३६० वस्तुको अन्तःशुल्क खारेज, मदिरा, जंक फुड र इनर्जी ड्रिङ्समा भारी वृद्धि

डिसी नेपाल
१६ जेठ २०८३ ६:५२

काठमाडौं। सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरूमा व्यापक हेरफेर गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिलेसम्म विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क पूर्ण रूपमा खारेज गरिएको जानकारी दिए।

सरकारले सर्वसाधारणलाई राहत दिने उद्देश्यले धेरै वस्तुको अन्तःशुल्क हटाए पनि मदिरा, सुर्तीजन्य पदार्थ, पत्रु खाना (जंक फुड), रङ्गरोगन तथा जुस जस्ता स्वास्थ्य र वातावरणमा असर पार्ने वस्तुहरूमा भने अन्तःशुल्कका दरहरू बढाएको छ।

नयाँ आर्थिक विधेयक अनुसार दैनिक उपभोग्य र अन्य खाद्यान्न वस्तुको कर संरचनामा परिवर्तन गरिएको छ। जसअनुसार गुड, सख्खर र भेलीको अन्तःशुल्क प्रतिक्विन्टल एक सय ३८ रुपैयाँबाट बढाएर एक सय ४० रुपैयाँ तथा उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल एक सय १० रुपैयाँबाट बढाएर एक सय १५ रुपैयाँ पुर्‍याइएको छ।

यस्तै, चिनी वा गुलियो पदार्थ नहालेको चक्लेट, कोकोको धुलो र तयारी चुइगमको अन्तःशुल्क प्रतिलिटर वा किलोमा सामान्य परिमार्जन गरिएको छ। यसैगरी स्पागेटी, म्याकरोनी र पास्ता जस्ता वस्तुमा साविकको प्रतिकिलो २० रुपैयाँ अन्तःशुल्कलाई बढाएर ३५ रुपैयाँ बनाइएको छ। पाउरोटी, क्रिप्स ब्रेड, जिन्जर ब्रेड, गुलियो बिस्कुट, केक, कुकिज, पेस्ट्री र वेफर जस्ता बेकरी उत्पादनमा पनि अन्तःशुल्क बढेको छ।

विशेष गरी जङ्क फुड र पेय पदार्थमा सरकारले ठूलो कर वृद्धि गरेको छ। कुरकुरे, कुरमुरे, लेज र चिजबल जस्ता उत्पादनमा यसअघि लाग्दै आएको प्रतिकिलो २० रुपैयाँ अन्तःशुल्कमा भारी वृद्धि गर्दै प्रतिकिलो ७५ रुपैयाँ पुर्‍याइएको छ भने आलु चिप्सको अन्तःशुल्क प्रतिकिलो १८ रुपैयाँबाट बढाएर ३० रुपैयाँ बनाइएको छ।

यसैगरी प्याक गरिएका विभिन्न फलफूलका जुसहरूमा प्रतिलिटर १३ रुपैयाँ ५० पैसा लाग्दै आएको कर अब प्रतिलिटर १४ रुपैयाँ पुगेको छ। स्वास्थ्यका लागि हानिकारक मानिने सुर्तीरहित पान मसलामा प्रतिकिलो आठ सय ७५ रुपैयाँबाट बढाएर एक हजार एक सय ५० रुपैयाँ र सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकिलो तीन सय ७५ रुपैयाँबाट बढाएर पाँच सय रुपैयाँ अन्तःशुल्क तोकिएको छ।

पेय पदार्थ र अल्कोहलतर्फ पनि करको दर निकै बढाइएको छ। अल्कोहलरहित बियरको अन्तःशुल्क प्रतिलिटर ४५ रुपैयाँबाट शतप्रतिशत बढाएर ९० रुपैयाँ पुर्‍याइएको छ भने इनर्जी ड्रिङ्समा प्रतिलिटर ५२ रुपैयाँ लाग्दै आएको कर अब एक सय २० रुपैयाँ पुगेको छ। हल्का पेय पदार्थ (सफ्ट ड्रिङ्स) मा प्रतिलिटर २५ रुपैयाँबाट बढाएर ६० रुपैयाँ अन्तःशुल्क कायम गरिएको छ।

५ प्रतिशतसम्म अल्कोहल भएको माल्ट बियरमा प्रतिलिटर दुई सय ४० रुपैयाँबाट बढाएर दुई सय ५५ रुपैयाँ, १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको वाइनमा प्रतिलिटर चार सय ६० रुपैयाँबाट बढाएर चार सय ९० रुपैयाँ र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाइनमा प्रतिलिटर पाँच सय ३५ रुपैयाँबाट बढाएर पाँच सय ७० रुपैयाँ पुर्‍याइएको छ।

छ्याङ अर्थात् कन्ट्री बियरमा प्रतिलिटर दुई रुपैयाँ बढाएर ५० रुपैयाँ पुर्‍याइएको छ भने १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको जडिबुटी मिश्रित मदिरा र कक्टेलमा पनि अन्तःशुल्क बढाएर प्रतिलिटर पाँच सय ७० रुपैयाँ बनाइएको छ। यद्यपि, सेम्पेन, सेरी, मिड र पेरी साइडर जस्ता पदार्थको अन्तःशुल्क भने प्रतिलिटर पाँच सय १६ रुपैयाँबाट केही घटाई चार सय ९० रुपैयाँ कायम गरिएको छ।

सुर्ती र चुरोटको करमा पनि सामान्य वृद्धि भएको छ। सुर्ती भएका सिगार, सेरुट र सानो सिगारमा प्रतिखिल्ली ३१ रुपैयाँ लाग्ने अन्तःशुल्क बढेर ३५ रुपैयाँ पुगेको छ। फिल्टर नभएको चुरोट प्रति एम (हजार खिल्ली) सात सय ७८ रुपैयाँबाट बढेर सात सय ८० रुपैयाँ तथा ७० मिमिसम्म लम्बाई भएको फिल्टर चुरोटको अन्तःशुल्क एक हजार सात सय ९२ रुपैयाँबाट बढेर एक हजार आठ सय ४५ रुपैयाँ पुगेको छ।

औद्योगिक तथा निर्माण सामग्रीतर्फ रङ्गलेप (पेन्ट), इनामेल र सडकमा चिन्ह लगाउने थर्मोप्लास्टिक पेन्टको अन्तःशुल्क प्रतिलिटर वा किलोमा ७ रुपैयाँबाट बढाएर १५ रुपैयाँ पुर्‍याइएको छ भने भुई ढाक्न प्रयोग हुने टायल वा रोलका फ्लोर कभरिङ वस्तुहरूको अन्तःशुल्क पनि १० रुपैयाँबाट बढाएर १५ रुपैयाँ कायम गरिएको आर्थिक विधेयकमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *