उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु
झापा । संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको सुरक्षित उद्धार, उपचार र पुनःस्थापनामा गम्भीर चुनौती देखिएको छ। पर्याप्त स्रोत, साधन र दक्ष जनशक्तिको अभावमा झापामा पछिल्लो दुई महिनाको अन्तरालमा एउटा चितुवा र एउटा गौरी गाई (गौर)को मृत्यु भएको छ।
वन्यजन्तु सङ्कटमा पर्दा समयमै र सुरक्षित उपायपूर्वक उद्धार हुन नसकेको भन्दै स्थानीय स्तरमा जनगुनासो बढ्न थालेको छ। जिल्लामा हात्ती, बँदेल, बाँदर, मृगलगायत वन्यजन्तु र मानवबीचको द्वन्द्व दिनानुदिन चर्किएको छ।
सीमावर्ती क्षेत्र भएकाले भारतबाट गौरी गाईलगायत दुर्लभ वन्यजन्तुहरू यदाकदा नेपाली बस्तीमा आइपुग्ने गरेका छन्। आहाराको खोजीमा बालीनाली नष्ट गर्न वा बाटो बिराएर बस्ती पस्ने वन्यजन्तुलाई स्थानीयले धपाउने क्रममा ती घाइते हुने गरेका छन्। तर, जिल्लाभित्रै त्यस्ता घाइते वन्यजन्तुको उद्धारका लागि भरपर्दो संयन्त्र छैन।
डिभिजन वन कार्यालय झापाको वन्यजन्तु शाखाका डा जितेन्द्र यादवका अनुसार ठूला र हिंस्रक वन्यजन्तुको उद्धारका लागि डार्ट (लठ्याउने विधि) प्रयोग गर्नुपर्ने हुन्छ, जसका लागि कोशी टप्पु वन्यजन्तु आरक्षबाट प्राविधिक टोली र उपकरण झिकाउनुपर्ने बाध्यता छ।
“घाइते हात्ती वा चितुवाजस्ता ठूला वन्यजन्तुलाई नियन्त्रणमा लिएर उपचार गर्न डार्ट अनिवार्य हुन्छ,” डा यादवले भने, “हामीसँग सर्प र बाँदर समात्ने सामान्य उपकरण त छन्, तर डार्टका लागि आवश्यक सामग्री र दक्ष जनशक्ति छैन।”
यही प्राविधिक कमजोरीका कारण दुई महिनाअघि बुद्धशान्ति–४ मा गाउँ पसेको एउटा चितुवालाई नियन्त्रणमा लिन कोशी टप्पुको टोलीले प्रयत्न गरिरहँदा स्थानीयको भीडले लठ्याइएकै अवस्थामा कुटेर चितुवा मारिदिएका थिए।
त्यस्तै, यसै साता मेचीनगर–४ काँकडभिट्टामा भारतबाट आएको एउटा गौरी गाई (गौर) अत्तालिएर कुद्ने क्रममा लडेर हृदयाघातका कारण मर्यो। सहरको बीचमा घाइते अवस्थामा लडेको डेढ घण्टासम्म पनि उद्धार टोली नपुग्दा उक्त दुर्लभ वन्यजन्तुले ज्यान गुमाउनु परेको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले बताए।
यद्यपि, हरिण, मृग, कछुवा र अजिङ्गरजस्ता तुलनात्मक रूपमा कम हिंस्रक जीवहरू गाउँमा फेला पर्दा वनकै टोलीले उद्धार गर्दै आएको डा यादवले बताए। डिभिजन कार्यालयमा वन्यजन्तुको प्राथमिक उपचारका लागि औषधि भण्डारण र खोरको व्यवस्था भने गरिएको छ। सामान्य अवस्थाका घाइते वन्यजन्तुको उपचार वन कार्यालयकै टोलीले गर्ने र जटिल अवस्था भए भेटेरिनरी अस्पतालको सहयोग लिने गरिएको उनले जानकारी दिए।
डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत अमृतबहादुर लिम्बूका अनुसार जिल्लामा कार्यरत वन कर्मचारी र सशस्त्र वनरक्षक टोलीले हात्ती वा चितुवा जस्ता हिंस्रक वन्यजन्तु धपाउने वा उद्धार गर्ने विशेष तालिम पाएका हुँदैनन्। यस्तो विशिष्टीकृत तालिम वन्यजन्तु आरक्ष केन्द्रका कर्मचारीसँग मात्र हुने उनको भनाइ छ।
हाल झापाको दक्षिणी भेग कचनकबलस्थित दुर्गाभिट्टा र कनकाईको जामुनखाडी सामुदायिक वनमा वन्यजन्तुलाई सुरक्षित राख्ने आश्रयस्थल बनाइएको छ। वन कार्यालयले उद्धार गरेका अजिङ्गर, चितुवाका बच्चा, बाँदर र कछुवालगायत जीवहरूलाई तिनै दुई सामुदायिक वनमा पठाउने गरेको छ।
विशेषगरी हात्तीको बढी समस्या खेपिरहेको मेचीनगरको बाहुनडाँगी क्षेत्रमा वन कार्यालयले सशस्त्र वन रक्षकको एउटा विशेष टुकडी तैनाथ गरेको सूचना अधिकारी रहनुभएका सहायक वन अधिकृत लिम्बूले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment