रमा तिवारी हत्या प्रकरण: अनुसन्धानमा प्रहरी अलमलमै

हत्या अन्यत्रै गरेर शव रतुवा खोलामा फालिएको निष्कर्ष

डिसी नेपाल
२१ जेठ २०८३ १४:४४

मोरङ। झापाको दमक नगरपालिका-८ निवासी २१ वर्षीया रोमा भनिने रमा तिवारीको रहस्यमय हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरी अझैसम्म कुनै स्पष्ट निष्कर्षमा पुग्न सकेको छैन।

गत जेठ १६ गते शनिबार बिहान मोरङ–झापाको सीमास्थित सेतुमाडी क्षेत्रको रतुवा खोलामा प्लास्टिकको बोराभित्र पोको पारिएको अवस्थामा रमाको शव फेला परेको थियो। स्थानीयले खोलामा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाको पाँच दिन बितिसक्दा पनि हत्या कहाँ, कसरी र कसले गर्यो भन्ने मुख्य प्रश्नको उत्तर प्रहरीले फेला पार्न सकेको छैन।

यद्यपि, घटनास्थलको प्रकृति, शवको स्थिति र प्रारम्भिक प्रमाणका आधारमा प्रहरीले हत्या दमक वा अन्य कुनै प्राथमिक स्थल (प्राइमरी लोकेसन) मा गरेर शव लुकाउनका लागि मात्र रतुवा खोला (सेकेन्डरी लोकेसन) मा ल्याएर फालेको निष्कर्ष निकालेको छ।

पारिवारिक स्रोतका अनुसार रमा गत बुधबार साँझ करिब ८ बजेतिर साथी भेट्न जाने भन्दै घरबाट निस्किएकी थिइन्, तर त्यसपछि उनी कहिल्यै घर फर्किइनन्।

अनुसन्धानका क्रममा प्रहरीले रमाको मोबाइल फोनको प्राविधिक विश्लेषण गर्दा उनको अन्तिम सक्रिय लोकेसन दमक बजार क्षेत्रमा देखिएको छ भने बुधबार राति करिब ११ बजेको आसपासमा उनको मोबाइल फोन बन्द भएको पाइएको छ।

प्रहरीले रमासँग अन्तिम समयमा सम्पर्कमा रहेका व्यक्तिहरूमाथि सोधपुछ गरिरहेको छ। परिवारले दिएको जानकारीका आधारमा रमालाई भेट्न बोलाउने एक युवकमाथि पनि विस्तृत सोधपुछ गरिएको छ, जो घटनाकै दिन सुधार केन्द्रबाट छुटेका थिए।

यद्यपि, उनको संलग्नता पुष्टि गर्ने कुनै दह्रो आधार हालसम्म फेला परेको छैन। शवको अवस्था र प्रकृति हेर्दा बोरामा प्याक गर्ने र खोलासम्म पुर्‍याउने काममा एकभन्दा बढी व्यक्तिको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ।

यसैबीच, यस गम्भीर घटनालाई लिएर सामाजिक सञ्जाल, युट्युब च्यानल र कन्टेन्ट क्रिएटरहरूले गरिरहेका अनेक अड्कलबाजी, अपुष्ट दाबी र अनुमानका प्रति नेपाल प्रहरीले गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ।

झापा प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाँले अनुसन्धानको संवेदनशील चरणमा आउने यस्ता अपुष्ट हल्लाले वास्तविक तथ्य पत्ता लगाउने प्रक्रियामा बाधा पुग्ने, निर्दोष व्यक्तिमाथि अनावश्यक शंका उब्जाउने र सम्भावित प्रमाणसमेत नष्ट हुने जोखिम रहने बताएका छन्।

उनले अनुमानका आधारमा कसैलाई दोषी ठहर नगर्न र भ्रमपूर्ण सूचना नलैजान आग्रह गर्नुभएको छ। कानुनका जानकारहरूले पनि यस्ता जघन्य अपराधमा सामाजिक सञ्जालको दबाबभन्दा डिजिटल प्रमाण, फरेन्सिक परीक्षण र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।

हाल अपराधीको पहिचान, हत्याको उद्देश्य र मुख्य प्रमाणको खोजीमा केन्द्रित रहेको प्रहरीले चाँडै नै दोषीलाई कानुनी कठघरामा ल्याउने विश्वास दिलाएको छ भने शोककुल परिवारजन र स्थानीयवासी निष्पक्ष न्यायको पर्खाइमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *