भानुजयन्तीमा भावविभोर

ज्ञानेन्द्र विवश
२७ असार २०८३ १०:१८

भानुभक्तको सालिकसँग जोडिएको इतिहास एउटा मूर्तिको इतिहास मात्र भएर रहँदैन, त्यो नेपाली भाषाको आत्मसम्मानसँग गाँसिएको इतिहास हुन्छ। दार्जिलिङको चौरस्ता चोकस्थित भानुशरणीमा भानुभक्तको पूर्ण कदको सालिक दोस्रो पटक अनावरण भएको क्षणलाई सम्झँदा, त्यसअघि त्यही ठाउँमा उभिएको अर्को सालिकको स्मृति पनि अनिवार्य रूपमा मनमा आइपुग्छ।

किनभने कुनै पनि प्रतिमा अचानक आकाशबाट झर्दैन, न त जमिनभित्रबाट उम्रिन्छ। एउटा कुशल कलाकर्मीको सिर्जनाले लामो समयको प्रयत्नपछि त्यसलाई जीवन प्रदान गरिदिन्छ। वास्तवमा यसको पछाडि समयको कथा हुन्छ, भावनाको श्रम हुन्छ र समुदायको सामूहिक आकांक्षा हुन्छ। यसमा सरकारको पनि चासो हुन्छ। चौरस्ताको त्यो भानुशरणी पनि यस्तै इतिहासको मूक तर गहिरो साक्षी बनेर उभिएको छ।

त्यसो त त्यस ठाउँमा भानुभक्तको स्मृति पहिलो पटक पूर्ण कदको प्रतिमाका रूपमा होइन, अर्धकद सालिकका रूपमा प्रतिष्ठित भएको थियो। तत्कालीन पश्चिम बङ्गालका राज्यपाल डा. कैलाशनाथ काटजुको सहयोगमा नेपाली साहित्य सम्मेलनले भानुभक्तको अर्धकद सालिक स्थापना गरी अनावरण गरेको थियो।

त्यो स्थापना पनि आफैँमा सामान्य घटना थिएन। त्यो दार्जिलिङमा बसोबास गर्ने नेपालीभाषी समाजले आफ्ना आदिकविलाई सार्वजनिक स्मृतिमा प्रतिष्ठित गर्ने एउटा ऐतिहासिक सांस्कृतिक प्रयत्न थालनी थियो। नेपाली भाषा बोल्ने समुदायले आफ्ना भाषिक पुर्खालाई सहरको एउटा प्रमुख सार्वजनिक स्थलमा उभ्याउनु भनेको भानुप्रति सम्मान प्रकट गर्नु मात्र होइन, ‘हामी छौँ, हाम्रो भाषा छ र हाम्रो साहित्यिक परम्परा छ’ भनेर इतिहाससँग आफ्नो उपस्थिति दर्ता गराउनु पनि हो।

त्यस अर्धकद सालिकका मूर्तिकार सेन्ट पाल्स स्कुलका इ. एफ. थम्प्सन थिए। एउटा विदेशी मूलका कलाकारका हातबाट नेपाली भाषाका आदिकविको प्रतिमा निर्माण हुनुमा पनि म एक प्रकारको विशिष्ट सांस्कृतिक व्यञ्जना देख्छु। कला आखिर सिमानाले बाँधिँदैन।

एउटा कलाकारले जब कुनै प्रतिमा कुँद्छ, उसले केवल अनुहारको आकार मात्र बनाइरहेको हुँदैन; ऊ एउटा समय, एउटा मान्यता र एउटा श्रद्धालाई रूप दिइरहेको हुन्छ। थम्प्सनले बनाएको त्यो सालिकमा दार्जिलिङका नेपालीभाषीहरूको सामूहिक आदर अडिएको थाहा पाइन्छ। त्यसमा भानुभक्तप्रतिको श्रद्धा मात्र होइन, आफ्नै भाषाप्रतिको अगाध प्रेम पनि कुँदिएको थियो।

यद्यपि इतिहास सधैँ करुणा र संरक्षणको मात्र बाटो हिँड्दैन रहेछ। उसले कहिलेकाहीँ निर्ममता पनि देखाउँछ। गोर्खाल्यान्डको भाषिक–राजनीतिक आन्दोलनका उथलपुथलबीच त्यो सालिक प्रहारको निशाना बन्यो। निकै दशकअघि ध्वस्त पारिएको त्यो सालिकको प्रसङ्ग सम्झँदा मन अझै कुँडिन्छ। एउटा सालिक भत्काउनु धातु वा ढुङ्गा फुटाउनु मात्र होइन, त्यो त एउटा सिङ्गो समुदायको सांस्कृतिक स्मृतिमा चोट पुर्‍याउनु हो।

त्यो आफ्ना अग्रजप्रति प्रकट गरिएको सार्वजनिक श्रद्धामाथि आघात गर्नु पनि हो। त्यो भाषाको अनुहारमै चोट पुर्‍याएजस्तै हो। सालिक भत्किएको खबरले दार्जिलिङमा मात्रै होइन, संसारभरि छरिएर रहेका नेपालीभाषी मनहरूमा कति गहिरो पीडा दियो होला, त्यो कल्पना गर्दा आज पनि भित्र कताकता आगो सल्किन्छ।

तथापि आदिकवि भानुभक्तजस्ता कालजयी स्रष्टाको स्मृति यति सजिलै कहाँ मेटिन्थ्यो र ! सालिक भत्कियो, तर श्रद्धा भत्किएन। मूर्ति चर्कियो, तर नेपालीभाषी समाजको आत्मीयता चर्किएन। प्रतिमाको धातु खस्यो, तर आदिकविप्रतिको सम्मान खसेन।

त्यसैले सालिक तोडिएपछि फेरि त्यही ठाउँमा भानुभक्तको सालिक भव्य रूपमा निर्माण गरी स्थापना गरियो। यही पुनर्निर्माणमा मलाई नेपालीभाषी समाजको सांस्कृतिक जिजीविषा सबैभन्दा उज्यालो रूपमा प्रकट भएको भान हुन्छ। मानौँ उनीहरूले इतिहाससँग यसरी भने- ‘हामीलाई चोट लाग्न सक्छ, तर हामी आफ्नो स्मृति उठाएर फेरि उभ्याउन जान्दछौँ।’ आदिकविको सालिकको पुनःस्थापना त्यसैले एउटा मूर्तिको पुनरागमन मात्र थिएन, त्यो त सांस्कृतिक अस्मिताको पुनर्पुष्टि र सामूहिक निष्ठाको पुनर्पाठ थियो।

सायद यही कारणले त्यो अनावरण समारोह मेरो नजरमा एउटा औपचारिक कार्यक्रममा मात्र सीमित रहेन। त्यस दिन वर्षामा भिजेका अनुहारहरूमा मैले सालिक पुनः उभिएको हर्ष मात्र देखिनँ, एउटा गहिरो आत्मसन्तोष पनि देखेँ- जसरी आफ्नै घरको कुनै प्रिय वस्तु हराएर फेरि भेटिएपछि मन भरिन्छ, त्यसरी नै। मानिसका आँखामा श्रद्धाले भरिपूर्ण वाक्य झल्किरहेको थियो- ‘आदिकवि भानुभक्त फेरि आफ्नै ठाउँमा आइपुगे- भाषा, संस्कृति र एकताको सन्देश लिएर !’

अपितु, त्यो ठाउँ केवल दार्जिलिङको चौरस्ता मात्र थिएन; सिक्किम, कालिम्पोङ, मिजोराम, आसाम, मेघालय, सिलोङ, सिलगुढी वा देहरादुन जस्तै नेपाली मनहरूको चौतारी थियो। मैले २०५३ सालमा आदिकविप्रति सिक्किमेली सरकार र जनताको उर्लिएको अगाध श्रद्धाभाव प्रत्यक्ष देखेको छु। झमझम बर्खे झरीमा निथ्रुक्क भिजेर पनि भानुजयन्तीको प्रभातफेरीले विश्राम लिएन।

गुन्युचोलीमा सजिएका विद्यार्थी बालिकाहरूका लुगा भिजेर रङ निस्किँदै बाटो नै राताम्मे बन्दा पनि कार्यक्रमको यात्रा निरन्तर अघि बढिरह्यो। त्यो नेपाली भाषाको सार्वजनिक स्मृतिस्थल थियो, जहाँ आदिकवि फेरि उभिएका थिए– समयको लामो यात्रा पार गर्दै, अपमानको धुलो झार्दै र श्रद्धाको नयाँ उज्यालोमा नुहाउँदै। सबैभन्दा ठूलो कुरा, उनी भाषिक एकताको समन्वयमा जोड दिँदै उभिएका थिए।

भारतका नेपालीभाषी साहित्यकार र संस्कृतिकर्मीहरूमा नेपालका आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतका मूर्धन्य अग्रज स्रष्टाहरूप्रति रहेको हार्दिक श्रद्धा मलाई सधैँ लोभलाग्दो लाग्छ। सिमानाले राष्ट्र छुट्याएको हुन सक्छ, तर भाषा र साहित्यले मन छुट्याउँदैन।

भारतका दार्जिलिङ, कालिम्पोङ, सिक्किम, देहरादुन, आसाम, मेघालय वा अन्यत्र बसोबास गर्ने नेपालीभाषी समुदायले आफ्ना साहित्यिक अग्रजहरूलाई जसरी सम्झन्छन्, त्यो केवल सांस्कृतिक निरन्तरताको उदाहरण मात्र होइन, त्यो त एउटा भाषिक वंश–परम्पराको जगेर्ना हो। उनीहरूका लागि भानुभक्त र देवकोटा पाठ्यक्रममा घोक्न राखिएका विषय मात्र होइनन्; ती त आत्मीय स्मृति, भाषिक चेतनाका दीपस्तम्भ र आफ्नै घरको कुलदेवता जस्तै आदरणीय साहित्यिक उपस्थिति हुन्।

यसैले भारतका विभिन्न नेपालीभाषी बस्तीहरूमा भानुभक्त, देवकोटा, सम, लेखनाथ, भूपि, रिमाल र अन्य अग्रज स्रष्टाहरूका सालिकहरू निर्माण गरिएका छन्। ती सालिकहरू चोक-गल्ली सजाउने शिल्प मात्र होइनन्, ती सार्वजनिक कृतज्ञताका मूर्त अभिव्यक्ति हुन्। बर्सेनि यिनै अग्रज साहित्यकारहरूको जन्मजयन्तीका अवसरमा कविगोष्ठी, कविता वाचन, स्मरणसभा, सांस्कृतिक कार्यक्रम, साहित्यिक विमर्श, संवाद र भेटघाटहरू आयोजना गरिन्छन्।

भानुजयन्ती, देवकोटाजयन्ती वा अन्य साहित्यिक अवसरहरू त्यहाँ उत्सव मात्र हुँदैनन्, ती त नेपाली भाषाको सामूहिक पुनःस्मरणका पर्व बन्छन्। कविताका स्वर, भाषणका वाक्य, स्मरणका प्रसङ्ग, माल्यार्पणका क्षण- यी सबैले मिलेर एउटा भावमय वातावरण रच्छन्, जहाँ साहित्य केवल पढिने वस्तु भएर बस्दैन, त्यो त बाँचिने अनुभूति र प्रेरणादायी पलको साक्षी बन्छ।

मलाई सधैँ लाग्छ- सालिकहरूको वास्तविक अर्थ पत्थरमा होइन, तिनलाई घेर्ने समुदायको भावनामा लुकेको हुन्छ। यदि श्रद्धा छैन भने प्रतिमा केवल निर्जीव आकृति मात्र रहन्छ; यदि प्रेम छ भने त्यो आकृतिले पनि बोली पाउँछ।

दार्जिलिङको भानुशरणी वा सिक्किममा उभिएको भानुभक्तको सालिकले मलाई यस्तै बोली बोलिरहेजस्तो लाग्छ- भाषा बचाऊ, स्मृति बचाऊ र आफ्नो सांस्कृतिक आत्मा बचाऊ। भानुभक्तको प्रतिमा त्यहाँ एक्लै उभिएको छैन, त्यससँग नेपालीभाषी समाजको गौरव उभिएको छ, आफ्ना अग्रजप्रति कृतज्ञ रहने संस्कार उभिएको छ र भविष्यका पुस्तालाई साहित्यिक परम्परासँग जोडिराख्ने प्रेरणा उभिएको छ।

नेपालबाहिर नेपालीभाषीमाझ मनाइने भानुजयन्तीहरू यस अर्थमा झन् मार्मिक लाग्छन्। त्यहाँ नेपाली भाषा केवल बोली मात्र होइन, पहिचान पनि हुन्छ; साहित्य रुचि मात्र रहँदैन, अस्तित्वको आधार पनि बनिरहेको हुन्छ।

भानुभक्तको नाम उच्चारण गर्दा त्यहाँका धेरै अनुहारहरूमा आफ्नो भाषिक घर सम्झेजस्तो भाव झल्किन्छ। देवकोटाको सम्झना गर्दा काव्यको गौरवसँगै नेपाली प्रतिभाको उज्यालो पनि साथमा आउँछ। अनि यस्ता अवसरहरूमा सालिकमा चढाइने फूलहरू औपचारिक माला मात्र हुँदैनन्, ती त पुस्तौँपुस्ताको श्रद्धाका धागाहरू हुन्, जसले वर्तमानलाई विगतसँग मजबुत गरी बाँधिरहेका हुन्छन्।

म जब त्यस दिनको समारोह सम्झन्छु, आज पनि मलाई एउटा विशेष अनुभूति हुन्छ- भिजेको चौरस्ता, एमडी मार्ग, सालिकअगाडि जुटेको विशाल भीड, वर्षाले चिस्याएको वातावरण र मानिसहरूको मनमा सल्किरहेको श्रद्धाको न्यानो।

भानुभक्तको पुनःस्थापित सालिकले त्यहाँ उपस्थित सबैलाई मानौँ एउटै भावमा बाँधिदिएको थियो। मैले त्यस दिन दर्शक तथा आमन्त्रित पाहुना भएर आफ्नै आँखाले देखिरहेको थिएँ- कसरी एउटा सालिकको पुनर्निर्माणले समुदायको आत्मविश्वास पुनर्जीवित गर्न सक्छ, कसरी एउटा कविको स्मृतिले विखण्डित मनहरूलाई फेरि एउटै केन्द्रतिर बोलाउन सक्छ र कसरी साहित्यिक श्रद्धाले राजनीतिक उथलपुथलको धुलोमाथि पनि आफ्नै उज्यालो कायम राख्न सक्छ ?

त्यसैले भानुजयन्ती मेरो स्मृतिमा केवल एउटा समारोहको दृश्य बनेर मात्र बसेको छैन। त्यो त नेपालीभाषी समाजको सांस्कृतिक अडानको, आफ्ना अग्रजप्रतिको कृतज्ञताको र भाषाप्रतिको अविचलित निष्ठाको जीवित प्रतीक बनेर रहेको छ।

एउटा सालिक भत्किएपछि फेरि उठाउन सकिने रहेछ, तर त्यसलाई उठाउने शक्ति कहाँबाट आउँछ ? त्यो शक्ति समुदायको श्रद्धाबाट आउँछ, आफ्नो भाषाप्रतिको प्रेमबाट आउँछ र आफ्ना साहित्यिक कार्यक्रमहरूलाई निरन्तर जोगाइराख्ने सङ्कल्पबाट आउँछ। दार्जिलिङ र समग्र भारतका नेपालीभाषीहरूले यही सङ्कल्पको सुन्दर प्रमाण दिँदै आइरहेका छन्।

आज यतिका वर्षपछि फर्किएर सम्झिँदा भानुजयन्तीको त्यो क्षणले मलाई पुनः भावविभोर बनाउँछ। सिक्किम सरकारका तत्कालीन मुख्यमन्त्री पवन चाम्लिङको निमन्त्रणामा नेपालबाट वरिष्ठ कलाकार तथा साहित्यकार लैनसिंह बाङ्देलको नेतृत्वमा हामी त्यहाँ पुगेका थियौँ।

त्यहाँ नेपाली र सिक्किमे कलाकारहरूको संयुक्त कलाप्रदर्शनीसमेत भएको थियो। इतिहासको त्यो महत्त्वपूर्ण क्षणमा सहभागी आदरणीय बाङ्देलसँगै स्रष्टाहरू शान्तकुमार राई र हरि खड्का पनि आज हामीमाझ हुनुहुन्न, उहाँहरू दिवङ्गत भइसक्नुभयो। सिक्किमका वरिष्ठ सङ्गीतकार तथा कलाकार किरण रसाइली पनि केही साताअघि मात्र बित्नुभयो। भौतिक रूपमा उहाँहरू नरहे पनि उहाँहरूले गोडेको भाषा, साहित्य र कला-संस्कृतिको सदियौँ पुरानो यो आत्मीय निरन्तरता सदैव अक्षुण्ण रहनेछ।

आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक श्रद्धासुमन !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *