौँ र अन्य ठाउँमा बनाउने क्रम जारी छ। लहानलाई खुला दिशामुक्त बनाउने यो अभियानलाई सम्पूर्ण नगरवासीले आफ्नो साझा अभियानको रूपमा आत्मसात गरेर सहयोग गर्न म अपिल गर्दछु।”

अभियानलाई थप प्रभावकारी बनाउन नगरका विभिन्न वडामा ८१ वटा टोलस्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समिति गठन गरी तल्लो तहदेखि नै काम सुरु गरिएको त्यस अवसरमा जानकारी दिइयो। यी समितिहरूमा स्थानीय युवा र क्लबहरूलाई सक्रिय बनाउँदै टोलटोलमा घरायसी तथा वातावरणीय सरसफाइ, महिनावारी स्वच्छता व्यवस्थापन र पानीजन्य रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिएको छ।

खानेपानी र सरसफाइको क्षेत्रमा सहकार्य गरिरहेको विकन परियोजनाका प्रबन्धक राजेश लोहनीले अभियानबारे जानकारी दिँदै भने, “हामीले टोलस्तरमै समितिहरू गठन गरेर युवाहरूलाई जिम्मेवारी सुम्पिएका छौँ। टोलटोलमा सुरु भएको यो अभियानले घरायसी सरसफाइ र स्वच्छताका सवालमा नागरिकको बानीव्यवहारमा ठूलो परिवर्तन ल्याउने विश्वास लिएका छौँ।”

नगरप्रमुख चौधरीका अनुसार यही जेठ महिनाभित्र लहान नगरपालिका—७ लाई औपचारिक रूपमा ‘खुला दिशामुक्त वडा’ घोषणा गर्ने तयारी पूरा भएको छ। वडा नं ७ लाई घोषणालगत्तै नगरका अन्य वडाहरूलाई पनि क्रमिक रूपमा खुला दिशामुक्त र पूर्ण सरसफाइयुक्त वडा बनाउँदै लगिने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *