नीतिगत सुधार र पूर्वाधार विकासमा केन्द्रित ऊर्जा मन्त्रालयको सय दिन: विद्युत् क्षमता ४,२४२ मेगावाट पुग्यो
काठामडाैं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेको पहिलो सय दिनको अवधिमा मन्त्रालयले नीतिगत सुधार, ऊर्जा पूर्वाधार विस्तार, सिँचाइ व्यवस्थापन, सेवा प्रवाहको आधुनिकीकरण र संस्थागत रूपान्तरणतर्फ महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।
यस अवधिमा तत्काल देखिने परिणाममुखी कामका साथै दीर्घकालीन सुधारका बलिया आधारहरू तयार पार्न विशेष जोड दिइएको छ। कानुनी सुधारका क्रममा मन्त्रालयले जलस्रोत विधेयक तथा नवीकरणीय ऊर्जा एवं ऊर्जा दक्षतासम्बन्धी विधेयकको मस्यौदा तयार गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ।
यसैगरी, विद्युत् खरिद सम्झौता (पीपीए), जलविद्युत् आयोजनाको अनुमतिपत्र व्यवस्था, दीर्घकालीन वित्तीय स्रोत परिचालन, आन्तरिक विद्युत् खपत वृद्धि तथा विद्युत् निर्यात रणनीतिसम्बन्धी अध्ययन प्रतिवेदनहरू तयार भई कार्यान्वयनको चरणमा पुगेका छन्।
संस्थागत सुधारतर्फ नेपाल विद्युत् प्राधिकरणको संरचनागत सुधारका लागि रोडम्याप तयार गर्ने प्रक्रिया अघि बढाइएको छ भने बहुउद्देश्यीय आयोजनाहरूको चुस्त व्यवस्थापनका लागि छुट्टै कम्पनी स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको छ।
राष्ट्रिय गौरवका आयोजनाहरू सुनकोशी-मरिन डाइभर्सन, भेरी-बबई डाइभर्सन तथा रानी जमरा कुलरिया आयोजनालाई समयमै सम्पन्न गर्ने लक्ष्यसहित नयाँ सञ्चालन ढाँचा तयार गरी मातहतका निकायहरूलाई तीव्रताका साथ परिचालन गरिएको छ।
ऊर्जा पूर्वाधार विस्तारका क्षेत्रमा बाह्रबिसे-लप्सीफेदी ४०० केभी प्रसारण लाइन, बाह्रबिसे सबस्टेसन तथा मर्स्याङ्दी करिडोरअन्तर्गत मार्कीचोक-भरतपुर खण्डको निर्माण कार्य यसै अवधिमा सम्पन्न भएका छन्।
लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक क्षेत्रको समस्या समाधान गर्न मन्त्री श्रेष्ठ आफैँ स्थलगत रूपमा पुगेर स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग आवश्यक समन्वय गरी निर्माण कार्य सुचारु गराउनुभएको थियो।
यसका साथै ढल्केबर-बालगंगा तथा लालबन्दी-सलिमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएका छन् भने न्यू बुटवल-लमही, दैलेख-कालिकोट-जुम्ला र बालकुमारी-ठिमी प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वानको प्रक्रिया अघि बढाइएको छ।
भारतसँगको विद्युत् व्यापार र अन्तरसम्बन्ध विस्तारका लागि दोधोधारा-बरेली तथा इनरुवा-पूर्णिया ४०० केभी अन्तरदेशीय प्रसारण लाइन आयोजनामा संयुक्त कम्पनी गठनको गृहकार्य समेत अगाडि बढेको छ।
यो सय दिनको अवधिमा देशको कुल विद्युत् उत्पादन क्षमतामा १३८ मेगावाटले वृद्धि भई ४ हजार २४२ मेगावाट पुगेको छ। राष्ट्रिय प्रसारण प्रणालीमा ७९ सर्किट किलोमिटर प्रसारण लाइन थपिनुका साथै यो अवधिमा ४७२ गिगावाट घण्टाभन्दा बढी विद्युत् निर्यात गरिएको छ।
यसैबीच, ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने नीतिअन्तर्गत १ हजार ५२३ मेगावाट क्षमताका उत्पादन अनुमतिपत्र र १ हजार ५७१ मेगावाट बराबरका नयाँ सर्वेक्षण अनुमतिपत्र जारी गरिएको मन्त्रालयले जनाएको छ।






डिसी नेपाल





Facebook Comment