जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा: एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

डिसी नेपाल
९ असार २०८३ १३:०४

काठमाडौं।  निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणहरूको वित्तीय पहुँचलाई थप सहज र सरल बनाउने उद्देश्यले एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच एक महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यस सहकार्य सम्बन्धी सम्झौतापत्रमा एम.ए.डब्लु. अर्थमुभर्सका तर्फबाट एफ एण्ड आर प्रमुख सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका हुन्।

यो नयाँ व्यवस्था लागू भएसँगै अब जेसीबीका निर्माण उपकरणहरू खरिद गर्न इच्छुक ग्राहकहरूले ग्लोबल आइएमई बैंकका देशभर रहेका शाखाहरूमार्फत विशेष हायर पर्चेज कर्जा सुविधा सजिलै प्राप्त गर्न सक्नेछन्।

बैंकले नेपाल राष्ट्र बैंकको नियम र निर्देशनअनुसार लागू हुने लोन टु भ्यालु (LTV) अनुपातका आधारमा अधिकतम ८० प्रतिशतसम्म वित्तीय लगानी अर्थात् वित्तीय सुविधा उपलब्ध गराउनेछ।

ग्राहकहरूलाई छिटो-छरितो र झन्झटरहित सेवा प्रदान गर्नका लागि आवश्यक सम्पूर्ण कागजात तथा प्रक्रिया पूरा भएको एक साताभित्रै बैंकले डेलिभरी अर्डर जारी गर्ने व्यवस्था मिलाएको छ।

यस विशेष योजनाअन्तर्गत जेसीबी उपकरण खरिद गर्ने ग्राहकले अधिकतम पाँच वर्षसम्मको कर्जा अवधि उपभोग गर्न पाउनेछन्। यो रणनीतिक सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई आवश्यक उपकरण खरिदका लागि सहज वित्तीय पहुँच मात्र दिने छैन, बरु सम्पूर्ण खरिद प्रक्रियालाई समेत छरितो बनाउन ठुलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सहज कर्जा सुविधा र प्रतिस्पर्धी वित्तीय व्यवस्थाका कारण साना तथा मझौला व्यवसायीहरूलाई समेत आधुनिक जेसीबी उपकरणमा लगानी गरी आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

जेसीबी ब्रान्डका विश्वसनीय उपकरणहरू, एम.ए.डब्लु. अर्थमुभर्सको देशव्यापी रूपमा फैलिएको बिक्रीपछिको उत्कृष्ट सेवा (आफ्टर-सेल्स सर्भिस) सञ्जाल र ग्लोबल आइएमई बैंकको भरपर्दो वित्तीय सेवाको त्रिपक्षीय संयोजनले ग्राहकहरूलाई उपकरण खरिद प्रक्रियादेखि लिएर त्यसको सञ्चालन र मर्मतसम्भारसम्म एकै ठाउँबाट भरपर्दो समाधान प्रदान गर्नेछ।

एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकको सर्वोपरि सुविधा, व्यावसायिक वृद्धि तथा नेपालको समग्र निर्माण एवं पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्दै आगामी दिनहरूमा पनि अझ थप ग्राहकमैत्री सेवाहरू विस्तार गर्दै लैजाने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *