सुनसँगै चाँदीको मूल्य पनि सस्तियो: यस्तो छ सोमबारको बजार भाउ

डिसी नेपाल
१५ असार २०८३ ११:२५

काठमाडौं। नेपाली सुनचाँदी बजारमा साताको दोस्रो दिन सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलामा १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि अघिल्लो दिन आइतबार मात्रै सुनको मूल्यमा एकैपटक तोलामा ४ हजार ७०० रुपैयाँको ठुलो वृद्धि भएर इतिहासकै उच्च विन्दु नजिक अर्थात् प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ पुगेको थियो।

आइतबारको सो ऐतिहासिक वृद्धिपछि सोमबार बजार खुल्दा भने सुनको मूल्यमा केही संकुचन देखिएको हो। सुनसँगै आज बहुमूल्य धातु चाँदीको मूल्यमा पनि सामान्य गिरावट रेकर्ड गरिएको छ।

सोमबार चाँदी तोलामा १५ रुपैयाँले ओरालो लाग्दै प्रतितोला ४ हजार ३१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यसअघि आइतबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार ३२५ रुपैयाँ कायम रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा डलरको मजबुती र सुरक्षित लगानीका रूपमा सुनको मागमा आउने उतारचढावका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरू बताउँछन्।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्य र अमेरिकी डलरको विनिमय दरलाई आधार मानी नेपाली बजारका लागि दैनिक रूपमा आधिकारिक मूल्य निर्धारण गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *