प्रधानमन्त्री बालेनको निर्वाचन क्षेत्रका स्थानीयद्वारा सडकमै धान रोपेर विरोध
झापा। वर्षायाम सुरु भएसँगै झापाको दमक नगरपालिका वडा नम्बर ९ र १० को सीमावर्ती सडक पुनः हिलाम्मे बनेपछि वर्षौंदेखि सास्ती खेप्दै आएका स्थानीय बासिन्दाले सडकमै धान रोपेर सरकारको ध्यानाकर्षण गराएका छन्।
सडकभरि पानी जमेर खाल्डाखुल्डी परेपछि हिँड्नै नसक्ने अवस्था सिर्जना भएको र पटक-पटक आग्रह गर्दा पनि सम्बन्धित निकायले चासो नदिएपछि स्थानीयले धानको बेर्ना बोकेर सडकमै पुगी खेतकै रूपमा धान रोपेर आन्दोलन गरेका हुन्।
प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्र तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर आसपास पर्ने यो सडक हिउँदमा धुलो र वर्षामा हिलोका कारण वर्षौंदेखि जीर्ण रहँदै आएको छ।
यस दुर्दशाले गर्दा दैनिक आवतजावत मात्र नभई बिरामीलाई अस्पताल लैजान, बालबालिकालाई विद्यालय पुर्याउन र किसानका उत्पादन बजारसम्म पुर्याउन समेत निकै ठूलो संकट परेको स्थानीयको गुनासो छ।
विरोध कार्यक्रममा सहभागी स्थानीय किसान नगेन्द्रमणि न्यौपानेले चुनावका बेला नेताहरूले घरदैलोमा आएर विकासका ठूलाठूला सपना देखाउने तर जितेर गएपछि जनताको आधारभूत समस्या नै बिर्सने गरेको गुनासो गरे।
उनका अनुसार वडा कार्यालयदेखि नगरपालिका, प्रदेश र संघीय सरकारसम्म धाउँदा पनि सडक निर्माणको कुनै ठोस काम हुन नसकेपछि सडक र खेत छुट्याउनै गाह्रो भएको यथार्थ देखाउन आफूहरू सडकमै धान रोप्न बाध्य हुनुपरेको हो। नागरिकले नियमित कर तिर्ने र भोट दिने गरे पनि व्यवहारमा हिलो र धुलो मात्र उपहार पाएको भन्दै उनले राज्यको उदासीनताप्रति कडा आक्रोश व्यक्त गरे।
अर्का स्थानीय किसान सुरेश धिमालले वर्षा सुरु भएपछि सडकमा मोटरसाइकल समेत चलाउन नसकिने र बालबालिकाहरू विद्यालय जाँदा हिलोमा चिप्लिएर लड्ने गरेको पीडादायी अवस्था सुनाए। नेताहरूले सडक निर्माणको जिम्मेवारी एकले अर्कामाथि थोपर्दै पन्छिने गरेकाले यो समस्या झन् लम्बिएको उनको भनाइ छ।
यस्तै, गाउँकै पदम भण्डारीले बिरामी पर्दा गाउँमा एम्बुलेन्स समेत आउन नसक्ने अवस्था रहेकाले आज सडकमा धान रोप्नु रहर नभई बाध्यता भएको प्रष्ट पारे। अर्का स्थानीय केदार खतिवडाले पनि जनताको धैर्यको बाँध टुटिसकेको भन्दै कर तिर्ने बेला मात्र नागरिक सम्झने तर सुविधा दिने बेला बिर्सने प्रवृत्ति विरुद्ध यो सांकेतिक विद्रोह गरिएको टिप्पणी गरे।
यस आन्दोलनमा सहभागी भेषराज थापाले यो विरोध कुनै राजनीतिक स्वार्थ वा उद्देश्यका लागि नभई विशुद्ध रूपमा हिँड्न मिल्ने सडकको मागका लागि मात्र भएको स्पष्ट पारे। उनले विकासका खोक्रा भाषण धेरै सुनिए पनि परिणाम शून्य देखिएकाले सडकमै धान रोपेर राज्यमाथि गम्भीर प्रश्न उठाइएको बताए।
स्थानीय बासिन्दाले अब पनि सडक स्तरोन्नति र कालोपत्रेको काम तत्काल सुरु नगरिए सडक अवरुद्ध गर्ने र नगरपालिका घेराउ गर्ने जस्ता थप सशक्त आन्दोलनका कार्यक्रमहरू अघि बढाउने चेतावनी दिएका छन्।
सडकमा रोपिएको धानको बेर्नाले जनताले विकासको झुटा आश्वासन होइन, व्यवहारमै परिवर्तन खोजिरहेको गम्भीर सन्देश दिएको छ र अब सडकमा धान होइन, वास्तविक विकास उम्रियोस् भन्ने आम नागरिकको चाहना छ।







डिसी नेपाल







Facebook Comment