सगरमाथाको पहिलो आरोही बन्ने रहर : विमान दुर्घटना गराएर सगरमाथा चढ्ने सनकी योजना
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको इतिहासमा अनेकौँ साहसी र कीर्तिमानी आरोहीहरूको नाम स्वर्ण अक्षरमा लेखिएको छ। तर, सन् १९३४ मा एकजना यस्ता बेलायती नागरिकले सगरमाथा चढ्ने प्रयास गरेका थिए, जसको योजना सुन्दा आज पनि मानिसहरू अचम्ममा पर्छन्।
पर्वतारोहणको कुनै पनि तालिम नलिएका र विमान उडाउन समेत राम्रोसँग नजान्ने बेलायती सैनिक मोरिस विल्सनको त्यो सनकी, अनौठो र आत्मघाती प्रयास अन्ततः हिउँको पाखोमा दुःखद अन्त्यमा परिणत भएको थियो।
मोरिस विल्सनको घटना विवरणमा जानुअघि सगरमाथाको पहिचान र आरोहणको इतिहासलाई बुझ्न जरुरी छ । सन् १८५२ मा ‘ग्रेट ट्रिग्नोमेट्रिकल सर्भे अफ इन्डिया’ का प्रमुख गणितज्ञ राधानाथ सिकदरले गणितीय गणनाको माध्यमबाट ‘पिक १५’ भनिने चुचुरो संसारकै सबैभन्दा अग्लो स्थान भएको पत्ता लगाएका थिए।
त्यसको कडा जाँचबुझ पछि सन् १८५६ मार्चमा बेलायती अधिकारीहरूले यसलाई आधिकारिक रूपमा विश्वको सर्वोच्च शिखर घोषणा गरे। पछि सन् १८६५ मा यसको नाम भारतका पूर्व सर्भेयर जनरल सर जर्ज एभरेष्टको नाममा ‘माउन्ट एभरेष्ट’ राखियो।
विल्सनको असफल प्रयासको १९ वर्षपछि मात्रै मानिसले पहिलोपटक सगरमाथाको सफल आरोहण गर्न सकेका थिए । २९ मे १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलोपटक पाइला टेकेर इतिहास रचेका थिए।
विल्सनको अनौठो योजना: ‘क्र्याश एण्ड क्लाइम्ब’
प्रथम विश्वयुद्धका घाइते क्याप्टेन मोरिस विल्सन एक रहस्यमयी आध्यात्मिक विचार भएका व्यक्ति थिए। तीव्र उपवास र ईश्वरप्रतिको अकाट्य विश्वासले संसारका सम्पूर्ण दुःख र समस्याहरू समाधान गर्न सकिन्छ भन्ने उनको मान्यता थियो। आफ्नो यो विचारलाई विश्वभर फैलाउनका लागि उनलाई एउटा ठूलो मञ्च चाहिएको थियो । आफू विश्वचर्चित बनेर यो विचार फैलाउने सोचमा उनले सगरमाथा एक्लै चढ्ने निर्णय गरे।
उनको योजना अत्यन्तै घातक र अव्यावहारिक थियो। उनले एउटा सानो सेकेण्ड ह्याणड ‘जिप्सी मथ’ द्विपङ्खे विमान किने, जसको नाम उनले एभर रेष्ट राखेका थिए। उनको योजना बेलायतबाट सोझै तिब्बततर्फ विमान उडाउने, त्यसलाई सगरमाथाको माथिल्लो ढलानमा जबर्जस्ती दुर्घटना गराउने र त्यहाँ विमानबाट निस्किएर पैदलै हिँडेर चुचुरोमा पुग्ने थियो।
यस तयारीका लागि उनले विमान उडाउन सिके, जसमा उनलाई औसत मानिसभन्दा दोब्बर समय लाग्यो। तर, पर्वतारोहणको नाममा भने उनले बेलायतका साना पहाडहरूमा केही हप्ता पैदल हिँड्ने बाहेक अरू कुनै प्राविधिक तालिम लिएनन्। उनले हिउँमा हिँड्ने विशेष जुत्ता वा आइस एक्स जस्ता आधारभूत उपकरणहरू समेत किन्न अस्वीकार गरे।
बेलायती वायुसेवा मन्त्रालयले विल्सनको यो योजनालाई ‘आत्महत्या’ ठहर गर्दै उडान भर्न प्रतिबन्ध लगाएको थियो। तर, २१ मे १९३३ मा विल्सनले सबै कानुनको धज्जी उडाउँदै बेलायतबाट उडान भरे।
आश्चर्यजनक रूपमा, युरोप, उत्तर अफ्रिका र मध्यपूर्व पार गर्दै उनी भारत आइपुगे। बहराइनमा उनी इन्धन भर्न रोकिएका थिए । त्यहाँ बेलायती अधिकारीहरूले उनलाई रोक्दा उनी ‘घर फर्किन्छु’ भन्दै हावामा उडे तर आकाशमा पुगेपछि बाटो मोडेर सोझै भारततर्फ लागे। जब उनी भारतको लालबालु (बिहार) मा अवतरण गरे, उनको विमानको इन्धन सूचक शून्यमा थियो। त्यहाँ भारतीय प्रहरीले उनको विमान जफत गरेपछि उनको ‘क्र्याश-ल्यान्डिङ’ को योजना असफल भयो।
विमान जफत भएपछि पनि विल्सनले हार मानेनन्। उनी दार्जिलिङ पुगे र त्यहाँ सगरमाथाको पूर्व अनुभव भएका तीनजना शेर्पा सहयोगीहरू—तेवान्द, रिन्जिङ र सान दोर्जेलाई आफ्नो साथमा लिए।
त्यसबेला विदेशीहरूलाई तिब्बत प्रवेशमा कडा प्रतिबन्ध थियो। विल्सनले आफूलाई बहिरो, बोल्न नसक्ने र बिरामी बौद्ध भिक्षुको भेषमा लुकाए। आफ्ना शेर्पा साथीहरूको सहयोगमा ३०० माइलको कठिन पैदल यात्रा पूरा गर्दै उनी सन् १९३४ अप्रिल १४ मा सगरमाथाको फेदीमा रहेको रोङ्बुक गुम्बा पुग्न सफल भए।
रोङ्बुक गुम्बाका लामा (धर्मगुरु) ले विल्सनलाई अगाडि नबढ्न चेतावनी दिएका थिए, तर विल्सनले कसैको कुरा सुनेनन्। विल्सन शेर्पाहरूलाई गुम्बामै छोडेर एक्लै रोङ्बुक हिमनदी तर्फ लागे। करिब ४५ पाउन्डको भारी बोकेका उनीसँग न त पहाडी बाटोको ज्ञान थियो, न त हिउँमा हिँड्ने प्रविधि। तीव्र हिमआँधी र खुट्टा मर्किएपछि, अत्यधिक थकित अवस्थामा उनी केही दिनपछि गुम्बामा फर्किए।
झण्डै तीन हप्ताको आरामपछि, १२ मे १९३४ मा उनले पुनः प्रयास गरे। यसपटक शेर्पाहरू पनि उनीसँगै गए। शेर्पाहरूको सीपका कारण उनीहरू सुरक्षित रूपमा रोङ्बुक हिमनदी पार गर्दै २२,७०० फिट (६,९२० मिटर) को उचाइमा रहेको ‘क्याम्प ३’ सम्म पुग्न सफल भए।
क्याम्प ३ को ठीक माथि ‘नर्थ कोल’ भनिने हिउँको ठाडो र कडा पर्खाल थियो। विल्सनसँग हिउँ काट्ने बन्चरो (आइसएक्स) नभएको र प्राविधिक ज्ञान शून्य भएकाले उनले दिनौँसम्म त्यो पर्खाल चढ्ने असफल प्रयास गरिरहे। शेर्पाहरूले उनलाई ज्यान जोखिममा नपार्न र फर्कन धेरै अनुनय-विनय गरे, तर विल्सनले मानेनन्। २९ मे १९३४ मा विल्सनले शेर्पाहरूलाई क्याम्पमै छोडेर एक्लै अन्तिमपटक माथितर्फ पाइला बढाए।
सन् १९३५ मा एरिक सिपटनको नेतृत्वमा गएको बेलायती टोलीले विल्सनको शव ‘नर्थ कोल’ को फेदीमा च्यातिएको पालभित्र फेला पारेको थियो। उनको शवको छेउमा एउटा डायरी पनि फेला परेको थियो, जसमा उनले आफ्नो यात्राको विवरण लेखेका थिए।
डायरीको अन्तिम पानामा ३१ मे १९३४ को मिति थियो, जसमा उनले लेखेका थिए: ‘फेरि निस्किएँ, कस्तो सुन्दर दिन।’ यसले के देखाउँछ भने, विल्सनको मृत्यु सम्भवतः ३१ मे को रात वा त्यसको भोलिपल्ट अत्यधिक चिसो वा भोकका कारण पालभित्रै भएको थियो। आरोहण टोलीले उनलाई त्यहीँ हिउँको चिहानमा सम्मानपूर्वक अन्त्येष्टि गरिदिएका थिए।
यद्यपि इतिहासले उनलाई एक ‘पागल बेलायती’ को रूपमा पनि सम्झिन्छ, तर पर्वतारोहणको संसारमा उनको अदम्य साहस र इच्छाशक्तिको आज पनि चर्चा हुन्छ। बिना कुनै आधुनिक उपकरण र तालिम, केवल मानसिक दृढताको भरमा सगरमाथाको २३,००० फिट उचाइसम्म पुग्नु आफैँमा एउटा असम्भव जस्तै देखिने यात्रा थियो।







डिसी नेपाल







Facebook Comment