वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयातमा साढे २५ अर्बले वृद्धि
वीरगञ्ज। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब ८१ अर्ब ७० करोड मूल्य बराबरको छ थरिका पेट्रोलियम पदार्थ नेपाल आयात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयात मूल्यमा १६ दशमलव ३५ प्रतिशत अर्थात् २५ अर्ब ५३ करोडको उल्लेख्य वृद्धि भएको हो।
गत आर्थिक वर्षको १० महिनामा यो नाकाबाट एक खर्ब ५६ अर्ब १७ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थ भित्रिएको थियो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा पेट्रोलियम पदार्थहरूको आयातबाट मात्रै ६७ अर्ब १९ करोड राजस्व संकलन गर्न भन्सार कार्यालय सफल भएको छ।
यस नाकाबाट भित्रिने इन्धनमध्ये सबैभन्दा ठूलो हिस्सा डिजेलको रहेको छ। चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब ५७ करोड मूल्य बराबरको आठ लाख ९५ हजार दुई सय ४६ किलोलिटर डिजेल आयात भएको छ।
जबकी गत आर्थिक वर्षको सोही अवधिमा ७९ अर्ब ५७ करोड मूल्य पर्ने नौ लाख ८५७ किलोलिटर डिजेल भित्रिएको थियो। परिमाणका आधारमा डिजेल केही घटेको देखिए पनि मूल्यगत उतारचढावका कारण यसको आयात लागत बढेको देखिन्छ।
यसैगरी पेट्रोलतर्फ भने परिमाण र मूल्य दुवैमा वृद्धि भएको छ। समीक्षा अवधिमा ३५ अर्ब ७९ करोड मूल्य पर्ने तीन लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल नेपाल भित्रिएको छ, जबकि गत आर्थिक वर्षको १० महिनामा रू ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको थियो।
खाना पकाउने एलपिजी ग्यासको आयातमा भने चालु आर्थिक वर्षमा केही गिरावट आएको छ। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै २५ अर्ब ५४ करोड मूल्य बराबरको २४ करोड २७ लाख तीन हजार १५० किलोग्राम ग्यास भित्रिएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा भने ३० अर्ब २८ करोड मूल्य पर्ने २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपीजी ग्यास आयात भएको थियो।
वीरगञ्ज नाका मुलुककै प्रमुख व्यापारिक नाका रहेकाले यस क्षेत्रबाट हुने इन्धनको आयात र त्यसबाट उठ्ने राजस्वले देशको समग्र आर्थिक सूचक र उपभोक्ता बजारको मागलाई प्रत्यक्ष रूपमा प्रतिनिधित्व गर्ने गर्दछ।







डिसी नेपाल







Facebook Comment