पर्याप्त वर्षा नहुँदा देशभर धान रोपाइँ प्रभावित, गत वर्षभन्दा उत्पादन घट्ने चिन्ता

डिसी नेपाल
१३ असार २०८३ ९:४५

काठमाडौं। अपेक्षाअनुसार पर्याप्त वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति निकै सुस्त देखिएको छ। कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर जम्मा ११.३३ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ।

यो प्रगति गत वर्षको सोही अवधिको तुलनामा ४.२७ प्रतिशत बिन्दुले कम हो, किनकि गत वर्ष असार १३ गतेसम्म १५.६ प्रतिशत धान रोपाइँ भइसकेको थियो। देशभर बर्खे धानका लागि कुल १३ लाख ८१ हजार ४८८ हेक्टर क्षेत्रफलमा खेती हुने गरे पनि मनसुनको सुस्तताका कारण हालसम्म १ लाख ५६ हजार ५८३.६७ हेक्टर जमिनमा मात्रै रोपाइँ हुन सकेको विभागले जनाएको छ।

यस वर्षको प्रदेशगत रोपाइँको अवस्था हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा बढी २२.८ प्रतिशत धान रोपाइँ भएको छ। त्यसपछि लुम्बिनीमा २०.९ प्रतिशत, गण्डकीमा १२.७ प्रतिशत, बागमतीमा १२.६ प्रतिशत, सुदूरपश्चिममा ९.३ प्रतिशत, कोशीमा ८.३ प्रतिशत र मधेश प्रदेशमा ५ प्रतिशत मात्रै रोपाइँ सकिएको छ।

यो तथ्यांकले धानको मुख्य भण्डार मानिने मधेश प्रदेशमा सबैभन्दा कम प्रगति भएको देखाउँछ। गत वर्षको तुलनामा यसपटक लुम्बिनी र मधेश प्रदेशबाहेक अन्य पाँचवटा प्रदेशमा धान रोपाइँको गति निकै सुस्त छ। गत वर्ष यही अवधिमा लुम्बिनीमा ९.७ प्रतिशत र मधेशमा ३.९ प्रतिशत मात्रै रोपाइँ भएकोमा यसपालि केही सुधार देखिएको हो।

तर, गत वर्ष कोशीमा १४.३ प्रतिशत, बागमतीमा २०.५ प्रतिशत, गण्डकीमा १३.८ प्रतिशत, कर्णालीमा ३९.१ प्रतिशत तथा सुदूरपश्चिममा ४५.५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको तुलनामा यस वर्ष यी क्षेत्रमा ठूलो गिरावट आएको छ।

कृषि क्षेत्रका जानकार तथा विज्ञहरूले पर्याप्त आकाशे पानी नपर्दा देशभरकै रोपाइँ नराम्ररी प्रभावित भएको बताएका छन्। देशभर मनसुन सक्रिय भएको घोषणा गरिए पनि अपेक्षाअनुसार पानी नपरेकाले खेतमा पर्याप्त चिस्यान हुन सकेको छैन, जसका कारण किसानहरूले चाहेर पनि रोपाइँलाई तीव्रता दिन सकेका छैनन्।

जल तथा मौसम विज्ञान विभागको तथ्यांकले पनि यस वर्ष जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलिमिटर मात्रै वर्षा मापन भएको देखाउँछ, जुन यस अवधिको नियमित औसत २१४ मिलिमिटर वर्षाको जम्मा ६९.६ प्रतिशत मात्रै हो।

यसरी औसतभन्दा निकै कम वर्षा भएकाले धान रोपाइँमा प्रत्यक्ष असर परेको कृषि विज्ञहरूको निष्कर्ष छ। धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले समयमै रोपाइँ हुन नसक्दा राष्ट्रिय उत्पादनमै गम्भीर असर पर्ने चिन्ता व्यक्त गर्न थालिएको छ। यद्यपि, आगामी दिनमा राम्रो वर्षा भएमा रोपाइँको गतिले पुनः तीव्रता पाउने आशा कृषिविज्ञहरूले राखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *