धान उत्पादनमा ह्रास आउँदा कृषि क्षेत्र सुस्त, तेस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा सीमित

डिसी नेपाल
२२ असार २०८३ १२:२०

काठमाडौं। नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा निकै सुस्त देखिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदनअनुसार यस अवधिमा कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर मात्र १.५८ प्रतिशतमा खुम्चिएको छ।

मुख्य बाली मानिने धानको उत्पादनमा आएको उल्लेख्य गिरावटले समग्र कृषि क्षेत्रको विस्तारलाई कमजोर बनाएको कार्यालयले जनाएको छ। यद्यपि, धानबालीको उत्पादन ओरालो लागे पनि पशुपन्छी, तरकारी, फलफूल तथा वन पैदावारको उत्पादनमा देखिएको सामान्य सुधारले कृषि क्षेत्रलाई ऋणात्मक हुनबाट भने जोगाएको छ।

समीक्षा अवधिमा मुलुकको समग्र आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। निर्माण सामग्रीको आयातमा आएको मन्दी, धान उत्पादनमा देखिएको ह्रास र केही स्वदेशी वस्तुहरूको उत्पादन घट्नु नै अपेक्षित आर्थिक वृद्धि हासिल हुन नसक्नुको मुख्य कारण रहेको तथ्यांक कार्यालयको निष्कर्ष छ।

तेस्रो त्रैमासमा अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये १६ वटा क्षेत्रमा सकारात्मक सूचक देखिएका छन्। जसमा विद्युत् तथा ग्यास क्षेत्र २४.८८ प्रतिशतको उत्साहजनक वृद्धिसहित सबैभन्दा अगाडि रहेको छ भने वित्तीय तथा बीमा क्षेत्र १०.२७ प्रतिशत, यातायात तथा भण्डारण ७.८३ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले विस्तार भएका छन्।

तर, अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको वृद्धिदर नै दयनीय रहँदा त्यसको प्रत्यक्ष र नकरात्मक प्रभाव समग्र अर्थतन्त्रको तस्बिरमा झल्किएको छ।

अर्थशास्त्रीहरूका अनुसार नेपालको विद्यमान आर्थिक संरचनामा कृषि क्षेत्रको वर्चस्व अझै कायम रहेकाले यस क्षेत्रमा आउने साना उतारचढावले पनि देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ठूलो असर पार्ने गर्छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको यो तथ्यांकले ऊर्जा, वित्तीय सेवा र व्यापारिक गतिविधिमा क्रमिक सुधारको संकेत गरे पनि अर्थतन्त्रलाई गतिशीलता दिन कृषि उत्पादनको दिगो विकास र स्थायित्व अझै पनि राज्यका लागि मुख्य चुनौतीकै रूपमा रहेको देखाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *