ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रमको घोषणा, देशभरका उद्यमीबाट आवेदन खुला
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा साना र मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित एक विशेष समारोहका बीच बैंकले यो नयाँ प्लेटफर्मको घोषणा गर्दै इन्क्यूबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनकारी सोच भएका व्यक्तिहरूबाट आवेदन समेत आह्वान गरेको छ।
यस उद्यमशाला कार्यक्रमको मुख्य ध्येय नयाँ र सिर्जनशील व्यावसायिक सोच भएका व्यक्तिहरूलाई सफल उद्यमी बन्न प्रेरित गर्नु हो। साथै, हाल सञ्चालनमा रहेका तर विभिन्न चुनौती झेलिरहेका लघु, साना तथा मझौला व्यवसायहरूलाई दिगो, प्रतिस्पर्धी र प्रतिष्ठित बनाउन आवश्यक सैद्धान्तिक एवं व्यावहारिक ज्ञान, सीप र परामर्श प्रदान गर्नु पनि यसको उद्देश्य रहेको छ।
बैंकको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले उद्यमशाला कार्यक्रमको विधिवत् घोषणा गर्दै यसका लागि आवेदन खुला भएको जानकारी दिए।
सो अवसरमा बोल्दै उहाँले लघु, साना तथा मझौला व्यवसायीहरूले भोग्नुपर्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न बैंकले यो प्लेटफर्म तयार गरेको बताए। सम्बन्धित क्षेत्रका विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकहरू मार्फत सहभागीहरूलाई व्यावहारिक ज्ञान र समस्या समाधानका उपायहरू प्रदान गरिने जानकारी समेत उनले दिए।
उक्त उद्घाटन समारोहमा बैंकका थप उच्च पदस्थ व्यवस्थापकहरू, नायव प्रमुख कार्यकारी अधिकृत, साझेदार संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्यमशाला कार्यक्रमअन्तर्गत बैंकले मुख्यतया दुईवटा ढाँचामा सहभागीहरूलाई सहयोग पुर्याउनेछ, जसमा इन्क्युबेसन र एक्सीलेरेसन कार्यक्रम समाविष्ट छन्।
इन्क्युबेसन कार्यक्रम नयाँ र नवप्रवर्तनकारी व्यावसायिक सोच भएका तर उद्यमशीलताको यात्रा कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवाहरूलाई लक्षित गरी सञ्चालन गरिनेछ, जसअन्तर्गत उनीहरूको क्षमता अभिवृद्धि, व्यवसायको सञ्जाल विस्तार र उचित मार्गनिर्देशन प्रदान गरिनेछ।
त्यसैगरी, एक्सीलेरेसन कार्यक्रमअन्तर्गत हाल सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा कठिनाइ भोगिरहेका उद्यमीहरूलाई समेटिनेछ। यसअन्तर्गत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण र सरोकारवाला निकायहरूसँगको पहुँचमा सहजीकरण गरिनेछ।
यस कार्यक्रममार्फत सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन प्रक्रिया, वित्तीय व्यवस्थापन र बैंक तथा वित्तीय संस्थासँगको पहुँच जस्ता महत्वपूर्ण विषयमा गहन व्यावहारिक ज्ञान प्राप्त गर्ने बैंकले विश्वास लिएको छ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले आफ्ना ३४४ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १,००० भन्दा बढी सेवा केन्द्रहरूबाट ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाली नागरिकहरूलाई बैंकिङ सेवा प्रदान गर्नुका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायतका विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने कार्य समेत गर्दै आएको छ।
आफ्नो उत्कृष्ट सेवाकै कारण ग्लोबल आइएमई बैंक विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरूबाट पुरस्कृत भइसकेको छ। बैंकले यसअघि नै बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, सन् २०२४, २०२५ र २०२६ को बेष्ट बैंक नेपाल, युरो मनी अवार्ड फर एक्सलेन्स (२०२२, २०२४ र २०२५), बेष्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।






डिसी नेपाल





Facebook Comment